बागलुङ ज्योति विकास माध्यमिक विद्यालयमा नेपाली सेनाको श्री दुर्गाभञ्जन गुल्मले खेलकुद तथा स्टेसनरी सामग्री वितरण गरेको छ ।
गुल्मले विद्यार्थीलाई शैक्षिक तथा खेलकुद गतिविधिमा प्रोत्साहन गर्ने उद्देश्यले फुटबल, भलिबल, भलिबल नेट, लुडो, चेस, कपी, पेन्सिल लगायत प्रदान गरेको हो । सो अवसरमा नेपाली सेनामा भर्ना छनोट प्रक्रियाबारे विद्यार्थी, शिक्षक तथा अभिभावकलाई जानकारी गराइएको थियो ।
समारोहमा नेपाली सेनाको इतिहास, भर्ना छनौटमा लिइने विभिन्न परीक्षाका साथै छनौटलाई स्वच्छ, निष्पक्ष, प्रतिस्पर्धात्मक बनाउन सेनाले गरेका कार्यसहित छनौट सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । गुल्मका उपसेनानी प्रकाशमान विश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।
ढोरपाटन सिकार आरक्षको महत्व, संरक्षण, आरक्ष क्षेत्रमा गर्न हुने तथा गर्न नहुने गतिविधि, प्राकृतिक सम्पदा र वन्यजन्तु संरक्षणबारे जानकारी पनि दिइएको थियो । विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आरक्षको संरक्षण, पर्यावरणीय सन्तुलन र जिम्मेवार व्यवहारसम्बन्धी सचेतना दिइएको उपसेनानी विश्वकर्माले बताए ।
गुल्मपति सेनानी महेश्वर जंग खत्रीले विद्यार्थी जीवनमा शिक्षा र खेलकुद दुवैको उत्तिकै महत्व रहेको उल्लेख गर्दै अध्ययन र खेलकुदबीच उचित सन्तुलन कायम गर्न आग्रह गरे । उनले आफ्नो क्षमता, प्रतिभा र रुचिअनुसार भविष्य निर्माणमा अघि बढ्नुपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक चक्र बहादुर अदैले खेलकुद तथा स्टेसनरी सामग्री सहयोग गर्नुका साथै विद्यार्थी, शिक्षक र अभिभावकलाई लक्षित गरी उपयोगी तथा जनचेतनामूलक कक्षा सञ्चालन गरेकोमा नेपाली सेनाप्रति आभार प्रकट गरे ।
कार्यक्रममा गुल्मका अधिकृत, पदिक, सकलदर्जा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो ।





