बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लोकदोहोरी गण्डकी अध्यक्षमा पूर्ण, सीता र राजनको आकांक्षा

लोकदोहोरी गण्डकी अध्यक्षमा पूर्ण, सीता र राजनको आकांक्षा

प्रतिष्ठानको अधिवेशन माघ १६ गते पोखरामा हुँदैछ ।


  • राजाराम पौडेल
  • माघ १३ २०७९, शुक्रबार

पोखरा /राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको नयाँ नेतृत्वको लागि दौडधूप सुरु भएको छ । प्रतिष्ठान गण्डकीको दोस्रो अधिवेशनको मिति माघ १६ गतेलाई तोकिएपछि आकांक्षीहरु छलफल र भेटघाटमा व्यस्त हुन थालेका छन् । नयाँ नेतृत्वको लागि हालसम्म तीन जनाले आकांक्षा राखेको स्रोतले जनाएको छ । यसरी नेतृत्वमा आकांक्षा राख्नेमा पूर्ण परियार, सीता केसी र राजन कार्की रहेका छन् ।

जन्मथलो बागलुङ भएका परियार हालका वरिष्ठ उपाध्यक्ष हुन् । उनले प्रथम अधिवेशनमा अम्मर धिताललाई पराजित गरेका थिए । जन्मथलो स्याङजा भएकी केसी अघिल्लो अधिवेशनमा अध्यक्षमा ३८ मतले वर्तमान अध्यक्ष सुरेन्द्र गुरुङसँग पराजित भएकी थिइन् । जन्मथलो स्याङ्जा भएका कार्की हालका सचिव हुन् । उनी अघिल्लो अधिवेशनमा सर्वसम्मत भएका थिए । तीनैजनाले आफूले नेतृत्व पाउनुपर्ने दावी गर्दै लविङ सुरु गरेका छन् ।

नेतृत्वका आकांक्षीहरुबीच छलफल भइरहेपनि सर्वसम्मत नेतृत्व चयन हुने अवस्था देखिइसकेको छैन । अधिवेशनमा उम्मेदवार बन्न चाहने आकांक्षीहरुको बैठक प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्षद्धय प्रजापति पराजुली र पुरुषोत्तम न्यौपाने, वर्तमान सचिव जीवन दाहाल, पूर्वउपमहासचिव चोलेन्द्र पौडेल, वर्तमान केन्द्रीय सदस्य तारानाथ आचार्य र सरला पाण्डे, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष शंकर विरही गुरुङ र वर्तमान अध्यक्ष सुरेन्द्रको गुरुङको उपस्थितिमा हालै बसेको थियो । बैठक निष्कर्षमा भने पुग्न सकेन ।

अधिवेशनको दिनसम्म सर्वसम्मतको प्रयास जारी राख्ने बताइएको छ । नेतृत्वमा मात्र नभएर अन्य पदमा समेत आकांक्षीहरुको संख्या बढी हुँदा निर्वाचन मार्फत् नै नेतृत्व तथा पदाधिकारी तथा सदस्य चयन हुने सम्भावना बढ्न थालेको स्रोतको भनाइ छ ।

वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, केशव देवकोटा र शिवहरी ढुंगानाले आकांक्षा राखेका छन् । प्रथम उपाध्यक्षमा आरसी पौडेल र दिलु लामा, द्धितीय उपाध्यक्षमा जयनारायण लम्साल, होम गुरुङ, प्रेमराज अधिकारी र मीना गुरुङ, महिला उपाध्यक्षमा मञ्जु विक, इन्द्रा गुरुङ र सिता परियार, सचिवमा राम्जी पौडेल, महिला सचिवमा ज्योति लोहनी, कोषाध्यक्षमा कृष्ण सुवेदी, दीपक पौडेल र केशव घिमिरे, सह–सचिवमा टेक क्षेत्री, प्रेम बस्याल, दीपक गदाल र विमल जिसी, सह–कोषाध्यक्षमा निशा पोखरेल र अनिता पन्तको आकांक्षा रहेको छ ।

सदस्यमा टस गुरुङ, विकास नेपाली, विक्रम गुरुङ, ऋषि डुम्रे, सुनिता नेपाली, प्रकाश बराल, पदम घिमिरे उदासी, ज्ञानेश्वर सुवेदी, सविना गुरुङ, अमित विश्वकर्मा र मधु चापागाईले दावेदारी प्रस्तुत गरेका छन् । आकांक्षा राख्नेको संख्या अधिवेशनको दिनसम्म झनै बढ्न सक्नेछ ।

अधिवेशन यहीं माघ १६ गते पोखराको साइमन पार्टी प्यालेसमा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश विजीको प्रमुख आतिथ्यतामा हुनेछ । सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमसहित हुने अधिवेशनमा गण्डकी प्रदेशका ९ जिल्लाका झण्डै ३ सय प्रतिनिधिको सहभागिता रहने प्रतिष्ठान गण्डकीले जनाएको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङ जिल्लामा भने हालसम्म प्रतिष्ठानको जिल्ला शाखा गठन हुन सकेको छैन । देश प्रदेश संरचनामा गएपछि गण्डकी र धौलागिरी अञ्चल समितिलाई मर्ज गरेर गण्डकी प्रदेश समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->