बागलुङ/धौलागिरि गण्डकी यातायात सेवा प्रा.लि. कौ तेस्रो अधिवेसनबाट उमेश केसी निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिवार भएको अधिवेसनमा केसीको नेतृत्वमा सबै संचालक समेत निर्विरोध भए । संचालक समितिमा उमाकान्त शर्मा ‘बाबु’, राजन जोशी, धनश्याम मल्ल, थमप्रकाश शर्मा ‘गणेश’, ओम गिरी, बाबुराम पौडेल, जयबहादुर श्रेष्ठ, चन्द्रबहादुर क्षेत्री, भूपेन्द्र शर्मा, बिना जिसी र रामकृष्ण थापा निर्वाचित भएका हुन् ।
तत्कालिन धौलागिरि लाई कार्य क्षेत्र बनाएर २०५४ सालमा स्थापना भएको धौलागिरि यातायात बस व्यवसायी समिति अहिले प्रा.लि. बनेको हो । यो समितिले बागलुङ, पर्वत र म्याग्दीबाट राजधानी काठमाण्डौ सहित पोखरा, चितवन, हेटौडा, बिरगंज, काकरभिट्टा, नेपाल गञ्ज र भैरहवाकालागि सवारी छुटाउने गरेको छ । हाल ३ सय व्यवसायी रहेको प्रा.लिमा ५ सय यात्रुवाहक सवारी साधन सूचिकृत रहेका छन् ।
बस तथा माइक्रोबस संचालन गरेर यात्रीलाई लामो समय देखि सेवा प्रवाह गरेको प्रा.लि.ले नागरिकको दुर्घटना बिमा तथा आरामदायी सवारी थप गर्दैै लगेको अध्यक्ष केसीले बताए । करोडौं लगानी गरेर बस ल्याएका व्यवसायीलाई राज्यले भने उचित सम्मान गर्न नसकेको व्यवसायीले बताएका छन् । उनीहरुले राज्यले तोकेको दररेटमा सवारी संचालन गरेपनि कर छुट तथा व्वबस्थापकीय काममा राज्यको साथ नपाएको बताए ।
शनिवार भएको उद्घाटन कार्यक्रममा तत्कालिन धौलागिरि बस व्यवसायी समितिका संस्थापक कृष्ण शंकर श्रेष्ठले संस्था आर्थिक रुपमा बलियो बन्दै गएको तर सामाजिक रुपमा अझै बलियो बन्नुपर्ने बताए । उनले व्यवसायी र कामदारमा संयम तथा सहयोगी भावना बिकास गर्न सकेमा यो प्रा.लि. अझै बलियो बन्ने बताए । पछिल्लो समय यात्री घटेको, साझा लगायतका यातायात कंपनीमा यात्रीको आर्कषण बढेको भन्दै आफ्नो क्षेत्रमा पनि यात्रीको आर्कषण बढाउन पहल गर्न आग्रह गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष कुमार खड्का, पूर्व कोषाध्यक्ष शिवप्रसाद सुवेदी, बागलुङ नगरपालिका वडा नंं १ का अध्यक्ष जयबहादुर खत्री, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव नवराज परियार, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, धौलागिरि जिप व्यवसायी समितिका अध्यक्ष दिनेश बोहरा लगायतले शुभकामना दिएका थिए ।
प्रा.लि. का अध्यक्ष उमेश केसीको अध्यक्षता, प्रबन्ध संचालक राजन जोशीको संचालनमा साधारणसभा सम्पन्न भएको थियो । संस्थाको वार्षिक प्रगती प्रतिवेदन र आगामी कार्ययोजना बारे अध्यक्ष केसीले प्रतिवेदन पेश गरेका थिए ।





