पोखरा /गीत लेखन सजिलो छैन । यसको लागि निकै मेहनत गर्नुपर्छ । लामो समय घोत्लिनुपर्छ । शब्दहरु सिर्जना गर्नुपर्छ । लयमा ढाल्नुपर्छ । गीत तयार भएर गायक गायिकाको हातमा पुग्छ । संगीतकारले त्यसमा धुन मिसाउँछन् । गायक–गायिकाले स्वर भर्छन् । गीत सार्वजनिक भएपछि गायक–गायिका सोही गीतमार्फत् चिनिन्छन् । मनग्गै आम्दानी गर्ने अवसर पाउँछन् । गीत सुन्ने श्रोता दर्शकले गीतको शब्द मुखाकार गर्छन् । गुनगुनाउँछन् तर कसले लेखेको त्यती ख्याल गर्दैनन् ।
गीतबाट एकदमै कमैमात्रामा गीतकारको प्रचार हुन्छ । गीतकारलाई चिन्ने भेट्ने अवसर जुर्दैन । गीतकारले गीत रचनाका प्रसंग गीत मनपराउने दर्शक श्रोतालाई भन्न पाउँदैनन् । यसरी पर्दा पछाडि परेका गीतकारलाई पर्दा अगाडि ल्याएर सबैमाझ साक्षात्कार गराउने कार्यक्रम थालेको छ, गीतकार प्रतिष्ठान नेपालले । प्रतिष्ठानले गीतकारलाई साक्षात्कार गराउने मात्र हैन आफ्नै आवाजमा गीत वाचन गर्न लगाउँछ । विभिन्न परिवेशमा लेखिएका गीतको जन्म कसरी भएको थियो सबैले थाहा पाउने अवसर पाउँछन् ।
यहीं क्रममा शनिबार पोखरामा गीतकार राजकुमार बगर एकल गीत वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यक्रमा गीतकार प्रतिष्ठान नेपालले यो अवसर जुराएको थियो । कार्यक्रममा गीत सुन्न पोखराका स्थापित साहित्यकारदेखि अनुज साहित्यकारहरु जम्मा भएका थिए । साथै गीत मनपराउने श्रोता दर्शकको उपस्थिति पनि तहाँ देखिन्थ्यो ।
कार्यक्रममा गीतकार बगरले आफ्ना दुई दर्जन गीत वाचन गरेर सुनाए । आफ्नो मनमुटुमा बास बसिसकेको गीत गीतकारले वाचन गर्दा उपस्थित दर्शक नौलो मानेर सुनिरहेका थिए । उनीहरुले गीत मात्र नभएर ती गीत रचना हुने समयका प्रसंगहरु बुझ्न पाए । आफ्नो चर्चित गीत उडेर जुन छुन्छु भन्थे बाट वाचन कार्यक्रम सुरु गरेका उनले तिमी माछापुच्छ«े जस्तो, तिमीलाई आफ्नो भन्ने, तर्कियौ तिमी चर्कियो भाग्य, घाम र रातको भेट, उदाइरहनु चन्द्र सुर्य, बदलियौ तिमी, रुन त तिमी पनि रोयौ, तिमी छौ र पो, यता कुलो काट्दा लगायतका गीत सुनाउदै दर्शकको ध्यान तानें । गीतहरु प्रस्तुत गर्दा गीत सिर्जना गर्नुको कारण, घटना, विषयवस्तुको बारेमा समेत बताए ।
सोही कार्यक्रममार्फत् आफुले नामको पछाडि बगर राख्नुको रहस्य समेत खुलाए । २०४६ सालमा राजकुमार राना भएर पोखरा आएको भएपनि पोखराको बगरमा बसेपछि राजकुमार बगर बनेको खुलाए ।
‘मलाई बगर बनाउने नदि जस्तो समय थियो । समयका छालहरु जसले मलाई बालुवा जस्तै पछारे, थेचारे । हुनत स्कुल पढ्ने क्रममा एउटै कक्षामा दूइजना राजकुमार राना नाम गरेका विद्यार्थी भएपछि देशभरी यो नाम हुने कति होलान् भन्ने सोच आउथ्यो । मनमा म छुट्टै नाम बनाउँछु जुन कसैको नहोस् भन्थे । अनि खोजी सुरु गरें । सोही समयमा जिन्दगी खोला जस्तै बगिरहेछ गीत आयो । गीतमा भनिएको त्यहीं कथनसँग सहमत भए । जिन्दगीले मानिसलाई कहिले बगाउँछ, कहिले भिजाउँछ कहिले थुपार्छ, कहिले छुटाउँछ । कहिले किनारामा लगेर थेचार्छ, यस्तै हो जिन्दगी पनि भन्दै नामको पछाडि बगर राखे’ उनले भने । उनले आफ्नो महत्वपूर्ण कामको थालनी पोखराबाटै सुरुवात भएको समेत बताए ।
कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गीतकार प्रतिष्ठान नेपालले नयाँ परम्पराको थालनी गरेको भन्दै प्रसंशा गरें । ‘गीत साहित्यको अमुल्य विधा हो । श्रष्टालाई नै उभ्याएर उनका गीत उनीबाटनै वाचन गराउने एउटा नयाँ परम्परा थालेको छ । यो नयाँ परम्परा हो । यो परम्पराले गीतको महत्वलाई बुझ्नको लागि यस्तो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्दछ’ उनले भने ।
साहित्यकार जीवनसागर भण्डारीले राजकुमार बगर निरन्तर कर्ममा लागेर चुली चुमेको प्रतिभा भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अनुराग अधिकारीले गरेका थिए । २०७७ चैत्र ६ गते दर्ता भएको संस्थाले यस अगाडि गीतकार तीर्थ क्षेष्ठको एकल गीत वाचन कार्यक्रम सम्पन्न गरेको थियो । छायाँमा पर्दै आएका गीतकारलाई साक्षात्कार गराउने कार्यलाई निरन्तर अगाडि बढाउने गीतकार प्रतिष्ठानको तयारी छ ।





