आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

‘निस्कोट सिद्धथान’मा चहलपहल

‘निस्कोट सिद्धथान’मा चहलपहल

प्राकृतिक सुन्दरता, उच्च स्थान र गहिरो आस्थाले बढ्दै छ निस्कोटमा चहलपहल ।


  • अमृत बास्कुने
  • मंसिर १३ २०८३, आइतबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; sv:16.2.13.1.W20; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;

म्याग्दी/समुद्री सतहबाट २ हजार १ सय ५७ मिटरमा अवस्थित मालिका गाउँपालिका–१ स्थित निस्कोट सिद्धथान परापूर्वकाल देखिको आस्था, विश्वास र ऐतिहासिक किंवदन्ती जोडिएको महत्वपूर्ण धार्मिक स्थल हो । यहाँ ‘सिद्ध देवता’ अर्थात् ‘ठूलो देवता’का रूपमा पुजिने शक्तिप्रति स्थानीय तथा टाढा टाढाबाट आउने भक्तजनको विश्वास पछिल्लो समय झनै व्यापक बन्दै गएको छ ।

स्थानीय बुद्धिबहादुर पुन निस्कोट सिद्धथानलाई परापूर्वकालदेखि नै सिद्ध देवता वा ठूलो देवताका रूपमा मान्दै आएको बताउँछन् । मनले चिताएको र भाकल गरेको कुरा पूरा हुने जनविश्वासका कारण यहाँ वर्षमा एक पटक गाउँबाट सामूहिक पूजा गर्ने परम्परा रहिआएको छ ।

यहाँको पूजा परम्परा कहिलेदेखि सुरु भयो भन्ने यकिन नभए पनि जिजुबराजुका पालादेखि नै निरन्तर चलिआएको स्थानीयवासी बताउँछन् । स्थानीय बलबहादुर पुनका यहाँ भूमिको, देउरालीको, मालिकाको लगायत विभिन्न देउताको पूजा गरिने उल्लेख गर्छन् ।

सिद्ध देवताको पूजामा भक्तजनको विशेष आकर्षण देखिन्छ । उनी भन्छन्, ‘आफूले मनले चिताएको वा कल्पना गरेको कुरा पूरा भएपछि भाकलअनुसार पूजा दिने चलन छ, र त्यस्ता भाकल प्रायः पूरा हुँदै गएका छन् । मंसिर, माघ र वैशाख महिनामा यहाँ धेरै भक्तजनले पूजा गर्छन् ।’ कुनै महिनामा त सयभन्दा बढीले नै पूजा गर्छन् । अघिल्लो हप्ताको मंगलबार १४ वटा पूजा परेका थियो । प्रायः मंगलबार मात्र पूजा गर्ने चलन छ, अरू बार गरिँदैन ।

यो स्थलको सुरुवात र महिमासँग रोचक किंवदन्ती जोडिएको छ । स्थानीय सोमबहादुर घर्ती मगरका अनुसार पहिले सुरुआती चरणमा तीन घरबाट यो परम्परा अघि बढेको मानिन्छ । सिकार खेल्ने क्रममा तलतिर रहेको ठाउँमा जौ छरेर असोजमा हिँडेका व्यक्तिहरू वैशाखमा फर्कँदा चरा र मुसाले नखाई बाली लर्किएर पाकेको देखेपछि त्यहाँको दैवी शक्तिको अनुभूति गरिएको जनश्रुति छ ।

त्यसै क्रमबाट अघि बढ्दै विभिन्न थर र समुदायको आस्था यस स्थानसँग जोडिएको उनी बताउँछन् । मालिका गाउँपालिका–१ का कार्यवाहक अध्यक्ष मानसिङ सापकोटाका अनुसार निस्कोटको सिद्ध पूजा पहिलेदेखि नै प्रख्यात भए पनि मंसिर महिनामा यहाँ विशेष रूपमा पूजाआजा हुने गर्दछ । पहिलेको तुलनामा अहिले पूजा गर्नेहरूको संख्या निकै बढेको छ । पूजाका लागि निस्कोटाका साथै निस्कोट बाहिरका धेरै स्थानमा बस्नेहरूसमेत भाकल बोकेर यहाँ पूजा गर्न आउने गरेको स्थानीय बलबहादुर पुनले जानकारी दिए ।

कार्यवाहक अध्यक्ष सापकोटा भन्छन्, ‘चिताएको कुरा पूरा हुने विश्वास परापूर्वकालदेखि नै छ । कहिलेकाहीँ त एकै दिन ४०–५० वटासम्म पूजा हुन्छन् । आजमात्र करिब १२ वटा पूजा भए ।’ सुरुमा गाउँ र वडाबाट पूजा गर्ने चलन छ, त्यसपछि भाकल गरेका अन्य गाउँ तथा बाहिरबाट पनि भक्तजन आउँछन् ।

उनले आफू स्वयंले पनि भाकल गरेकाले आगामी मंगलबार पूजा गर्ने तयारीमा रहेको जानकारी दिए । प्राकृतिक सुन्दरता, उचाइको मनोरम परिवेश र गहिरो आस्थाको संगम बनेको निस्कोट सिद्धथानको संरक्षण र प्रचारप्रसार गर्न सके यसले धार्मिक पर्यटनको विकासमा समेत थप टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->