आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

किसान खुसी पार्न शीतभण्डार

किसान खुसी पार्न शीतभण्डार

किसानलाई प्रोत्साहन गर्नका निम्ति शीतभण्डार निर्माण एउटा उपाय बन्न सक्छ । तर, स्याङ्जामा अघिल्लो वर्ष शीतभण्डारमा राखिएको सुन्तलामा ठूलो क्षति पुगेपछि किसान तर्सिएका छन् । शीतभण्डार स्थापना गरिँदा प्राविधिक पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्छ ।


  • Dhorpatan News
  • मंसिर १३ २०८३, आइतबार

वैश्विक प्रभावका कारण नेपालीको खानपान बदलिएको छ । कुनै बेला हुँदा खाइने चिज अहिले दैनिक अपरिहार्य बनेका छन् । फलफूललाई नै उदाहण मानौँ न ! जुन मौसममा जे फल्छ, त्यही खाने नेपाली समाज बदलिएर बाह्रैमास मुख र स्वास्थ्यका लागि गुणकारी फल खोज्न थालेको छ । हिउँदमा पाइने सुन्तला र अमिलो जातका फलफूलदेखि स्याउ, अनार, भुइँकटहर बाह्रैमास पाइन्छ । फलफूल सेवनले मानिसको स्वास्थ्यमा गुणात्मक परिवर्तन ल्याएकै छ । स्वास्थ्य सेवाको बिस्तार र सहज पहुँच अनि खानपानमा आएको परिवर्तनकै कारण नेपालीको औषत आयु ७४ वर्ष नजिक पुगेको छ ।

बदलिँदो खानपानकै कारण देशबाट वार्षिक रुपले विदेशिने रकम पनि बढ्दै गएको छ । नाममा कृषिप्रधान भनिए पनि नेपालीले उपभोग गर्ने चामलदेखि दाल, मकै, कोदो अनि फलफूल विदेशबाटै आयात हुँदै आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ३८ अर्ब ५० करोड रुपैयाँ बराबरको तरकारी तथा करिब २५ अर्बको फलफूल आयात भएको थियो । जबकि, आयातित सबैजसो तरकारी, गेडागुडी र फलफूल नेपालमै उत्पादन गर्न सकिन्थ्यो ।

उत्पादनतर्फ राज्यले ध्यान दिन सकेको छैन । अर्कोतर्फ, उत्पादित वस्तुको बजारीकरण एवं उच्च प्रतिफल लिने तरिकाबारे किसानलाई जानकारी दिइएको छैन । जसका कारण वास्तविक किसानले लागत अनुसारको मूल्य नपाउने र पेशाबाटै पलायन हुने अवस्था सिर्जना भएको छ । बढी प्रतिफल प्राप्त हुने अवस्था आए किसानहरु स्वयं त्यस्तो खेतीमा उत्साही बन्छन् । नेपालमा किसानले लागत बराबरको मूल्य पनि नपाउने अवस्था छ । केरा पाक्ने सिजनमा किसानले केरा नै फाल्नुपर्ने, गोलभेडा सडकमा मिल्काउनुपर्ने, स्याउदेखि सुन्तलासम्मका फलफूल पनि कौडीको भाउमा बेच्नु परेका कथा सुन्न टाढा जान पर्दैन ।

हुम्ला र मुस्ताङमा फलेको स्याउ कौडीको भाउमा विचौलियालाई सुम्पनुपर्ने नियतिबाट किसानलाई मुक्त नगराएसम्म कृषिको व्यावसायिकरण सम्भव हुँदैन । अहिले नेपालको सबैजसो सहरमा स्याउ र सुन्तला फालाफाल छ । स्याउको सिजन निख्रने अवस्थामा छ भने सुन्तला भर्खरै बजारमा आएको छ । नेपालको हिमाली जिल्लामा फल्ने स्याउलाई मुख्य सिजनमा भण्डारण गर्ने र उत्पादन नहुने बेला बजार पठाउनका निम्ति शीतभण्डारहरु आवश्यक पर्छन् ।

सुन्तलाको हकमा पनि यही प्रक्रिया लागू हुन्छ । तर, नेपालमा सुरक्षित र गुणस्तर नघट्ने गरी भण्डार गर्न मिल्ने शीतगृह अभाव छ । गण्डकीमा साना–ठूला गरी १५ वटा शीतभण्डार रहेको राष्ट्रिय फलफूल विकास केन्द्रको तथ्याङ्क छ । गण्डकीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साझेदारीमा यहाँका सवै जिल्लामा शीतभण्डार बनाउने नीति लिए पनि ठूला व्यावसायिक शीतभण्डार निर्माणमा उल्लेखनीय प्रगति हुन सकेको छैन । साँच्चै कृषिको व्यावसायिकरण गर्ने हो भने किसानलाई उत्पादनबाट उच्च प्रतिफल प्राप्त हुनुपर्छ । आम्दानीले नै पेशाप्रति मोह बढाउँछ । किसान उत्साहित भए उत्पादन स्वतः बढ्छ । उत्पादन बढ्दा आयात रोकिन्छ । किसानलाई प्रोत्साहन गर्नका निम्ति शीतभण्डार निर्माण एउटा उपाय बन्न सक्छ । तर, स्याङ्जामा अघिल्लो वर्ष शीतभण्डारमा राखिएको सुन्तलामा ठूलो क्षति पुगेपछि किसान तर्सिएका छन् । शीतभण्डार स्थापना गरिँदा प्राविधिक पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->