बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘दिलराजा दिलरानी’पछि ‘आकाश पनि’ लिएर आइन गायिका इन्दु

‘दिलराजा दिलरानी’पछि ‘आकाश पनि’ लिएर आइन गायिका इन्दु


  • ध्रुवसागर शर्मा
  • असार १० २०७७, बुधबार

म्याग्दी, १० असार– पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल कर्णप्रिय स्वरकी धनी म्याग्देली चेली इन्दु बानियाँले ‘दिलराजा दिलरानी’ को अपार सफलतापछि प्रेम समर्पणले युक्त ‘आकाश पनि’ बोलको भिडियो सार्वजनिक गरेकी छन् । ‘तिम्रो न्यानो त्यो काखैमा’, ‘सबै गुमाएर बरु’, ‘राम कसम चट्टै’, ‘गाई चराउने पाखैमा’ र दिलराजा दिलरानीजस्ता कर्णप्रिय गीतहरु ल्याएर चर्चाको शिखरमा पुगेकी गायिका बानियाँको अर्को सांगीतिक कोशेली ‘आकाश पनि’ को म्यूजिक भिडियो सार्वजनिक भए लगत्ते निकै लोकप्रिय भएको छ ।
मिन बानियाँको शब्दरचना रहेको यस गीतमा बी. बी. अनुरागीको संगीत तथा संगीत संयोजन रहेको यस भिडियोमा सुबास जिसीको निर्देशन तथा छायाङ्कन, पवित्रा जिसीको सम्पादन र गीतको मिक्सिङ श्यामश्वेत रसाईलीले गरेका हुन् । ‘जुनी जुनी तिमै हो नि छुट्टिदैन यो ज्यान’जस्ता मार्मिक शब्द शिल्पमा प्रणय भाव छचल्किएको यो गीतमा संगीत र स्वरको अनौठो समायोजन महशुस गर्न सकिन्छ भने प्रेमरसको रसस्वादन गर्दै प्रेम प्रणयको वास्तविक यथार्थता बोध पनि गर्न पाइन्छ ।
सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै स्थापित गायिकाको रुपमा चर्चा पाएकी बानियाँका यसअघि सार्वजनिक भएका गीतहरुले बजारमा निकै चर्चा पाएका छन् । ‘तिम्रो न्यानो त्यो काखैमा’ बोलको गीतबाट आफ्नो सांगीतिक करियर शुरु गरेकी बानियाँले ‘सबै गुमाएर बरु’ गीत सार्वजनिक गरेपछि उनको गायकीको चर्चा चुलिएको हो । कर्णप्रिय आवाजकी धनी बानियाँको सानैदेखिको गीत संगीतप्रतिको लगाबका कारण अहिले उनी यो मुकामसम्म आइपुगेको म्याग्दीमा उनलाई नजिकैबाट चिन्नेहरुले बताएका छन् । रेखा कौशल रेग्मीको शब्द रचना रहेको ‘सबै गुमाएर बरु’ गीतले बानियाँलाई म्याग्दीमा मात्रै नभएर देशविदेशमा समेत परिचित गरायो ।
त्यसपछि गायिका इन्दुको स्वरमा सजिएको ‘राम कसम चट्टै’ बोलको गीत बजारमा आएपछि उनको ख्याती चुलियो । गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै गीतले चर्चा पाएको छ । अहिले म्याग्दीका गाउँ–गाउँसम्म पनि यो गीत गुनगनाउने गर्दछन् । बिन्ध्यवासिनी म्युजिक प्रा.लि.को युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गीतमा मनोजराज शिवाकोटीको शब्द, संगीत रहेको छ । उक्त गीतको म्युजिक भिडियो काजिस श्रेष्ठले निर्देशन गरेका छन्भने म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय निक्कै रोचक देखिन्छ । त्यसैगरी कृष्ण पौडेलको शब्द र दिपक शर्माको संगीत रहेको ‘गाई चराउने पाखैमा’ (पहिलो प्रेम) बोलको गीत रेकर्ड गराएकी इन्दु सर्बोत्कृष्ट नबगायिका अवार्डद्धारा सम्मानित भइसकेकी छिन् । ‘गाई चराउने पाखैमा’ गीतबाट इन्दु राप्ती म्यूजिक अवार्ड २०७४ का लागि सर्वोत्कृष्ट नवगायिका महिला सुगम संगीत विधाको अन्तिम ५ सम्म छानिएकी थिईन ।
म्याग्दी जस्तो विकट ठाउँमा जन्मिएर विभिन्न किसीमका अवरोधहरुलाई छिचोल्दै गायन क्षेत्रमा जमेकी बानियाँ जति छरिती र फुर्तिली छन् उनको स्वरमा पनि उत्तिकै माधुर्यता रहेको गीत संगीतका जानकारहरु बताउँछन् । उनको स्वरमा प्राकृतिक पना पाइनुका साथै शब्द उच्चारणमा समेत वैयाकरणीय शुद्धता रहेको गीतकार मधुकर पौडेलले बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->