पोखरा, १ असार– संघीय र अन्य प्रदेशहरुले आउँदो आर्थिक वर्षको लागि बजेटको आकार घटाएको बेला गण्डकी प्रदेशले भने चालु आर्थिक वर्षभन्दा झण्डै २ अर्ब ७१ करोडको बजेट ल्याएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षमा गण्डकीले ३२ अर्ब १३ करोडको बजेट ल्याएका थिए । उनले चालु आर्थिक वर्षमा पैसा खर्च नभएकाले बजेटको आकार बढेको बताएका छन् । मन्त्री गुरुङले पेश गरेको बजेटमा चालु खर्च ४१.२ प्रतिशत र पूँजिगत बजेट ५७.४ प्रतिशत रहेको छ । उनले यो आर्थिक वर्षमा बँचेको ७ अर्ब ५७ करोड बचेको जनाएका छन् । ढोरपाटन दैनिकले सोमबारको अंकमा बजेटको आकार बढ्ने जानकारी दिइसकेको थियो ।





