पोखरा/एभरेस्ट मिडिया हाउसले आयोजना गरेको रक्तदानमा १ सय ३५ पिन्ट रगत संकलन भएको छ । एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ पोखरा पिसटाउनसँगको सहकार्यमा शनिबार भएको रक्तदानमा १०७ पुरुष र २८ जना महिलाले रगत दिए ।
१५ जनाले पहिलो पटक रक्तदान गरेको कार्यक्रम संयोजक तथा एफएमका वरिष्ठ समाचार वाचक शिशिर पौडेलले जानकारी दिए । रक्तसञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्रकुमार केसी र आकस्मिक रक्तसञ्चार युनिट पोखराका प्रमुख हरिश्चन्द्र शर्माले पहिलो रक्तदाताद्वय पत्रकार विनोद लामिछाने र समाजसेवी टेकनाथ आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए ।
कार्यक्रममा मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको बताइन् । एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भनी कार्यक्रम गर्दै आएको जनाए ।
‘पोखरामा रगतको अभाव भएको अवस्थामा गरिएको रक्तदान कार्यक्रमले रगतको अभाव कम मद्धत पुग्ने विस्वास छ’, उनले भने ।
एभरेस्ट एफएमले पोखरा–२५ हेमजा स्थित मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माणका लागि सम्झौता अनुसारको सबै किस्ता तिरेको छ ।
एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी इयर’ प्राविधिक दिलिप भण्डारी भएका छन् । उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँ, दोषल्ला र सम्मान पत्रसहित सम्मान गरिएको छ ।





