बागलुङ/अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख नारायणप्रसाद सापकोटाले आयोगमा आउने ९० प्रतिशत उजुरी नियतबस पर्ने गरेको बताएका छन् । उनले कर्मचारी तथा जनप्रतिनिधिलाई दुःख दिने नियतका साथ त्यस्ता उजुरी आउने गरेको सुनाए ।
प्रमुख सापकोटाले प्रारम्भिक रुपमै त्यस्तो भेटिएका उजुरीलाई अनुसन्धान प्रक्रियामा नलगिने उनको भनाइ छ । बागलुङको काठेखोला गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धनसम्बन्धी अन्तरक्रियामा उनले कानुनले व्यवहारिकता नजान्ने बताए । ‘कानूनमा गर्न नपाइने काम गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्कषित हुन्छ’, उनले भने, ‘कसैको उजुरी पर्दैमा डराउनु पर्दैन ।’
उनले कानुनले बर्जित गरेकाकाम नगर्न र राज्यको सम्पत्ति खर्च गर्ने सवालमा व्यवहारिकता नहेर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । बजेट प्रक्रिया नपु¥याइ खर्च गर्ने र प्रशासनिक काममा आवश्यक कागजात, बिल भरपाइ बिना भुक्तानी दिने प्रवृत्तिले भ्रष्टाचार मौलाएको उनको भनाइ छ ।स्थानीय तहले विकास, निर्माणकाकाम गर्दा कमसल सामग्री प्रयोग गरी पूर्वाधार निर्माण हुने, कर्मचारी नियुक्ति जस्ता प्रक्रियामा कमी, कमजोरी हुने र झुटा विवरणमा कागजात बन्ने जस्ता प्रक्रियागत समस्याले अख्तियारमा धेरै उजुरी पर्ने गरेको उपसचिव रश्मि शाहीले बताइन् ।
कुल उजुरीमध्ये संघीय सरकारकायोजनाका ३७ प्रतिशत, प्रदेश सरकारका १३ प्रतिशत र स्थानीय सरकारका४९ प्रतिशत देखिएको छन् ।क्षेत्रगत रुपमा शिक्षा क्षेत्रका सबैभन्दा बढी उजुरी पर्ने गरेका छन् ।
शिक्षा क्षेत्र स्थानीय सरकारमा आएपछि भवन निर्माणमा अनियमितता, शिक्षक नियुक्ति र सरुवामा आफन्त खोज्ने प्रवृत्ति मौलाएका गुनासा आउने गरेका छन् । असार मसान्तसम्ममा बागलुङका ३५ उजुरी आयोगमा परेका छन् । तीमध्ये स्थानीय तहका २५ वटा छन् भने अन्य १० वटा छन् ।
ती उजुरीमा खरिद कानुन मिचिएको, योजनामा ठेकेदार छनोटमा अनियमितता, काम गर्दा वातावरणीय प्रभाव मूल्यांकन नभएको, कर्मचारी नियुक्तिमा आफन्त हेर्ने र प्रक्रिया मिचिएका छन् । गलत स्टिमेट गरेका कारण काम नभएको, कतिपय काममा कमसल सामग्री प्रयोग भएको उजुरी पनि आएका छन् ।
गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले जनप्रतिनिधि र कर्मचारी हतोत्साही बन्ने गरी मुद्दा दायर गरिने र त्यसको प्रचार गरिने काम रोकेर कसुर ठहर भएमा मात्र सूचना बाहिर ल्याउनुपर्ने विचार राखे ।उनले उजुरीकै आधारमा कसैको बदनाम गर्न नहुने धारणा राखे । प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल विकले पनि काम गर्ने वातावरण पनि मिलाउने, हतोत्साही नगरी दोषी ठहर भएकोले कारवाही भोग्ने क्रमलाई सुधार गर्नुपर्ने बताए ।
कार्यक्रममा वडाध्यक्षहरुले सानो सानो काममा समेत अनावश्यक उजुरी आउने,बयान दिन अख्तियार धाउनुपर्ने बाध्यताले ग्रामीण क्षेत्रमा उपभोक्ता समितिमा बस्ने व्यक्ति पाउन मुस्किल बनेको गुनासो गरे । ‘कार्यपालिकाको छाँयामा अख्तियार पर्ने र सामान्य त्रुटिमा उपभोक्ता समिति सदस्यहरु बयान दिन अख्तियार जाने प्रवृत्ति अन्त्य हुनुपर्छ’, काठेखोला गाउँपालिका वडा न.ं १ का अध्यक्ष खड्ग थापाले भने, ‘काम गर्नेलाई प्रोत्साहित गर्ने कार्यक्रम पनि आउनुपर्छ ।’
कार्यक्रममा वडा नंं २ का अध्यक्ष विद्यापति शर्मा, ४ का अध्यक्ष लक्ष्मण पुन, वडा नंं ५ का अध्यक्ष ज्ञामनाथ कँडेल, वडा न.ं ६ का अध्यक्ष वृहस्पति कँडेल, वडा नंं ७ का अध्यक्ष प्रेम लामिछाने, शिक्षक कमला थापा र लीलाधर कँडेल लगायतले अख्तियार तर्साउने खेलमात्र बन्ने नभइ सुशासनकालागि सहयोगी बन्नुपर्ने धारणा राखे ।





