पोखरा / अन्य जिल्लाबाट पोखरा आएर तरक्की गर्ने गायक गायिका थुप्रै छन् । कलाकारिताको क्षेत्रमा मात्रै नभई व्यापार व्यवसायको क्षेत्रमा समेत प्रगती गरेको पाइन्छ । पोखरामा यहाँकै रैथाने भन्दा पनि बाहिरबाट आएकाहरुको बाहुल्यता बढी छ । प्राकृतिक रुपले स्वच्छ हराभरा पोखरा आउने हरकोहीलाई मोहित नबनाउने त कुरै भएन । साँस्कृतिक सम्पदा समेत धनी भएको पोखराको विशेषताले सबैको ध्यान खिचेको पाइन्छ ।
यहाँको सँगीतमा रम्नेहरुको जमात पनि बाक्लै छ । सुरतालमा मिठो लय हाल्नेहरु प्रशस्तै छन् । माछापुच्छे«को काखमा फेवातालको छायाँ त्यही छायाँ भित्र पोखराको न्यानो मायालाई अंगालेर बस्नेहरु धेरै छन् । पोखराले धेरैलाई धैरै क्षेत्रमा परिचित बनाएको छ । राजनीतिक, व्यवसाय, सामाजिक, साँस्कृतिक र साँगीतिक हर क्षेत्रमा छुट्टाछुट्टै परिचय भएका व्यक्ति हामी पाउँछौ ।
यस्तैमा आफ्नो साँगीतिक सपना बोकेर आज भन्दा १२ वर्ष पहिले पोखरा फिरेकी गायिका हुन् बसन्ती थापा ।
२०४५ साल माघ महिना २६ गते बुबा चुराबहादुर मस्र्याङगी र आमा सुबीसरा मस्र्याङगीको कोखबाट जेठी सुपुत्रीको रुपमा जन्मेकी बसन्ती उर्फ मस्र्याङगी मगर सानैदेखि गीतसँगीत प्रति सौखिन थिइन् । गीत संगीतमा लागेको परिवारले मन पराउँथेन । मनको खुलदुली मेट्न र सपना पुरा गर्न बसन्ती आज पनि सँगीत संघर्ष गरिरहेकी छिन् ।
साँगीतिक क्षेत्रमा आज पनि खुलेर लाग्नेहरु कमै छन् । सोच्न सकिन्छ, आज भन्दा १५ वर्ष अगाडी कस्तो थियो ? बसन्ती त्यतिबेला सँगीतमा लागिन्, जतिबेला ०६२ र ०६३ को जनआन्दोलन चर्किरहेको थियो । उनलाई न आन्दोलनको चर्काइले रोक्यो न त पहाडको चट्टानले छेक्यो । बस बगीरहिन् सँगीतको सागर भेट्न नदीजस्तै ।
कक्षा ८ पढ्दादेखीनै उनले गाउँन थालिन् । हरेक हप्ता शुक्रबार स्कुलमा हुने कार्यक्रममा उनको सहभागिता रहन्थ्यो । शिक्षाको मात्रै नभई सँगीतको समेत पहिलो पाठशाला बन्यो स्कुल । बसन्तीले गीत गाउँदा साथीहरुको तारिफ पाउँथिन् । ‘साथीहरुले त्यतिबेलानै सँगीत क्षेत्रमा तैले केही गर्छेस् भन्थे’, उनी भन्छिन् ,‘आज सँगीतनै मेरा लागि जिउने आधार बनेको छ ।’
पाल्पा छँदा कल्बले आयोजना गरेको कार्यक्रममा प्रस्तुती दिएबापत उनले पहिलो पटक ७ सय टिप्स पाएको सम्झिन्छन् । उक्त क्षेणनै उनका लागि अविस्मरणीय बन्यो । पहिलो पटक हजारौ दर्शक अगाडी गाएको गीत थियो ‘मस्र्याङदीमा फुल बगाम ।’
२०६६ सालको चैत महिना थियो । पाल्पाबाट उच्च माध्यमिक तहको अध्ययन सकेर बसन्ती पोखरा आइन् ।
त्यतिबेला गाउँमै छँदा कल्बले आयोजना गरेको कार्यक्रममा गायिका पार्वती जिसीसँग उनको भेट भएको थियो । जिसीले बसन्तीको स्वर मन पराएर पोखरा आउन सुझाएकी थिइन् । पार्वतीको कुरालाई आत्मसाथ गर्दै बसन्तीको पाइलाले पोखरा टेक्यो ।
