बागलुङ, २६ जेठ– पश्चिम रुकुममा भएको नरसंहारको विषयबस्तुमा आधारित लोकगीत बजारमा आएको छ । सर्जकहरुले सारंगी संगीतमा आधारित गीत बजारमा ल्याएका हुन् । प्रेमको उपहार मृत्युमा परिणत भएको घटनामा जातीय बिभेदको बिषयबस्तुलाई टिपेर सर्जकले शव्दगुच्छा बुनेका छन् । कारुणिक लय र मर्मस्पर्शी शव्द रहेको गीत युट्युवमार्फत बजारमा आएको हो । जातिय विभेदको घटनाबारे बनेको गीत ‘प्रेमको उपहार मृत्यु, जात तगारो’ नाम दिईएको छ । स्वर्गिय श्रष्टा तथा गायक झलकमान गन्दर्भको झल्को दिने आवाज भरिएको गीतको रमेश नेपालीले शब्द लेखेका छन् । गीतमा संगीत राजेश बर्देवाले गरेका छन् । गीतले रुकुममा जातिय विभेदमा नबराज बिक र उनका साथीहरुको मृत्यु र एक्काइसौं शताब्दीमा भएको नरसंहारको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाहीको मागसमेत गरेको छ । म्युजिक भिडियोमा लोकप्रिय नेता बाबुराम भट्टराई, गगन थापा, सञ्चारकर्मी रबि लामिछाने र महानायक राजेश हमालको सन्देश्मुलक आवाजको भिडियो क्लिप्स पनि समावेश गरिएको छभने शंकर बिसी, सुरबिर पण्डित, काजिश श्रेष्ठ, निर्मल क्षेत्री, किसान सेवालगायत अन्य कलाकारको अभिनय रहेको छ ।





