शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

गण्डकीलाई १ रजत २ कास्य

गण्डकीलाई १ रजत २ कास्य


  • ढाेरपाटन संवाददाता
  • मंसिर १२ २०८३, शनिबार

पोखरा / सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदमा पदक विहिन गण्डकी प्रदेशले शारिरीक सुगठनबाट पदकमा खाता खोलेको छ । रुकुम पश्चिम चौहरजहारिमा जारि बडिबिल्डिङमा एक रजत र २ कास्य जित्न सफल भएको हो । यो संगै पदक विहिन भएको गण्डकी प्रदेशले अन्ततः पदकमा खाता खोलेको छ ।

प्रतियोगिताको औपचारिक उदघाटन मंसिर १६ गते हुने भएपनि तेस्रो दिनसम्म गण्डकी पदक विहिन भएको थियो यद्यपी गण्डकीले चौथो दिनसम्म आइपुग्दा समेत स्वर्ण जित्न सकेको छैन् ।

शुक्रबार शारिरीक सुगठनको महिला वेलनेस (अन्डर १७० सेन्टिमिटर) तर्फ गण्डकीकी विपना कुमालले दोस्रो स्थान हासिल गर्दै रजत पदक जितेकी छन् । उक्त विधामा नेपाल आर्मीकी शिवानी लामा पहिलो र लुम्बिनीकी पुनम सुनार तेस्रो भए ।

त्यसैगरी पुरुष एथलेटिक फिजिक (ओभर १७० सेन्टिमिटर) तर्फ गण्डकीका यमान्ता गुरुङले तेस्रो स्थानसहित कास्य पदक प्राप्त गरेका छन्। यो विधामा एपीएफका अनुप विक्रम बिष्ट पहिलो र लुम्बिनीका ईश्वर पुन दोस्रो भए ।

महिला एथलेटिक फिजिक (ओपन) तर्फ गण्डकीकी आशा चौधरीले तेस्रो स्थान हासिल गर्दै कास्य पदक जितेकी छन् । उक्त स्पर्धामा बागमतीकी उर्मिला श्रेष्ठ पहिलो र नेपाल आर्मीकी सिर्जना घिसिङ दोस्रो भए ।

यस्तै बक्सिङतर्फ पनि ५ वटा कास्य पदक पक्का भएको छ । महिला ५७ केजी तौल समुहमा गण्डकीकी निशिका गुरुङले कोशी प्रदेशकी करुणा राईलाई ५–० अंकले हराउँदै जित हासिल गरिन् । यस्तै ४८ केजी तौल समुहमा ग्रिस्मा तामाङले कर्णालीकी गौरी अधिकारीलाई हराइन् । दोस्रो राउन्डमा रेफ्रीले खेल रोकेर ग्रिस्मालाई विजेता घोषणा गरेको हो । पुरुष ९० केजी तौल समुहमा सौगात गुरुङले लुम्बिनीका प्रयास श्रेष्ठलाई ५–० अंकले हराए । सौगातले यस अघि सुदुरपश्चिमका ललित भट्टलाई हराएका थिए ।

७५ केजी तौल समुहमा रविन गुरुङले बागमतीका अभिषेक श्रेष्ठलाई ४–१ अंकले हराएका थिए । यसअघि नेहा राईले कास्य जित्ने पक्का भइसकेको छ । अब यि खेलाडीले अघिल्ला राउन्डहरु जितेमा रजत वा स्वर्ण जित्ने सम्भावना समेत रहेको छ ।

यस्तै गण्डकी प्रदेश महिला बास्केटबलको फुल कोर्ट र थ्री वाई थ्रीतर्फ भने बाहिरिएको छ । शुक्रबार यि दुवै विधामा हार व्यहोर्दै पदकको सम्भावना क्वाटरफाइनलमै रोकिएको हो । पौडीमा पनि गण्डकी प्रदेश पदक विहिन रह्यो । फुटकोर्टतर्फ एपिएफसंग गण्डकी ७९–१२ को फराकिलो अन्तरको हार व्यहोरेको हो । थ्री वाई थ्री तर्फ नेपाल आर्मीसंग १९–६ को हार व्यहोर्दै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

टेनिसमा भने गण्डकीले आफ्नो सम्भावना कायम राख्दा पुरुष फुटबलमा समेत समुह चरणमा एक खेलमा जित हासिल गरेको छ । क्रिकेटको महिला तथा पुरुष दुवै तर्फ पहिलो खेल खेलको गण्डकीले दुवै खेलमा पराजित भोग्न बाध्य भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->