बागलुङ/ कुनै बेला जनताका गीत गाउन भ्याईनभ्याई हुने जनवादी गायक जीवन शर्मा यतीबेला फुर्सदमा छन् । उनीसँग सिर्जना नभएर वा अरु कुनै कामको चापले भने उनलाई फुर्सद भएको होईन् ।
जनजीविकाका सवालमा जीवनको कपीका पानाहरुमा कोरिएका शव्दहरु बन्दक भएका छन् आजभोली । हिजो तीनै शब्द गाउँदा मात्रै बजार तात्थ्यो, परिवर्तनका लागि हुने आन्दोलनलाई बल पुग्थ्यो । र, त जीवनका गीतले सार्थकता पाउँथे । हिजो आवाज रेकर्ड गरेर संगीत मात्रै भर्दा जनताका घर घरमा उनका गीत पुग्थे । अहिले समय परिवर्तन भएको छ ।
‘क्यासेट र सिडी चल्ने बेला गीत गाए मात्रै पुग्थ्यो, भिडियो नभए पनि हुन्थ्यो, त्यहीं क्यासेट र सिडिबाट पैसा आउँथ्यो र खर्च उठ्थ्यो’ शर्मा भन्छन् ‘अहिले गीत संगीतको ट्रेन बद्लिएको छ, युटुवमार्फत मात्रै जनताको माझमा गीत पुग्छ, युटुवमा राख्न गीत तयार गर्न खर्च जुटाउनै समस्या छ ।’ गृह जिल्ला बागलुङका पत्रकारहरुसँग छोटो भेटघाटमा शर्माले पुँजीबादको मारमा नेपाली जनबादी गीत संगीत परेको गुनासो गरे ।
‘पैसा हुनेले गतिलो भिडियो बनाएर युट्युवमा अपलोड गरे जबरजस्त चल्छ, खर्च त्यहीँबाट उठाउँदा हुन्’ शर्माले भने ‘अडियोमा भएका र कपीमा लेखेर राखेका कयौं गीत भिडियो बनाउन नसकेकै कारण थन्काएर राखेको छु ।’ समाज परिवर्तनका लागि हुने आन्दोलनसँग जोडिने प्रगतिशिल गीत संगितहरु आन्दोलन चर्किँदा चर्किने र आन्दोलनहरु मथ्थर हुँदा गीतहरुको पनि कम चर्चा हुने गरेको अनुभव उनले सुनाए ।
गीत तयार गरेर जनताको माझमा पु¥याउने बेलासम्म हुने खर्च जुटाउन कठिन हुने गरेकै कारण जनवादी गीत संगीत सुस्ताएको उनले बताए । केही कलाकारहरुले प्रयोजक खोजेरै भएपनि गीत बजारमा ल्याएको भएपनि कयौं कलाकारहरु जनताका बेदनाको गीत गाउन छोडेर अहिलेको चलेका गीत गाउन बाध्य भएको उनको गुनासो थियो ।





