पोखरा / तेस्रोे संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव शनिबारबाट पोखरामा सुरु हुँदैछ । माघ २१ गतेसम्म चल्ने महोत्सवमा कुल २१ नाटक मञ्चन हुनेछन् । महोत्सवको लागि कुल २९ वटा प्राप्त भएकोमा छनोट समितिले स्कृप्ट अध्ययन पश्चात १९ वटा नाटक छनोट गरिएको महोत्सव निर्देशक परिवर्तनले जनाए । यसका अलावा थप एक नाटक प्रोत्साहन स्वरुप र एक नाटक अतिथि नाटकको रुपमा महोत्सवमा मञ्चन गरिनेछ ।
‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुलमन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रदेशका ७ जिल्लाका नाटक छानिएका छन् । जसअनुमार कास्की जिल्लाबाट सबैभन्दा बढी नाटक छनोट भएका छन् । कास्कीबाट कुल १३ नाटक छानिएका थिए ।
कास्की जिल्लाबाट छनोट भएका नाटकमा प्रतिभा माध्यमिक विद्यालयको ‘यात्रा राजधानीको’, विन्ध्यवासिनी माध्यमिक विद्यालयको ‘तुलसी’, विन्ध्येश्वरी आदर्श बोडिङ स्कुलको ‘प्रत्यागमन’, करुणानिधी एजुकेशन फाउन्डेसनको ‘लौ आयो ताजा खबर’, छोरेपाटन माध्यमिक विद्यालयको ‘कन्यादान’, हिल प्वाइन्ट स्कुलको ‘छुने नजर’, प्रगति माध्यमिक विद्यालयको ‘करेसा कन्र्सट’, बालमन्दिर माध्यमिक विद्यालयको ‘आमाको माया’, नवदीप बोर्डिङ स्कुलको ‘दुइ देशको भीर गाथा’, भानुभक्त आवासीय माध्यमिक विद्यालयको ‘समय पीडा’, कास्की मोडनाइज्ड एकेडेमीको ‘पश्चाताप’, वेलनोन एकेडेमीको ‘जिउँदा अवशेषहरु’ र माछापुच्छ«े माध्यमिक विद्यालयको ‘चित्कार’ रहेका छन् ।
यसैगरी नवलपुरको देवचुली माध्यमिक विद्यालयबाट ‘परिवर्तनपुर’, लमजुङको विद्याज्योति माध्यमिक विद्यालयबाट ‘मुक्ति’, तनहुँको व्यास दिव्यज्योति बोर्डिङ स्कुलको ‘गुलेली मास्टर’, स्याङजा मिर्मी आधारभुत विद्यालयको ‘महिनावारी’, म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालय ‘जल्न नसकेको लास’ र बागलुङको रुद्रेपीपल माध्यमिक विद्यालयको ‘जिम्मेवारी’ नाटक महोत्सवको लागि छनोट भएका छन् । यसैगरी प्रोत्साहन स्वरुप नेपाल नमूना मध्यामिक विद्यालयको ‘विदेशको मोह’ र अतिथि नाटकको रुपमा ‘धुमधामको घुमघाम’ मञ्चन हुनेछ ।
वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समिति नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए ।
यस अगाडि दूई संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय स्तरिय नाटक महोत्सव भव्यताका साथ सम्पन्न गरेको थिएटरले पोखरा महानगरपालिकास्तरीय नाटक महोत्सव समेत आयोजना गरिसकेको छ । पोखरा थिएटर सञ्चालन पश्चात पोखरामा नियमित रुपमा नाट्य गतिविधि भइरहेका छन् । नाटक महोत्सवलाई भव्य बनाउन तयारीलाई तीव्रता समेत पारिएको आयोजकको भनाइ छ । छनोट भएका सबै नाटक गैह्रापाटन पोखरामा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।
महोत्सवको अवसरमा विद्यालयमा नाटक शीर्षकमा अन्तरक्रिया समेत आयोजना हुनेछ । प्रमिला आचार्य शर्माको सहजीकरणमा उद्घाटनको दिन शनिबार दिउँसो साढे २ बजे हुने अन्तरक्रिया कार्यक्रममा प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, एन प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ र रंगकर्मी केदार श्रेष्ठ वक्ताको रुपमा रहनेछन् ।





