पोखरा/ ‘प्रेमगीत ३’ का निर्देशक सन्तोष सेनले चलचित्र विकास बोर्डले आफनो सिनेमामाथि नियोजित षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले फिल्म चल्न नदिने तथा फिल्मको आम्दानीको कम प्रचार गर्नुलाई षड्यन्त्रको रुपमा अथ्र्याए ।
सिनेमाले विवादसँगै चर्चा र नाफा कमाएपछि देश दौडाहामा निस्केको युनिटले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक सेनले नेपाली चलचित्र हिन्दी भाषामा डबिङ भएकै कारणले आफूलाई असफल बनाउन चलचित्र बोर्ड लागिपरेको दोहो¥याए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूहरुमाथि फरक व्यवहार गरेको उनको जिकिर थियो । ‘हामीले विदेशमा राम्रो नतिजा पाएका छौँ तर नेपालमा सौतेनी व्यवहार गरिएको छ’उनले भने,‘हामीलाई अनावश्यक रुपमा विभिन्न बहानामा झुलाउन खोजियो । हामीले बक्स अफिसमा रेकर्ड समेत तोड्ने वाला छौँ तर बोर्डलाई यो कुरा पचेको छैन।’ सेनले मनाङ जिल्लामा छायांकन भएको चलचित्रलाइ गण्डकी प्रदेशको कुनै साथ नभएको दुखेसो समेत पोखे ।
भदौ ३० गते चलचित्र विकास बोर्डले बिहान ६ बजे फिल्म हल खोलेर राति ११ बजे बन्द गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गर्नु पनि ‘प्रेमगीत ३’ लाई असफल बनाउन लक्षित भएको निर्देशक सेनले जिकिर गरे ।
अभिनेता प्रदीप खड्काले बोर्डका अध्यक्ष भुवन केसीतर्फ संकेत गर्दै चलचित्र बोर्डले फिल्मको विकासका लागि भन्दा पनि विनाश गर्न उद्यत रहेको आरोप लगाए । ‘हामीले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रलाई लैजाने प्रयासमात्रै गरेका हौँ । यहाँ हामीलाइ संस्थागत साथ चाहिएको बेला उल्टै आलोचना र आक्रमणको सिकार भयौँ’, उनले भने,‘हामी आलोचनासँग डराएका होइनौँ । हामीलाई होम ग्राउन्डमा नै कसरी हुन्छ सिध्याउने खेल भयो ।’





