पोखरा / युवापुस्तामा कानुनी सचेतना फैलाउने उद्देश्यले यहाँस्थित पश्चिमाञ्चल माविले लम्जुङको मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेस्थित भैरवकाली माविमा अभिमूखीकरण कार्यक्रम चलाएको छ ।
पश्चिमाञ्चलका कक्षा ११ र १२ का कानुन विषय अध्यनरत विद्यार्थीले उक्त अभिमूखिकरण कार्यक्रम गरेका हुन । पश्चिमाञ्चलका प्राचार्य सरोज कोइरालाले विद्यालय तहका विद्यार्थीमा कानुनी सचेतना, मौलिक हक र अधिकारका बारेमा जानकारी दिलाउनका लागि अभिमूखिकरण कार्यक्रम संचालन गरेको बताए ।
‘कतिपय बालबालिकालाई आफ्ना हक अधिकारबारे थाहा छैन । सबैतिर पाठ्यक्रमम समावेश पनि गरिएको छैन । हक अधिकारको बारेमा थाहा नपाउँदा कतिपय अवस्थामा अवसरबाट बालबालिका समेत बञ्चित छन,’ उनले भने, ‘आफ्ना हक अधिकारबाट बञ्चित नहुनका लागि उनीहरुमा कानुनी सचेतना आवश्यक पर्छ । त्यसैले विद्यालयले अभिमूखीकरण कार्यक्रम संचालन गरेको हो ।’
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा. रामनाथ ओझाले विद्यार्थीमा मौलिक हक र अधिकारबारे जानकारी भएमा समाज सचेत हुने भएकोले पनि ग्रामीण क्षेत्रका विद्यालयमा अभियान संचालन गरिएको बताए । ‘विद्यालयमा सिकेको कुरा विद्यार्थीले अभिभावकलाई पनि सचेत गराउँछन । हक अधिकार पाउनबाट बञ्चित हुनुपर्ने अवस्थाको यस्तै सचेतनामुलक कार्यक्रमले अन्त्य गर्छ,’ ओझाले भने, ‘विद्यार्थी सचेत भएमा समाज सचेत हुन्छ । समाज सचेत भएमा कोहीपनि नागरिक अधिकार पाउनबाट बञ्चित हुनुपर्दैन ।’
पश्चिमाञ्चल माविले कानुनी सचेतना जगाउने उद्देश्यले विगत चारवर्षदेखि गण्डकी प्रदेशका विभिन्न जिल्लामा नियमित रुपमा यस्तै सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । आगामि दिनमा अरु जिल्लामा पनि यस्तै अभियान लिएर जाने अध्यक्ष ओझाले बताए । पश्चिमाञ्चलमा कानुन विषय अध्ययन गर्ने विद्यार्थीले स्थानीय विद्यालयका विद्यार्थीलाई मौलिक हक, अधिकारबारे जानकारी दिएका थिए ।
भैरवकाली माविका प्राचार्य तथा प्रमुख अतिथि हरिश्चन्द्र लम्सालले सहरी क्षेत्रमा कानुनी सचेतनाका कार्यक्रम भइरहँदा ग्रामीण क्षेत्रका बालबालिका भने बञ्चित हुने गरेकोमा यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा चेतना बढाउने बताए । बालबालिका मार्फत समाजमा सचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी बन्ने उनले बताए ।
कानुनी सचेतना नपाउँदा हक अधिकार खोसिने भएकोले विद्यालयमार्फत कार्यक्रम संचालन गर्दा बढी प्रभावकारी हुने उनले बताए । उक्त कार्यक्रममा विद्यार्थीहरुले कानुनी हक र अधिकारका बारेका प्रस्तुती राखेका थिइ । पश्चिमाञ्चल माविमा कक्षा ११ र १२ मा कानुन विषयमा अध्यापन हुँदै आएको छ ।





