पर्वत/इनरह्वील क्लब अफ पर्वतले कुश्मा नगरपालिका–१ मालढुंगास्थित श्रमिक आधारभूत विद्यालयका विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले स्मार्ट टिभी तथा खाद्यान्न सामग्री सहयोग गरेको छ ।
क्लबले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई डिजिटल माध्यमबाट सिकाइको अवसर प्रदान गर्ने र विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित उक्त सामग्री सहयोग गरेको हो । विद्यार्थीलाई पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धि हासिल गर्न सहज होस् भन्ने उद्देश्यले स्मार्ट टेलिभिजन प्रदान गरिएको क्लबले जनाएको छ । स्मार्ट टिभीको प्रयोगबाट बालबालिकाले श्रव्यदृश्य माध्यममार्फत रमाइलो वातावरणमा अध्ययन गर्न पाउने र सिकाइप्रति रुचि बढ्ने अपेक्षा गरिएको छ ।
इनरह्वील क्लब अफ पर्वतकी अध्यक्ष तुलसी बी पौडेलले बालबालिकालाई प्रविधिमैत्री शिक्षण सिकाइको अवसर उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको बताइन् । उनले डिजिटल माध्यमबाट सिकाइलाई प्रभावकारी बनाउँदै विद्यालयप्रतिको आकर्षण बढाउन र विद्यार्थीको नियमित उपस्थिति तथा टिकाउ दर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बी पौडेलले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनु सराहनीय कार्य भएको बताए । उनले बालबालिकाको शिक्षामा गरिने लगानी समाजको भविष्य निर्माणसँग जोडिएको उल्लेख गर्दै विद्यालयको आवश्यकता पहिचान गरी सहयोग गर्ने सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।
त्यसैगरी, कुश्मा नगरपालिका–१ का वडाध्यक्ष खगराज पौडेलले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा स्थानीय सरकारसँगै सामाजिक संघसंस्थाको सहकार्य आवश्यक रहेको बताए । विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा शिक्षा प्रदान गर्न स्मार्ट टिभी सहयोग उपयोगी हुने विश्वास व्यक्त गर्दै विद्यालयको आवश्यकता पूरा गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
विद्यालयकी प्रधानाध्यापक राधिकादेवी शर्माले विद्यालयलाई प्राप्त सहयोगले शिक्षण सिकाइ क्रियाकलापलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताइन् । उनले सीमित स्रोतसाधनका बीच विद्यालय सञ्चालन गर्नुपरेको अवस्थामा स्मार्ट टिभी तथा खाद्यान्न सामग्री सहयोगले विद्यालय र विद्यार्थी दुवैलाई राहत मिलेको उल्लेख गर्दै सहयोगी संस्थाप्रति आभार व्यक्त गरिन् ।
विद्यालयमा हाल झण्डै २० जना विद्यार्थी अध्ययनरत छन् । क्लबले स्मार्ट टिभी र खाद्यान्न सामग्रीसँगै विद्यार्थीलाई चिसो मौसमबाट जोगाउन न्यानो मोजासमेत वितरण गरेको छ ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमल जिसी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा माझीलगायतको उपस्थिति रहेको थियो ।
इनरह्वील क्लब अफ पर्वतकी सचिव राधा दवाडी पौडेल, निवर्तमान अध्यक्ष सुजाता बी पौडेल तथा पूर्व अध्यक्ष मीना जोशीसहित क्लबका सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा पूर्व अध्यक्ष मीना जोशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
सामाजिक सेवाका क्षेत्रमा सक्रिय इनरह्वील क्लबले शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिमार्फत समुदायमा सहयोग पु¥याउँदै आइरहेको छ ।





