पोखरा/ २ वर्षअघि नायिका तथा निर्माता पूजा शर्माको टोलीले ‘म यस्तो गीत गाउँछु २’ को प्रचार प्रसारका लागि पोखरा आएका थिए ।
सुदर्शन थापाको लेखन तथा निर्देशनमा बनेको फिल्म फागुन ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारी हुँदै थियो । कलाकार पल शाह, पूजा शर्मा र निर्देशक सुदर्शन थापा प्रचारका लागि विभिन्न जिल्ला पुगेका थिए । तर, कोरोना महामारीका कारण चलचित्र प्रदर्शनी रोकियो । कोरोना महामारीले थलिएको मनोरञ्जनको क्षेत्र लामो समयसम्म बन्द रह्यो । अहिले पनि अवस्था सहज भने छैन । २ वर्षसम्म स्थगित गरिएको चलचित्र पुनः संचालन गर्ने तयारी भइरहेको छ ।
फागुन १३ गतेदेखि देशव्यापी प्रदर्शनीमा आउन लागेको चलचित्रको प्रचारका लागि यतिबेला ३ जनाको टोली पोखरा आएका छन् । पोखरामा हल बन्द छ भन्ने कुराले चिन्ति उनीहरु अहिले खुसी छन् । ‘फागुन १ गतेबाट हल खुल्छ भनेपछि हामी खुसी भएका थियौँ । पोखरामा हल खुलेको छैन हैभन्दा मन चसक्क भएको थियो’, उनले भनिन्,‘ मेरो दर्शक काठमाडौं मात्र होइन पोखरामा पनि छन् । हल खुल्योभन्दा निकै खुसी लाग्यो ।’ उनले अब भने जोखिम मोलेर नै चलचित्र प्रदर्शन गर्ने सुनाइन् । उता पल शाहले पनि पोखरामो हल बन्द भएको खबर पाउँदा निकै दुःख लागेको बताए । उनले चलचित्रका लागि पोखरा दोस्रो ठूलो सहर रहेको बताउँदै हल खुला हुँदा निकै हर्षित भएको प्रतिक्रिया दिए । ‘हामी २ वर्षअघि पनि फिल्मका लागि आएका थियौँ तर प्रदर्शनी रोक्न बाध्य भयौँ । अहिले पनि सुरुमा हल बन्द छभन्दा निकै दुःख लागेको थियो । तर, खुला रहेछ खुसी छौँ ।’
सांगीतिक प्रेमकथामा निमार्ण चलचित्रको सार्वजानिक भएका ३ गीत र टे«लरले निकै चर्चा पाइसकेको छ । फिल्ममा पल शाह संघर्षशील गायको भुमिकामा देखा परेका छन् । सुदर्शन थापा फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा निमार्ण भएको चलचित्रको सहायक निर्मातामा जन्मजय साम्पाङ राई, सिनेमाटोग्राफरमा सौरभ लामा, सम्पादनमा बनिशा शाह र मिलन श्रेष्ठ, संगीतमा अर्जुन पोखरेल र कोरियोग्राफरमा रामजी लामिछाने रहेका छन् । चलचित्रमा पल, पूजा, हरीहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल र गणेश गिरी लगायतको अभिनय रहेको छ ।





