बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘क्यारेक्टर बनेर हँसाउन सहज लाग्छ’

‘क्यारेक्टर बनेर हँसाउन सहज लाग्छ’


  • राजाराम पौडेल,
  • बैशाख २६ २०८०, मंगलबार

पोखरा/दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै प्रस्तुत गरिने स्ट्यान्ड अप कमेडीप्रतिको आर्कषण नेपालमा बढ्न थालेको छ । तुलनात्मक रुपमा हेर्दा अन्य पुस्ताभन्दा युवा पुस्ताको क्रेज यस तर्फ बढी देखिन्छ । स्ट्यान्ड अप कमेडी मार्फत् दर्शकलाई मनोरञ्जन दिन सजिलो भने छैन । विषयवस्तुको गहिराइमा पुगेर त्यसलाई सुन्दर प्रस्तुतिमार्फत् कथामा उतार्न सक्ने खुबी यस्ता प्रस्तुति राख्ने कलाकारमा हुनुपर्दछ । अनिमात्र कलाकार दर्शकको नोटिसमा पर्छन् ।

टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियनले मात्र नभएर कमेडी क्लबलगायतका कार्यक्रमले झनै यसतर्फको आर्कषण थपिदिए । फलस्वरुप पछिल्लो समय बच्चादेखि वृद्धसम्मको ध्यान स्ट्यान्ड अप कमेडीले खिचेको छ ।

स्ट्यान्ड अप कमेडीको माध्यमबाट दर्शकको मन जित्दै यो क्षेत्रमा अगाडि बढ्दै गएका एक प्रतिभा हुन्– विष्णुप्रसाद गौडेल । टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियनबाट चर्चामा आएका उनले कमेडी क्लबमार्फत् समेत दर्शकको माया बटुल्दै गएका छन् । वास्तविक नाम विष्णुप्रसाद भएपनि मेक्समका नामले दर्शकमाझ उनी परिचित छन् ।
उनले नाम परिवर्तन गर्नु परेको अरुसँग नाम नजुधोस् भनेर नै हो । किनकि नेपालमा विष्णु ‘कमन’ नाम हो । उनलाई कसैले नामले बोलाउँदा आफूमात्र पछाडि फर्कन पाऊँ भन्ने लाग्थ्यो । ‘प्रवेशिका परिक्षा दिएपछि तीन महिना कम्प्युटर सिक्न थालें । भर्खरै फेसबुक एकाउन्ट बनाउने चलन आएको थियो,’उनले भने,‘गौडेल भन्ने एकाउन्ट बनाएँ । यो नाम धेरै जनासँग मिलेकोले फरक देखिने रहरले मेक्सम नाम आफैले न्वारन गरें ।’ उनले खुलाए ।

नयाँ काम गर्न तर्फ बाल्यकालदेखिनै रुचि थियो । पढाइमा अब्बल रहेका उनलाई गाउन र नाँच्न औधी मनपथ्र्यो । कक्षा ६ कक्षा पढ्दादेखि साथीहरुलाई हँसाउन सुरुवात गरे । त्यतिबेला हास्यव्यङ्ग् गीतमा नाँचेर हँसाउने प्रयास गर्थे । यसरी प्रस्तुति राख्दा पाएको साथ सर्पोट कै कारण उनले कला क्षेत्रलाई सानैदेखि रुचिको विषय बनाए ।
प्रवेशिका परिक्षा पश्चात रेडियो आँधीखोलामा काम सुरु गरे । हाँस्यव्यङ्गसहितका कार्यक्रम सञ्चालन गरे । उनको प्रस्तुतिले श्रोताको ध्यान खिच्थ्यो पनि । टेलिभिजनको पर्दामा देखिने रहर बुनेका उनले त्यसपछि वालिङ टेलिभिजनमा काम गरे ।

