पोखरा/नेपाली कांग्रेसमा आधिकारिकताको विवाद जारी छ । निर्वाचन आयोगले विशेष महाधिवेशनपछि नियमित महाधिवेशन गरेको गगन थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गर्दा गण्डकी प्रदेशमा भने देउवा पक्षको अधिवेशनले नेतृत्व चयन गरेको छ ।
देउवा समूहको सभापतिमा मेखलाल श्रेष्ठ सर्वसम्मत हुँदा उपसभापतिमा आशिक गुरुङ, महिला उपसभापतिमा उमाकुमारी ठकुरी र सञ्जय सिलवाल भए । महामन्त्रीमा पौषनाथ शर्मा, मोहन गुरुङ र राजकुमार पाण्डे छन् ।
सहमहामन्त्रीमा भक्तबहादुर श्रेष्ठ, लोकबहादुर मल्ल र ईन्द्रप्रसाद पौडेल तथा कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ छन् । ६८ जना सदस्यसमेत सर्वसम्मत भएका छन् । निर्वाचन अधिकृत वीरेन्द्र केसीले सभापतिमा श्रेष्ठको बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
गण्डकी प्रदेशको मंसिर ५ र ६ गते प्रदेश अधिवेशन गरेको थियो । ६ गते निर्वाचन गर्ने भनिए पनि सहमति जुटाउन लामो समय लागेको छ ।
‘६ गते सभापतिमा एउटा बाहेक कसैको पनि उम्मेदवारी परेन, हामीले सबै नेताको अघि सभापति निर्विरोध निर्वाचित घोषणा ग¥यो । अन्य पदाधिकारी र सदस्यमा हामीले निर्वाचनमा मनोनयन माग ग¥यो,’ केसीले भने, ‘हामीले पहिलो दिन नै प्राप्त उम्मेदवारहरूमा सहमति बनाउने भन्ने थियो त्यो सहमति प्रयासमा लाग्दा शुक्रबार सहमति भएको छ ।’
अधिवेशनमा एक हजार ६ सय १ मतदाता थिए । अधिवेशनमा एक हजार एक सयभन्दा बढीको उपस्थिति रहेको संयोजक केसीले सुनाए । यसका लागि हरेक जिल्लाका जिल्ला सभापतिलाई नै समन्वयकारी भूमिका खेल्ने जिम्मेवारी दिइएको थियो ।
निर्वाचित भएर प्रमाणपत्र बुझ्दै सभापति श्रेष्ठले अहिले कांग्रेसमा झगडा भएको र आधिकारिकता सर्वोच्चको आदेशपछि एकताको महाधिवेशन हुने बताए । उनले आफूहरुले चौधौं महाधिवेशनबाट निर्वाचित सभापतिकै उपस्थितिमा महाधिवेशन सम्पन्न गरेकाले आधिकारिक नेतृत्व पनि आफूहरु नै भएको दाबी गरे ।
‘नेपाली कांग्रेस कहाँ छ र आधिकारिकताको विषय सर्वोच्चमा भएको हुनाले र निर्वाचन आयोगले त हामीलाई पनि अद्यावधिक गरेको छ । अहिले दाजुभाइको घर झगडामा परेको हो र त्यो मुद्दा नटुंगिदासम्म दुवै दाजुभाइ घरमै बस्नुहुनेछ । अन्तिम फैसला अदालतबाट जे आउँछ, त्यसका लागि हामीले एकताको महाधिवेशन र सबैलाई समेटेर कांग्रेसलाई मजबुत बनाउने छौं’m उनले भने, ‘स्थानीय तह र प्रदेश तहको निर्वाचन आउन लागेको छ, यसका लागि हामीले कांग्रेसलाई जिताउनु पर्छ ।’
उनले आफूलाई दोस्रो गण्डकी प्रदेश अधिवेशनको संयोजक तोकेको र सोही अनुसार आफूले जिम्मेवारी पूरा गरेको सुनाए । ‘धेरै आकांक्षी साथीहरुलाई हामीले सम्झायौं । अहिले पार्टीमा मात्रै होइन, अन्य दललाई समेत मिलाएर लानुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा छ । हामीले लोकतन्त्र जोगाउनुपर्छ निर्णय एकल गरेर हुँदैन सामुहिक हुनुपर्छ भनेर नै सहमतिबाटै टुंग्याएका हौं’, श्रेष्ठले भने ।
देउवा पक्षको यो प्रदेश महाधिवेशनमा निर्वाचनका दिन पदाधिकारी चयनमै भाँडभैलो भएको थियो । मंसिर ५ गते शनिबार शेरबहादुर देउवाले उदघाटन गरेको अधिवेशनले सभापति सर्वसम्मत चयन गरे पनि पदाधिकारी र सदस्य चयनमा भने अन्योल सिर्जना भएको थियो ।
अधिवेशन उदघाटन दिन निर्वाचन संयोजक वीरेन्द्र केसीले सभापतिमा मेखलाई श्रेष्ठ र महामन्त्रीमा पोषनाथ शर्माको नाम घोषणा गरेका थिए । तर, निर्वाचन प्रक्रियामै प्रवेश नगरी नाम घोषणा गरिएपछि नेता, कार्यकर्ताले विरोध गरेका थिए ।
विरोधपछि निर्वाचन संयोजक केसीको निर्णय खारेज भएको थियो । त्यसपछि ६ दिनसम्म मिलाउने प्रयास गरिएको थियो । ६ दिनपछि सर्वसम्मत घोषणा भए पनि त्यहाँ पदाधिकारी र २ सदस्यबाहेक अन्यको उपस्थिति थिएन ।





