पोखरा, १७ साउन–चर्चित पोखरेली ब्याण्ड लेकालीले २ दशक अघि आफैले गाएको ‘लेकाली हामी’ बोलको गीतलाई अकेष्ट्रिक भर्सनमा प्रस्तुत गरेको छ । विद्युतीय वाद्ययन्त्रहरुको प्रयोग बिना गाइने गीतलाई अकेष्ट्रिक भनिन्छ । यस्ता गीतहरु संगीत भन्दापनि स्वर प्रधान हुन्छन् । लेकालीका भरपर्दा खम्बा भाई गुरुङले गीतलाई अकेष्ट्रिक भर्सनमा गाएका छन् । एसटु प्रोडक्सन प्रालिको युट्युव च्यानलमार्फत् शुक्रबार यो गीत सार्वजनिक गरिएको छ । मेख र नविन गुरुङको शब्द रहेको सो गीतमा नविन गुरुङले संगीत भरेका हुन् । गीतको छायाँङ्कन र सम्पादन सुरज श्रेष्ठले गरेका हुन् । पोखराको दीपका स्थायी वासिन्दा भाई हाल पोखराकै बगाले टोलमा बस्छन् ।
पोखरामा लोकपप शैली मौलाएको बेला जन्मिएको हो, लेकाली । पश्चिमा शैलीमा नेपाली गीतगाउने भूत सवार भएको बेलाका गायक भाई अहिले पनि गीत संगीत क्षेत्रमै क्रियाशिल छन् । १२ वर्षमा खोला फर्कन्छ भनिन्छ । यता, २२ वर्षपछि अकेष्ट्रिक गायन मार्फत् भाई फर्केका छन् । बजारमा अहिले अकेष्ट्रिक गीतको बोलबाला छ । हिजो बजार पिटेको गीतमा युवावयमा देखिने ‘लाहुरे’ सपना समेटिएको छ । लेकबेंसी र मेलापात सँग जोडिएको जीवन र त्यही बेला अंकुराउने प्रेमका भावहरु समेटिएको गीत आफैमा बेजोड छ । हाल एकल गायनमा रमाएका भाईले गीतलाई सबैले मन पराइदिने अपेक्षा पनि गरेका छन् । ४ मिनट ४९ सेकेण्डको यो गीतले लाहुर जाने गण्डकी प्रदेशको सपना बोकेको छ । पीर र व्यथा अनि अनेकौं स्मृतिहरुलाई गेडागेडा मार्फत् जोडेको छ ।





