बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यसरी महंगियो भिर्नीझोला

यसरी महंगियो भिर्नीझोला


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७७, मंगलबार

बागलुङ, २० जेठ– नेपाली लोक संगीतको बजारमा आएका निकै कम गीति संग्रह मात्रै करोड क्लबमा प्रबेश गर्छन् । क्यासेट र सिडीको माध्यामबाट व्यापार हुने गीतहरुको पछिल्लो समयको व्यापारिक मार्ग युट्युव च्यानल हो । बिचमा आएको सिआरबीटि र पिआरबिटीको पनि बजार छ तर पहिलेको जस्तो बजार छैन् । युट्युवमा दर्शक पाउनु नै गीत संगितको सफलता हो । पछिल्लो पटक करोड क्लबमा समाबेश हुने गीतको सूचिमा परेको छ बागलुङे सर्जक कृष्ण अखेली र पर्वतकी चेली सरस्वती लामिछानेको प्रस्तुती ‘भिर्नीझोला’ ।
सानो उमेरमा पात बजाँउदै बलेवाको भैरवस्थान मन्दिर वरीपरी बाख्रा चराउँदाका अनुभव संगालेर सर्जक शिव अखेलीले तयार पारेका शव्दमा बजारमा आएको यो गित चर्चामा मात्रै रहेन व्यापारीक हिसाबले पनि खर्च उठाएर फाईदामा गयो । गीतमा लगानी गरेका अखेली र लामिछानेका अनुसार करोड क्लव प्रबेश गरेपछि गीतको रोयल्टी राम्रै आउँछ । बागलुङकै सर्जक बसन्त थापाका केही लोक गित करोड क्लबमा छन् । प्रकाश सपुतको बोल मायाँ पनि सूचिमा छ । उनी पनि बागलुङकै हुन् । निकै कम लोकगीतले मात्रै पछिल्लो समय बजारमा आएर लगानी उठाउँछन् । बागलुङे सर्जकले बजारमा पछिल्लो समय ल्याएका औलामा गन्न मिल्ने गीतहरुको सूचिमा समाबेश भएपछि ‘भिर्नीझोला’ का गायक तथा लगानीकर्ताहरु हौसिएका छन् ।
गीत चर्चामा आएपछि युट्युवमार्फत हुने व्यापारमा मात्रै होईन यो गीत गाउँनेहरुको दैनिकी पनि आम्दानीसँग जोडिन थालेको छ । कुनैदिन चिया खर्च लिएर स्टेज कार्यक्रममा चढ्ने गायक कृष्ण अखेलीलाई अहिले स्टेजले आँफै खोज्न थालेको छ । कुशल कार्यक्रम प्रस्तोता उनलाई ‘भिर्नीझोला’ले मागेको पारिश्रमिक पाउने गायक बनायो । गायिका सरस्वती लामिछानेलाई पनि यो गितले धेरै फाईदा पु¥याएको छ । धेरै गित गाएकी उनी यहिं गीतबाट करोड क्लबमा प्रबेश गर्ने गीतको गायिका बनिन् ।
गीत सफल भएपछि कलाकार बन्नका लागि गरेको दुःख काम लागेको उनीहरु बताउन थालेका छन् । ‘सुरुमा त के को पैसा लिनु र ? एउटा मात्र गीत गाउने अवसर पाए कस्तो हुन्थ्यो होला भनेर परिकल्पना गर्थेँ, जसोतसो गीत गाएँ आयोजकले माया मानेर पाँच सय रुपैयाँ दिएर पठाएको अहिले पनि सम्झेको छु ।’ अखेलीले विगत सम्झदै भन्छन्, ‘त्यो बेलामा आयोजकहरुले दिएको त्यो अवसरले नै मलाई आजको अखेली बनाएको हो । आज गीतको सफलता सबैसँग जोडिएको छ ।’
पाँच दर्जनभन्दा बढी लोकगीतमा स्वर भरेका अखेली पछिल्लो तेह्र बर्षदेखि लोक सांगीतिक क्षेत्रमा जमिरहेका छन् । यो बिचमा यति ठुलो सफलता पाएको भिर्नीझोलानै पहिलो गीत हो । ‘लगानी र मेहेनत दुवै महंगा नै थिए, लगानी उठेर गीतले कमाउने दिन पनि आए’ उनले भने ‘अडियोको बजार हुने बेला पनि गीत बजारमा ल्याईयो तर सफलताका लागि निकै समय कुर्नुप¥यो ।’ गीतबाट भएको आम्दानी गीत संगीतकै क्षेत्रमा खर्चिने उनी बताउँछन् । ‘रेडियोले गीत संगीतको क्षेत्रमा स्थापित बनायो’ अँखेली भन्छन् ‘रेडियोमा लोकगीत सुन्नकै लागि हानथाप गर्ने म, आज रेडियो र गीतकै कारण सफल भएको महशुस गर्दैछु ।’ गीतमा उत्कृष्ट शव्द लेखेका शिव अखेली रोजागारीका लागि युरोपमा छन् । उनकै सोँच र मेहेनतका कारण सफलता पाएको भाई कृष्ण अखेली बताउँछन् । ‘कुनैदिन म पनि हरियो पासपोर्ट बोकेर बिदेश भाँसिनुजस्तो लाग्थ्यो’ कृष्ण भन्छन् ‘दाईको जिद्धीले यहिँ केही गर भन्नुभो जसले भिर्नीझोलाजस्तो कोसेली जन्मियो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->