म्याग्दी, ५ असोज– म्याग्दीका पूर्वसांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास) ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ । आइतबार बसेको मदन पुरस्कार गुठी समितिको साधारणसभाले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पुरस्कार छनौंटका लागि गुठीमा प्राप्त भएका १ सय ५१ पुस्तकहरुमध्येबाट सात पुस्तकहरु विमल निभाको जोकरको बन्दुक, तिर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु, चन्द्रप्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा पुस्तक मदन पुरस्कार सूचि २०७६ का रुपमा छनौंट भएका थिए । सात पुस्तकहरुमध्येबाट बानियाँको महारानी उपन्यासलाई मदन पुरस्कार २०७६ प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ ।
को हुन् बानियाँ ?
म्याग्दी जिल्लाको साविक पुलाचौर–९ हाल बेनी नगरपालिका वार्ड नं ५ भिरमुनीमा २००७ साल चैत्र २५ गते जन्मेका बानियाँ लामो समय साहित्यकारभन्दा नेताको रुपमा चिनिए । वामपन्थी विचारधारका बानियाँ २०२४ सालतिर मास्टर भए । उनले वालबोधिनी प्रावि भीरमुनी पौलस्त्य निमावि.भिरमुनी,मुक्तिधाम मावि.राखु भगवती र मंगला.मावि.बाबियाचौरलगायतमा चक घोटे । व्यवस्था विरोधी भएको आरोपमा २०३६ सालमा उनको मास्टरी खोसियो । सार्वजनिक अपराधको मुद्दा लगाइयो । १० वर्ष तारेख बोके, उनले । पञ्चायत विरोधी भएकै कारण लिखित परीक्षा पास भएर पनि उनी सरकारी जागिरे बन्न पाएनन् ।
२०४० सालतिर तत्कालीन भूमिगत पार्टी नेकपा मालेको सम्पर्कमा पुगेपछि उनको जीवन राजनीतिक बन्यो । प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च’ र क्रान्तिकारी बुध्दिजीवी संघ को अध्यक्ष भएर उनले राजनीतिमा दह्रो उपस्थिति जनाए । । २०४८ सालको प्रतिनिधिसभा सदस्यको चुनावमा उनी नेकपा एमालेबाट उम्मेदवार बने र म्याग्दीबाट जित हात पार्दै संसद छिर्ने कवि बने । पछि राजनीतिबाट विरक्तिए, उनी । माओवादीको आरोपमा नजरबन्दमा परेका उनी पछिल्लो समय भने छोरा डाक्टर प्रवीण बानियाँसँगै पोखरा बस्न थाले । २०७१ सालयताको पोखरा बसाईले उनको लेखनी खारियो । पोखरामै बस्दा उनको मृत्यु संस्कारःमन्थन नामक पुस्तक २०७५ सालमा प्रकाशित भयो । यसको लगत्तै २०७६ सालमा ‘महारानी” ऐतिहासिक उपन्यास प्रकाशित भयो । यी दुबै कृति ‘शिखा बुक्स काठमाडौ’ ले प्रकाशित गरेको हो । सोही प्रकाशकबाट निकट भविष्यमा ‘भौंज्याहा’ नामक निबन्ध संग्रह प्रकाशित हुँदैछ ।





