पोखरा/‘फूलबारी’को छायाकंनको लागि चलचित्र युनिट २० दिन इलाममा रह्यो । बस्ने ठाउँ ‘बेसक्याम्प’बाट मुख्य छायाकंन स्थल पुग्न झण्डै आधा घण्टाको समय लाग्थ्यो । अभिनेता विपिन कार्कीले चलचित्रमा शिक्षण पेशाबाट रिटार्यड भएका जयनारायण सरको भूमिका निभाउनुपर्ने थियो । सो भूमिका निभाउन उनले बेसक्याम्पबाट नै मेकअप गरेर सोही अनुसारको ड्रेस लगाएर क्यारेक्टरमानै छायाकंन स्थलमा पुग्थे । चलचित्रमा उनको घर बनाइएका घरका वास्तविक घरधनी बुबा पनि भर्खरै शिक्षण पेशाबाट रिटायर्ड भएका शिक्षक थिए । कथाको वास्तविक क्यारेक्टर जस्तै ।
विपिनलाई त्यो गेटअपमा देख्दा उनी साच्चिकै शिक्षक पेशाबाट रिडायर्ड भएको जस्तो घरधनीलाई लाग्यो । विपिनले म भर्खर रिटायडै भएर फिल्म खेल्न आएको हो नि भन्दा घरधनिले पत्याउथे । अनि भन्थे ‘विपिन सर तपाइले त रिटायर्ड पछि कस्तो राम्रो काम पाउनुभएछ मलाई पनि त्यस्तै गर्नुन सर ।’ लगातार ८ दिनसम्म उनको घरमा छायाकंन गर्दा विपिनले आफ्नो वास्तविकता नभनी झुक्याए । फिल्मको छायाकंन समेत घरधनी बुबाको कोठामा हुन्थ्यो ।
घरधनीले फेरि सोधें ‘विपिन सर हजुर पनि निमाविबाट रिटायर्ड ?’ । अब केही न केहि उत्तर त दिनै प¥यो । ‘हैन सर म त माविबाट’ । अर्को दिन फेरि घरधनीले सोधे तपाई कति वर्ष पुग्नुभयो विपिन सर । त्यो प्रश्न घरधनीतर्फ नै सोझ्याउदै विपिनले भने तपाईं कति ? धरधनीले उत्तर दिए ६२ वर्ष । विपिनले जवाफ फर्काए ‘म ६३’ । यसरी उनले घरधनीलाई झुक्याइरहेको थिए । यसरी झुक्याउनुको कारण थियो वास्तविक कुरा भनियो भने उनीहरुले पत्याउँदैनन् । यसरी ढाँटेको कुरा अभिनेता विपिन कार्कीले सोमबार पोखरामा पत्रकार माझ खुलासा गरेका हुन् ।
‘यसरी झुक्याउँदा नराम्रो लागेको थियो । विश्वास गर्देनन् भनेर भुक्याएँ । घरधनी बुबालाई आफ्नै उमेरको मानिस भन्ने भान प¥यो । साह्रै राम्रो पेशा रहेछ भन्नुभयो । लास्टमा भने आफ्नो बारेमा सबै कुरा खुलस्त भनँे’, उनले भने ।
फिल्मका निर्देशक रामबाबु गुरुङसँग पहिलोपटक काम गरेको समेत अभिनेता कार्कीले बताए । ‘निर्देशक तथा प्रोडक्सन टीमका कारण चलचित्रमा आवद्ध भएँ । च्यालेञ्जिङ क्यारेक्टर पनि थियो । आफ्नो उमेरभन्दा पर गएर गर्नुपर्ने । अहिले आएर राम्रो प्रतिक्रिया पाएको छु । सुहाएको छ भन्नुहुन्छ’, उनले भने ।
टीमवर्कको कारण चलचित्र राम्रो बन्न सम्भव भएको उनको बुझाइ छ । चलचित्रको कथामा धेरै लेर्यस छन् । दर्शकलाई कथा आफ्नै जस्तो लाग्नेछ मनपर्नेछ । हरेक सिन आफ्नो घरको कथा हो भन्ने ठान्नुहुनेछ । उनको दावी छ ।
चलचित्रको लागि सबैले उत्तिकै मिहिनेत गरेकोसमेत उनले सुनाए । यो चलचित्रमा आवद्ध हुनु अगाडि नै समाचारबाट राजेश हमालले खेल्नु भएन, हरिवंश आचार्यले पनि भ्याउनु भएन भन्ने सुनेका विपिनले आफूलाई गरिएको प्रस्ताव अवसर ठाने । निर्देशक गुरुङको विश्वास टार्न खोजेनन् ।
