शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

दूध किसानले मागे न्याय

दूध किसानले मागे न्याय


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८३, शुक्रबार

पोखरा/कास्कीका दूध उत्पादक किसानआन्दोलनको मुडमा छन् । ३ वर्षदेखिदूधको मोल बढाउन माग गर्दै आएका किसानले अझै उचित मूल्य पाएका छैनन् ।कास्कीका किसानले माग पूरा गर्न सरकारलाई मंसिर १६ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

राज्यले मूल्य बढाएपनि उनीहरुमाथिको समस्या भने उस्तै रहनेछ । किसानले दूधको उचित मुल्य मागिरहँदा राज्यले भने दाना लगायत अन्य वस्तुमा मूल्यवृद्धि गरिरहेको किसानको आरोप छ । अर्कातिर किसानले दूधको मूल्य बढाउँदा भारतबाट नै दूध आउने हो कि भन्ने चिन्ता पनि उत्तिकै देखिएको छ ।

‘हामीले भारतको मूल्य हेरेर सोही अनुसार बढाउनुपर्ने बाध्यता छ । हामीले महँगो लिए भारतबाटै दूध आउँछ, घटाएर लिए बाच्न सकिन्न,’ दुग्ध किसान नवराज बरालले भने, ‘अहिले हाम्रो माग प्रतिलिटर कम्तीमा ८० रुपैयाँ हुनुपर्छ भन्ने हो । यो कुनै मनोमानी रुपमा वृद्धि नभइै वास्तविक उत्पादन लागत, भौगोलिक अवस्था, पशु आहार, ओषधोपचार लगायत सबै श्रम जोडेर हो ।’

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत ख्यालमा राख्दै पेशागत सुरक्षाका लागि यो माग भएको उनले बताए । यो मूल्य प्रशोधित दूधका लागि बिक्री गर्ने तथा दुग्ध सहकारीमा दिने हो । सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्षसमेत रहेका बरालले हाल गुणस्तरको आधारमा किसानले प्रतिलिटर ६८ देखि७१ रुपैयाँसम्म भुक्तानी पाउँछन् ।

उक्त संघमा हाल ४२ दुग्ध सहकारी आबद्ध छन् । ती सहकारीमा पाँच हजार पाँच सय किसान परिवार संलग्न छन् । हेमजाकी सकुन्तला ढकालले अझैपनि कतिपय ग्रामीण किसानले दूधको मूल्य कति पर्छ भन्ने कुरासमेत थाहा नभएको सुनाइन् । लेखनाथका किसान त्रिलोचन लामिछानेले हाल दाना, चोकरमा २५ प्रतिशत भएको सुनाउँदै अहिले दूधमा१५ प्रतिशत मूल्यवृद्धि गर्नु उचित नभएको र त्यसलाई बढाउन आवश्यक रहेको बताए ।

माछापुच्छे« गाउँपालिकाका किसान कृष्णप्रसाद अधिकारीले किसानबाट किन्दा ६० देखि ७५ मात्रै दिने तर उपभोक्ताले किन्दा १ सय २० देखि माथि हाल्दा मुल्यमा ठूलो अन्तर देखिएको बताए । उनले सरकारले यसमा हस्तक्षेप गरी किसानलाई टेवा पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

कास्कीका दुग्ध किसानहरुले केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले आयोजना गर्ने आन्दोलन तथा संघर्षमा ऐक्यबद्धता जनाउने भएका छन् । उनीहरुले ९ बुँदे माग अघि सारेका छन् । दूधको उचित मूल्य, समयमै भुक्तानी सुनिश्चित, पशु स्वास्थ्य, उपचार र सुरक्षाको व्यवस्था, आहारमा सहुलियत, श्रमको उचित मूल्य, दूध उत्पादन पेशा जोगाउने, किसानलाई न्याय, उत्पादनको आधारमा अनुदानको व्यवस्था तथा कृत्रिम गर्भाधान विधि निशुल्क गर्नुपर्ने माग उनीहरुको छ ।यी माग पूरा नभए गाईभैसी, दाम्लो, गोबर नै बोकेर सडकमा आउने चेतावनी किसानले दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->