पोखरा/ गायक तथा संगीतकार दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ सार्वजनिक भएको छ । मंगलबार पोखरामा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा ठकुरीसहित कलाकार नीर शाह, केकी अधिकारीले मुख्य भूमिका निभाएका छन् । डिएमबिएस फिल्मस् प्रोडक्सनले निर्माण गरेको गीतमा ओएसआर डिजिटलको प्रस्तुति छ । गीतको म्युुजिक भिडियोलाई अर्जुन थापामगरले निर्देशन गरेका छन् ।
जत्ति नै सम्पन्न भएपनि धनले चोखो माया किन्न नसक्ने गरी गीतको म्युजिक भिडियो तयार पारिएको निर्देशक मगरले जानकारी दिए । उनले हरेक व्यक्तिअनुसार व्यवहार फरक हुने तर, प्रेमको मामिलामा जतिसुकै कठोर हृदय पनि कमलो हुने भिडियोले सन्देश दिन खोजेको उनले बताए । ‘व्यक्तिको व्यवहारलाई नबुझी समाजले आफूखुसी व्याख्या गरिदिन्छ, त्यही देखाउन खोजिएको छ,’ उनले भने ।
गीतका गायक ठकुरीले आफूलाई सानैदेखि संगीतमा रुचि भएपनि ढिलोगरीमात्रै संगीत क्षेत्रमा प्रवेश गर्ने मौका पाएको सुनाए । ‘सबै मान्छे आफैंमा हिरो हुन्छ । तर, समाजले गुण्डा करार गरिदिन्छ । त्यसैको वरिपरि रहेर गीत ल्याएको हुँ,’ उनले भने । उनले अर्को गीत तथा फिल्म पनि चाँडै ल्याउने तयारी गरिरहेको बताए ।
गीतमा मुख्य भूमिकामा देखिएकी केकी अधिकारीले हरेक म्युजिक भिडियोमा कही न केही कमी हुने भए पनि यस गीतमा कुनै कमी नराखेको दाबी गरिन् । उनले भनिन्, ‘गीतको म्युजिक भिडियोले मागेजति सबै रिक्वाइर्मेन्ट पूरा गर्ने कोशिष गरेका छौं ।’ अवस्थताका कारण उनी भने कार्यक्रममा उपस्थित भएकी थिइनन् ।
सुनको महल गीतको म्युजिक भिडियोका लागि १२ लाख खर्च भएको निर्देशक थापामगरले जानकारी दिए । टोलीले ‘सहरे कोलाहल’ नामक अर्को गीतको तयारी गरिरहेको जानकारी दिएको छ ।





