पोखरा ÷ सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले टेनिस बाहेक अन्य खेलमा निराशजनक प्रदर्शनी गरेको छ । मंसिर १६ गते औपचारिक उद्घाटन हुने दशौंमा गण्डकी प्रदेशले विभिन्न खेल चलिरहँदा अहिलेसम्म पदक जित्न सकेको छैन् । बिहिबार गण्डकी प्रदेशले बक्सिङमा एउटा कास्य पक्का गरेको छ भने टेनिसमा प्रदिप खड्का व्यक्तिगत स्पर्धामा सेमीफाइनलमा प्रवेश गरेका छन् । गण्डकीका लागि बिहिबारसम्म यि नै सबैभन्दा ठूला उपलब्धि हुन् । बाउटतर्फ नेहा राईले बक्सिङको ८० केजी तौल समुहमा कास्य पदक पक्का गरेकी हुन् । उनले अब रजत पदकका लाग प्रतिस्पर्धा गर्ने व्यवस्थापक सुमन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ९ मध्ये २ इभेन्टमा गण्डकीले जित हासिल गरेको छ ।
यस्तै टेनिसतर्फ प्रदिप खड्काले क्वाटरफाइनलमा एनआरएनएका रेन्जेन लामालाई २–० को सेटमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । उनले पहिलो सेट ६–४ र दोस्रो सेटमा ६–२ ले हराउन सफल भएका हुन् । अब सेमीफाइनलमा आर्मीका प्रनव खनालसंग फाइनल प्रवेशका लागि भिड्नेछन् ।
यस्तै पुरुष फुटबलतर्फ पनि पहिलो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सुखद् सुरुवात गरेको छ ।
गण्डकीका लागि खेलको १६औं मिनेटमा लक्षु थापाले गोल गरे । २५ र ३३ औं मिनेटमा आशिष गुरुङले गोल गरे । खेलको ५७औं मिनेटमा सुदीप गुरुङले गोल गर्दै टोलीको अग्रता ४–० मा पुर्याए। खेलको अतिरिक्त समयमा टेकराज गुरुङले थप एक गोल गरेपछि गण्डकीले ५–० को फराकिलो जित सुनिश्चित गर्यो। यस्तै बास्केटबलको महिलातर्फ फुल कोर्टमा गण्डकीले एपिएफसंग सेमीफाइनल प्रवेशका लागि आज भिड्नेछ भने थ्री वाई थ्रीतर्फ नेपाल आर्मीसंग खेल्नेछ र क्रिकेट तर्फ भने गण्डकी पराजित भएको छ ।
बिहिबारसम्म बागमती प्रदेशले १२ स्वर्ण जित्दै शीर्षस्थान कायमै राखेको छ । बागमतीले ७ रजत र ७ कास्यसहित कुल २६ पदक जितेको छ । यस्तै ९ स्वर्ण जितेको एनआरएनए दोस्रो स्थानमा रहेको छ । एनआरएनएले ३ रजत र ३ कास्यसहित कुल १५ पदक जितेको छ । नेपाल आर्मी ६ स्वर्णसहित तेस्रो स्थानमा रहँदा १० रजत र १३ कास्य सहित कुल २९ पदक हासिल गरेको छ । ४ स्वर्ण जितेको नेपाल पुलिस चौथो स्थानमा छ भने २ स्वर्णसहित कोशी पाँचौ र ज्ञ स्वर्णसहित सुदुरपश्चिम छैटौं स्थानमा रहँदा गण्डकी प्रदेश भने पदक विहिन छ । गण्डकी संगै एपिएफ, कर्णाली र लुम्बिनीले हालसम्म पदक जित्न सकेका छैनन् ।





