पोखरा/कास्कीको मादी गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ वडा नम्बर २ स्थित पर्यटकीय गाउँ ताङतिङमा भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा गाउँपालिकाबाट सम्पादन गरिएका गतिविधि, सञ्चालनमा रहेका योजना तथा कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा सहभागीले गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, शिक्षा, पर्यटनलगायतका विषयमा आफ्ना जिज्ञासा, गुनासा तथा सुझावहरू राखेका थिए ।
सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ र प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जवाफ दिएका थिए । स्थानीय सरकारको कामकारबाहीलाई नागरिकसमक्ष पारदर्शी बनाउने, नागरिकका गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र जनप्रतिनिधि तथा कर्मचारीलाई नागरिकप्रति जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।





