गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) ले आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गर्ने भएको छ ।संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो । जिफानका अध्यक्ष गुन्जबहादुर गुरुङका अनुसार पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसँग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिनेछ । सो कार्यक्रमबाट झण्डै ५ करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।
संस्थाका महासचिव लब्सन गुरुङले जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र सस्कृतिलाई जोगाउन उलेखनीय भूमिका खेलेको बताए । ‘२७ वर्षदेखि हामीले यस क्षेत्रबाट आफ्नो कला र संस्कृति जोगाउन लागिपरेका छौं । त्यसकारण हाम्रो योगदानको मुल्यांकन तमु धिं जस्ता गुरुङको अग्रणी संस्था, तमु पेंल्हु संघ तथा विभिन्न संघ संस्थाले गर्ने विश्वास लिएको छु। ’
उनले भने, ‘उहाँहरुले हाम्रो यस कदममा साथ अपिल गर्न चाहन्छु ।’ उपाध्यक्ष सन्तोष कोन्मेले कार्यक्रममा २०५२ सालदेखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रहरुको पोष्टर प्रोजेक्टर तथा बोर्डमार्फत प्रदर्शन अनि लोकप्रिय गायक गायिकाद्वारा गीत प्रस्तुत गर्ने कुरा जनाए ।
२०६५ सालमा स्थापना भएको जिफानमा हाल सम्म १६० वटा चलचित्र दर्ता भएको छ । २०५२ सालमा निर्माण भएको पाते पहिलो गुरुङ फिल्म हो ।





