खर्वाङ (बागलुङ)/मंसिर ६ गते न्वागी खाएका पौंदेलीयतिबेला मेलामा झुमिरहेका छन् । बिहीबार मेलामा सोरठी, भैलो प्रतियोगिता भयो । बागलुङ र गुल्मी जिल्लाका समूहहरु प्रतियोगितामा सहभागी बने ।
सोरठी भन्ने बित्तिकै बुढो भैलो भन्ने चलन छ ।यसमा कमैमात्र युवा पुस्ता सहभागी हुन्छन् । एकाएक चिटिक्क पोशाकमा सजिएका केटाकेटीको एक हुल स्टेज उक्लियो । केटाकेटीलेके सोरठी गाउलान् ?दर्शकबीच यस्तै गाइगुई चल्दै थियो । त्यतिकैमा ‘हजुरको नाप जपी आयौं महाराजै…’ सोरठी भाकामा कलिलो आवाज सुनियो ।
१४ देखि २० वर्षका युवाले सिरमा कालो टोपी, सेतो सटमा, कालो इस्टकोटमाथि सेतै गादा लगाएका थिए । कम्मरमा पटुकी बाँधेकी केहीले मादल पनि भिरेका थिए । त्यो प्रतियोगितामा सहभागि हुन आएको गुल्मेली समूह थियो ।
गुल्मीको मालिका–२ दर्लिङ स्थित नेटा दर्लिङ माविको सोरठी समूहका कक्षा ८ मा पढ्ने १५ वर्षीय विशाल गौतम आफ्ना बुबाहरुले सोरठी गाउँदा खूब चाख मानेर सुन्थे ।समूहमा बुबासँगै हिड्दा हिड्दै उनले पनि अलि अलि गाउन सिके ।
सोरठीका थोरै भएपनि गीत कण्ठ गरेर । यसपालिको तिहारमा उनी आफैंले साथीहरुसँग मिलेर सोरठीकोसमूह बनाए, गाउँदै हिडे । ‘परम्परा, संस्कृति हामीले भुल्नु हुदैन । बुबासँग सोरठी गाउने समूहमा हिड्दा अलिअलि मैले सिकें । नवयुवाले मौलिक संस्कृति जोउनुपर्छ भन्ने लाग्यो । विद्यालयले पनि हौसला थप्यो र यहाँ प्रतियोगितामा सहभागी हुन आयौं,’ उनले सुनाए ।
विशाललाई १४ वर्षका विवेक विकले पनि सोरठी गाउन साथ दिन्छन् । ११ जनाको समूहमा विशाल र विवेकले सोरठीको भाका उठाउँछन् । १६ वर्षका प्रदीप विक मारुनी बनेर मादल रन्काउँछन् ।पुरानो कला संरक्षणमा लागेका विद्यार्थी देखेर शिक्षकहरु पनि खुसी छन् ।





