बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गुरुङ सिनेमाको सुरुआत नै मौलिकता

गुरुङ सिनेमाको सुरुआत नै मौलिकता


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ८ २०७८, बुधबार

बैसाख ८, पोखरा– कलाकार तथा फिल्म निर्देशक माओत्से गुरुङले नेपाली फिल्मले अहिले मौलिकता खोजिरहेको तर, गुरुङ फिल्मको सुरुआत नै मौलिकताबाट भएको बताएका छन् । रेडियो अन्नपूर्णले गरेको राउन्ड टेबलमा उनले मुलधारका भनिने फिल्ममा पनि स्थानीय कथा समेटिएमात्रै फिल्म सफल हुने धारणा राखे ।
‘मुलधार भनिने चलचित्रमा स्थानिय कथा वस्तु झल्किएको खण्डमा सिनेमा सफल हुन्छ । नेपाली सिनेमामा आञ्चलिकता नहुँदा बिग्रेको छ,’ गुरुङले भने, ‘ गुरुङ फिल्ममा पहिलेदेखि नै मौलिकता झल्काइए पनि नेपाली मुलधार भनिने चलचित्रमा अहिले आएर मात्र मौलिकता खोजिरहेको छ ।’
निर्देशक माओत्सले कोरोना महामारीले गुरुङ चलचित्र क्षेत्रलाई पाठ सिकाएको बताए । कोरोनापछि नै गुरुङ चलचित्र हलमा प्रदर्शन हुन थालेका छन् । ‘घरघरमै टिकट किन्नुपर्ने झन्झटबाट अब दर्शक मुक्त भएका छन् । हल सञ्चालकले लोकल सिनेमालाई अरु सिनेमा जस्तै ठाउँ दिन सके यसको भविष्य उज्जवल छ,’ उनले भने ।
प्राज्ञ रमेश श्रेष्ठले ४० को दशकमा समाजका गतिविधिलाई फिल्ममा उतार्ने गरिएको बताए । ‘त्यतिबेलाको सिनेमामा भएका गतिविधिलाई समाजमा समेत उतार्ने गरिन्थ्यो।’ उनले भने, ‘पात्रको हाउभाउलाई नै हेरेर समाजका व्यक्तिहरुले आफुलाई त्यहीअनुरुप ढाल्ने गर्थे ।’ उनका अनुसार सिनेमा भनेकै साहित्य हो ।
चलचित्र व्यवसायी निकेश द्वाले ४८ प्रतिशत नेपाली फिल्म हेर्न दर्शक हलमा आउने गरेको बताए । ३७ प्रतिशत बलिउड र १५ प्रतिशत हलिउड हेर्ने दर्शकको आगमन मिडटाउन सिनेमाजमा हुने गरेको उनले जानकारी गराए । उनले हलमा फिल्म हेर्ने कल्चर नभएको भन्ने विषय निराधार भएको बताएका छन् । टेक्नोलोजीको परिवर्तनसँगै मानिसका आकंक्षाहरुमा पनि परिवर्तन आएको उल्लेख गर्दै व्यवस्थित हलमा दर्शकको आगमन राम्रो भएको उनले बताए ।
द्वाले आफुहरुलाई हालको समयमा सरकारले निर्धारण गरेको ५० प्रतिशत अकुपेन्सीमा हल सञ्चालन गर्न गाह्रो भइरहेको गुनासो पोखे । तर पनि बाध्यता स्वरुप हल संचालनमा ल्याएको उनको भनाई छ । नेपाली चलचित्रको हकमा मौलिक कथावस्तु भएको सिनेमाले नै नाम र दाम कमाएको उनले बताए । हलमा मान्छे तान्न सिनेमाको कन्टेन्ट बलियो हुनुपर्ने धारणा उनको छ ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीले अहिलेको समय समीक्षात्मक भएको बताए । अरुणले भने, ‘हिजोका दिनमा रिलिज भएका फिल्मको समिक्षा गर्न पाइएन । आज फिल्मनुसार समिक्षा हुन थालेका छन् । यो टेक्नोलोजीमा आएको परिवर्तन हो ।’
अरुणले हिजो कल्पनाका कथालाई चलचित्रमा उतार्ने गरिएता पनि आज कल्पना सँगै सामाजिक यथार्थवादी कथालाई समेत चलचित्रको पर्दामा उतार्ने गरिएको बताए । नेपाली समाजको सिनेमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको अरुण पाउँछन् । भन्छन्, ‘हिजोका दिन परिवारसँग लुकेर फिल्म हेर्नुपर्ने हुन्थ्यो । आज परिवारसँगै बसेर फिल्म हेर्ने पाएका छौं । एउटा उत्सवका रुपमा समेत चलचित्रलाई लिन थालिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->