जहिलेपनि चलचित्रमा नयाँ–नयाँ क्यारेक्टरमा रमाउने विपिनलाई यो च्यालेन्ज स्वीकार गर्नुपर्छ भन्ने लाग्यो । अनि काम गरे । फिल्ममा आफू भन्दा एक पुस्ता अगाडिको क्यारेक्टर भएपनि कल्चर तथा बडी ल्याङवयेजका कुरा थाहा भएकोले अलि सहज भएको उनको अनुभव छ । आफ्नो ‘बा’ लाई सम्झिएर काम गरेको उनले सुनाए ।
‘मैले मेरो बा स्म्झिएँ, अहिले हेर्दा पनि बा जस्तै लाग्छ । मलाई परिवारको मानिसले हजुरबा जस्तो देखिएको छस् भन्नुहुन्छ’, उनले थपे । आफुले जानेका टोन प्रयोग गर्ने अवसर समेत यसमा पाएकोले सजिलो भयो । यो फिल्म हिन्दी चलचित्र वागवान जस्तै हो भन्ने प्रश्नमा विपिनले वागवानसँग रिलेक्ट नहोस् भनेर प्रि–पोडक्सनदेखि सबैले मिहिनेत गरेको बताए । भारतको र नेपालको केही कल्चर मिल्ने भएकोले त्यस्तो लाग्नुृ स्वभाविक भएको उनको प्रतिक्रिया थियो ।
तपाईंको क्यारेक्टर हरेक फिल्ममा उस्तै–उस्तै देखिन थालेको छ भन्ने प्रश्नको जवाफमा उनले हरेक मानिसको आफ्नो स्टायल हुने र त्यो भाइब्स आउनु स्वभाविक हुने बताए । ‘हरेक मानिसको आफ्नो स्टायल हुन्छ, कलामा आफ्नो स्टाइलको भाइब्स आउनु स्वभाविक लाग्छ’, उनले भने ।
आफ्ना प्यार्टन वा आफ्नो स्टायल बनाउन कलाकारले जिन्दगीभर इफोर्ट लगाएको हुने उनको भनाइ छ । सोही कारण आफ्नो प्यार्टन नआए न्याय नहुने बताए । तपाई भित्रको रियल क्यारेक्टर पनि आउनुपर्छ । सबैको एउटा प्यार्टन हुन्छ । क्यारेक्टरमा त्यो मिस्सिनुपर्छ भन्ने विश्वास गर्छु त्यो हुँदाहुँदै पनि सेम गर्ने होइन फरक गुर्नपर्छ भन्ने सोच हो । उनले खुलाए ।
अभिनेत्री प्रियंका कार्कीले फुलवारी परिवारको कथा भएको बताइन् । ‘फिल्ममा परिवारको माया, प्रेम, सम्बन्धलाई देखाइएको छ कथामा अपनत्व पाइनेछ’, उनले भनिन् ।
कलाकार शिल्पा मास्केले नयाँ टीमसँग काम गर्न पाएको कारण उत्साहित बनेको सुनाइन् । ‘यो टीम मेरो लागि थियो । मलाई सान–साना फूलबारीको फूल महशुस भयो, सकारात्मक प्रतिक्रिया पाउने आशा छ’, उनले भनिन् ।
चलचित्रमा समावेश गीत दर्शकले मन पराएको गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले समेत खुशी प्रकट गरे ।आउँदो फागुन ५ गतेबाट नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकसाथ रिलिज हुन लागेको फिल्मको प्रमोसनल टुरका क्रममा प्रचार युनिटले पोखरामा यसरी खुलेर कुरा गरे । बुटबल हुँदै पोखरा आइपुगेका टोली अब चितवन, इटहरी र विर्तामोड पुग्नेछ ।
उपत्यका बाहिर फूलबारीको रेसपोन्स कस्तो छ भनेर बुझ्दा उत्साहजनक रुपमा लिएर पर्खिएको पाइएको चलचित्र युनिटको भनाइ थियो । चलचित्र पारिवारिक रहेको र हरेकको परिवारमा घट्ने साना–साना घटना तथा उतार चढाब भएको चलचित्र शिक्षामुलक रहेको समेत उनीहरुले सुनाए । रामबाबु गुरुङ निर्देशित चलचित्रमा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनीष ढकाल, शिल्पा मास्के, सोमनाथ खनाल, अरुणा कार्की, गौमाया गुरुङलगायतको अभिनय हेर्न पाइनेछ । चलचित्र यशोदा फिल्म्सको व्यानरमा निर्माण भएको हो । २० दिन इलाममा छायांकन भएको चलचित्रको काठमाडौंमा १५ दिन छायाकंन भएको थियो ।
तस्विर ः राजाराम पौडेल





