पोखरा/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनमा अध्यक्षमा पराजित भएका पूर्ण परियारले प्रेस विज्ञप्ति प्रकाशित गरी नयाँ कार्यसमितिलाई बधाइ दिएका छन् । बागलुङ जन्मथलो भएका परियार अधिवेशनमा ५ मतान्तरले पराजित भएका थिए । विज्ञप्ती मार्फत उनले आफ्ना मनका केही भनाई बाहिर ल्याएका छन् । लोकतान्त्रिक पद्धती मार्फत भएको निवार्चनमार्फत् आएको परिणाम सहर्ष स्वीकार गर्दै उनले केही वाचा समेत गरेका छन् ।
विज्ञप्तिमा उनी लेख्छन्,‘प्रतिष्ठान गण्डकी प्रदेशको दोश्रो अधिबेशनमा वरियताको आधारमा मेरो उम्मेदवारी अध्यक्ष पदमा रहेको थियो । मेरो उम्मेदवारी वरियतामा मात्रै नभएर मेरो लामो सिकाइलाई संस्थागत विकास र सुदृढीकरणका लागि थियो र उक्त उद्देश्य लक्षित आदरणीय प्रतिनिधि ज्युहरुले देखाउनु भएको अमुल्य माया, प्रेरणा उत्साहलाई सम्झेर अहिले पनि म गद्गद् छु । सर्वसहमतिको प्रयास लगभग सफल भएको थियो अध्यक्ष पदका अर्का आकांक्षी मेरा मित्रले मलाई अध्यक्ष पदमा स्वीकार्नु भएकै थियो उहांको सद्भावप्रति फेरि पनि कृतज्ञता ज्ञापन गर्दछु ।
जो जसलाई सर्वसहमतिको निर्णयले चित्त बुझ्न सकेन र हामीलाई निर्वाचनमा होमिन बाध्य तुल्याउनु भयो उहाँहरुप्रती भन्नू केही पनि छैन, यो सबै समयले निर्णय गर्नेछ ।’
प्रतिष्ठान निर्माणमा बिगत २०६४ साल भाद्र १५ गते देखिको यात्रामा २ कार्यकाल प्रतिष्ठान बागलुङको जिल्ला सचिव, १ कार्यकाल बागलुङ जिल्ला अध्यक्ष, २ बर्ष धौलागिरी अञ्चल महासचिव १ बर्ष गण्डकी प्रदेश संस्थापक सचिव र १ कार्यकाल गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्ष हुंदै यहाँसम्म आउंदा आदरणीय अग्रजहरुको मार्गदर्शनसहितको आशीर्वाद, समकालीनहरुको साथ एवम् अनुजहरुको सम्मानले जीवनको उर्जाशिल समय प्रतिष्ठानमा बितेको पत्तै नपाएको उनले बताएका छन् ।परियारले प्रतिष्ठान निर्माणमा आफू सदैव तल्लिन रहेन वाचा गरेका छन् ।