पहिलो पटक पोखरा आएकी बसन्तीलाई कहाँ बस्ने, के खाने पत्तो थिएन । त्यतिबेला उनले पार्वतीको साथ पाइन् । जागिरको रुपमा बिसौनी दोहोरी साँझमा काम गर्न थालिन् । २५ सयबाट उनले दोहोरी साँझमा जागिर गरेकी हुन् । २०६७ सालबाट उनको दोहोरी साँझको यात्राले निरन्तरता लियो । जुन आज सम्म पनि यथावत छ । अक्सर एउटै दोहोरी साँझमा धेरै कलाकार टिक्न मुस्किल हुन्छ । तर बसन्ती पोखरा आएदेखि अहिलेसम्म एउटै दोहोरी साँझमा आबद्ध छिन् ।
बिचमा उनलाई काठमाडौं जाने इच्छा नआएको होइन । कलाकार बन्ने सपना बोकेर पोखरा आएकी बसन्तीलाई विभिन्न चुनौतीले काठमाडौं जाने सोच समेत बनाएको थियो । तर पछि पोखराको सुन्दरतामा उनी रमाउन थालिन् । विस्तारै चुनौतीहरुको सामाना गर्दै पोखराबाटै उनको सँगीत यात्राले गति लिन थाल्यो ।
पृथ्वीनारायण क्याम्पसमा स्नातकको अध्ययन गरिरहँदा उनले बिचमै पढाइ छाडिन् । सँगीतकै रमझमले उनलाई पढाइ प्रति त्यति इच्छा जागेन । कुनै समय पोखरालाई नचिन्ने बसन्तीलाई आज सिङ्गो पोखराले चिन्न थालेको छ । खुमन अधिकारी र बिष्णु माझीका गीत गाउँदै सँगीतमा हाम फालेकी बसन्तीका १ दर्जन बढी गीत रेकर्ड भएका छन् । कार्यक्रमकै शिलशिलामा नेपाल बाहेक ३ विदेशको भ्रमण उनले गरेकी छिन् ।
बसन्तीले २०६६ सालबाटै गीत रेकर्ड गराएकी थिइन् । त्यतिबेला अडियो चक्काको जमाना थियो । उनी बिचकी समयकी गायिका हुन् । उनको एल्बमको नाम थियो ‘भन अब म के गर्ने हा े?..’ । त्यसपछि ०६७ मा उनको ‘मेरै नाममा भगवान पुज्या छौ की छैनौ…’ गीत बजारमा आयो । गीतले केही हदसम्म सफलता पायो । ०६८ मा उनको दशैंको गीत आयो ।
उनको स्वरमा चलेको गीत ‘लालुपाते बामरी बसायो….’ हो । उक्त गीतमा सर्जक शिव हमालसँग उनको सहकार्य थियो । पन्चेबाजाका गीतमा समेत उनको आवाज सुन्न पाइन्छ ।
सँगीतमा लागेर बसन्ती सन्तुष्ट छिन् । भन्छिन्,‘सुरुमा गाह्रो थियो । १२ वर्ष संगीतमा लागेर केही गर्न सक्ने भएकी छु । संघर्षलेनै सबै कुरा सिकाउँदो रहेछ ।’
एकैचोटी चर्चामा आउनुभन्दा विस्तारै संघर्ष गर्दै आएको मज्जानै बेग्लै हुने उनी बताउँछिन् । चर्चाको पछाडी दौडिरहेको उनले आफ्ना कति अनुज कलाकारलाई भेट्छिन् । तर न उनमा चर्चाको लालसा छ, न त सँगीतप्रति वितृष्णानै । भन्छिन्,‘गर्दै जाउँ एकदिन सफल अवश्य भइएला नि ।’
सँगीतमै लागेर उनले मलेसिया, कुवेत र हङकङको यात्रा गरेकी छिन् । नेपालका थुप्रै मेलामहोत्सवमा समेत उनको आवाजले स्थान पाएको छ । तर संघर्ष अनुसार जति मेलामहोत्सव पाउनुपर्ने हो त्यति पाएकी छैनन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश ५ को सदस्य समेत रहेकी बसन्ती पनि मेलामहोत्सवमा हुने ठेक्कापट्टाबाट आजित छिन् । भन्छिन्,‘चिरपरिचतका कलाकारले ठाँउ पाउँदा, वर्षौ संघर्ष गरेको हामी जस्तो कलाकार विस्थापित भएको देख्दासुन्दा दुख लाग्छ ।’
नबुझेर रहरमा सँगीत क्षेत्रमा लाग्नुभन्दा बुझेर आउन नयाँ कलाकारलाई बसन्तीको आग्रह छ । सँगीतको साधनाले सफलता मिल्ने उनको अनुभव छ । बसन्तीले लामाचौरमा गएको तीज महोत्सवमा लामो समय दोहोरी साँझमा काम गरेबापत सम्मान पाएकी थिइन् ।





