पर्वत/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढी, पहिरोबाट प्रभावित पर्वतका विभिन्न क्षेत्र र नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्र अवलोकन गरेका छन् ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा ऊर्जा तथा सिँचाइ क्षेत्रका आयोजना र विपद्बाट क्षतिग्रस्त पूर्वाधारको अवस्था बुझ्ने क्रममा मन्त्री श्रेष्ठ शनिबार पर्वत आइपुगेका हुन् । उनले मोदी, कुश्मा र जलजला गाउँपालिकाका बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै स्थानीयसँग छलफल गरे ।
जलजला गाउँपालिका–८ लगायतका विपद् प्रभावित क्षेत्रमा पुगेका मन्त्री श्रेष्ठलाई गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बाढी पहिरोबाट भएको क्षतिको अवस्थाबारे जानकारी गराए । अध्यक्ष आचार्यले क्षतिको वास्तविक अवस्था झल्काउने तस्बिरसहितको प्रदर्शनीमार्फत् पालिकामा भएको भौतिक तथा मानवीय क्षति र समग्र विपद् व्यवस्थापनको अवस्थाबारे मन्त्रीलाई विस्तृत जानकारी गराए ।
सो अवसरमा बाढी पहिरोबाट प्रभावित नागरिकको तत्काल राहत तथा उद्धार, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणबारे पनि छलफल भएको छ । प्रभावित क्षेत्रको पुनर्निर्माणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबिच आवश्यक समन्वय तथा सहकार्य हुनुपर्नेमा जोड दिइएको छ ।
बाढी, पहिरोका कारण गण्डकी प्रदेशमा विद्युत् वितरण संरचनामा ठूलो क्षति पुगेको छ । विवरणअनुसार विपद्का कारण प्रदेशभर करिब ११ करोडभन्दा बढीको क्षति भएको छ । मन्त्री श्रेष्ठले जिल्लाका राजनीतिक दलका नेता तथा कार्यकर्तासँग पनि भेटघाट गरेका छन् । भेटघाटमा स्थानीयवासीले भोगिरहेका समस्या, विकास निर्माणका आवश्यकता र समाधानका उपायबारे छलफल भयो ।





