तनहुँ, ४ चैत– कवि टिकाराम पौडेलले पहिलो कृती ‘विगत र वर्तमान्’ कविता संग्रह बजारमा ल्याएका छन् । पौडेलको ८४ औँ जन्मदिनको अवसरमा मंगलबार कविता संग्रहको विमोचन गरिएको हो ।
दुलेगौँडास्थित पौडेल निवासमा भएको एक कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले कविता संग्रहको विमोचन गरे । पहारीले मानविय जिवनको अभिव्यक्ति नै साहित्य भएको बताए । ‘कविताले मान्छेको समग्र जिवनको शिवालोकन गर्छ’, उनले भने । गण्डकी प्रदेश साहित्य, कला र संस्कृतिको उद्गमस्थल भएको उनको भनाई छ ।
८४ पुष्ठ लामो कविता संग्रहमा ८४ कविता संग्रहित छन् । शुक्ला साहित्य संगम तनहुँले प्रकाशन गरेको संग्रहमा संस्कृति, संस्कार, विकृती, विसंगतिका बिषयलाई समेटिएको छ ।
बुवाको सिर्जनालाई जिवन्त राख्न पुस्तक नै प्रकाशन गरेको छोरा मोतीप्रसाद पौडेलले बताए । ‘उहाँले पहिल्यैदेखी कविता लेख्नुहुन्थ्यो । कविता लेख्ने थन्क्याउदै राख्ने । त्यसैलाई पुस्तकको रुप दिईएको हो’, उनले भने । कवि पौडेल पुर्व शिक्षक पनि हुन् ।