सञ्चार क्षेत्रमा मात्र नभएर उनले इस्योरेन्समा जागिर समेत गरे । सुरुमा नेको इन्सुरेन्स लिमिटेडमा काम गरेका उनी पछि लुम्बिनी जनरल इन्स्योरेन्सको स्याङ्गजा इन्चार्ज भए । ‘त्यही बेलामा नेपालमा पहिलो कमेडी रियालिटी सो कमेडी च्याम्पियन आउने समाचार पढें,’उनले भने,‘प्रतियोगितामा भाग लिने हुटहुटी जाग्यो । सेलेक्ट भएर उपाधि जित्छु छै भन्ने नभएपनि प्रयास गर्न मन लाग्यो ।’ प्रतियोगिताको निर्णायक प्रदीप भट्टराई, मनोज गजुरेल, सन्तोष पन्त, ऋचा शर्मा र होष्ट रिमा विश्वकर्मा हुने भनिएकोले झनै उत्साहित बनेका थिए रे उनी । एकपटक उनीहरुसँग प्रत्यक्ष भेट्ने रहर थियो । स्याङजाबाटै डिजिटल अडिसन दिए । तीन मिनेटसम्मको भिडियो खिचेर पठाउनुपथ्र्यो । हजारौ मध्येबाट सयौं सेलेक्ट गरिथ्यो । डिजिटल अडिसन दिएका उनलाई फिजिकल अडिसनको लागि सेलेक्ट हुनुभएको छ काठमाडौं आउनुपर्छ भनेर फोन आयो । ‘मनमा उत्साह थपियो । केही सपना बोकेर काठमाडौं हानिएँ,’उनले सुनाए । उनले निर्णायकलाई भेट्न मात्र पाएनन् उनीहरुको अगाडि प्रत्यक्ष रुपमा पर्फमेन्स गर्न पाए ।

यसरी पर्फमेन्स गरेपश्चात केही समयको अन्तरालमा उत्कृष्ट २४ को नाम निस्कियो । यसमा उनी अटे । थप मिहिनेत गर्न थाले । त्यसपछि उत्कृष्ट १५, उत्कृट १०, उत्कृष्ट ४ सम्म पुगे । आकांक्षा बढ्न थाल्यो । सर्वोत्कृष्ट बन्ने सपना देख्न थाले । तर, उनी उत्कृष्ट ४ बाट अगाडि बढ्न सकेनन् । उनीबाहेक ३ जनालाई फाइनलमा लगियो । यसले उनको मन भने अमिलो भयो । साथमा अन्यौल समेत थपियोे । अब के गर्ने । यतिकै यात्रा रोक्ने कि फेरि सुरुवातबाट फर्किएर अर्को सिजनमा भाग लिने ?

मेक्सम फाइनलमा त पुगेनन् । तर। फाइनलमा पुगेका तीन सहित उत्कृष्ट पाँचजनालाई प्रस्तुति राख्नको लागि वल्ड टुर लैजाने, स्टेज पर्फम गराउने भनेर तय भएको सेडुअल समेत कोरोनाका कारण सम्भव भएन । यसबाट समेत उनलाई केही निरासा बनायो ।

हुन त, उनले प्रतियोगितामा भाग लिएर थप खारिने मौका मात्र पाएनन् यो क्षेत्रलाई बुझ्ने र नयाँ तथा पुराना कलाकार चिन्ने अवसर पाए । कन्टेन्ट राइटिङको बारेमा मसिनो गरी बुझे । स्क्रिप्टमा क्यारेक्टर र क्यारिकेचरलाई कसरी मिसाउने भन्नेदेखि लिएर धेरैं नयाँ जानकारी पाएकोले यो यात्रा उपलब्धिमूलक भने बनेकै थियो ।

पछि मनोज गजुरेलको साथले गाइजात्राका सामग्री रेकर्ड गरेर यात्रा अगाडि बढाए । लगत्तै एक दुईवटा सो गरे ।
कमेडी च्याम्पियन सिजन–२ आउने भयो । सिजन–२ मा निर्देशक विशाल भट्टराईले होस्टिङ गर्ने अवसर मेक्समलाई दिए । त्यसपछि भने उनको यात्राले पुनः लय समाउन पायो ।

फेरी कमेडी क्लब आउने भयो । त्यहाँ पनि उनको नाम प¥यो । यसरी उनको यात्राको अन्योलता कमेडी च्याम्पियन सिजन–२ र कमेडी क्लबले चि¥यो । कमेडी क्लब ६० भन्दा बढी एपिसोडमा पुगिसकेको छ । ५२ एपिसोडको लागि सुरुवात गरिएको भए पनि अब ६९ एपिसोडसम्म चल्नेछ । यसका केही एपिसोड मात्र सुटिङको लागि बाँकी छ । पहिलो सिजनका कार्यक्रम असारसम्म सकिन्छन् । कमेडी च्याम्पियनमा सिकेको ज्ञान अहिले कमेडी क्लबमा मज्जाले प्रस्तुत गर्न पाएका छन् ।

यो लगत्तै बीचमा कमेडी च्याम्पियन सिजन–३ आउनेछ । केही महिनाको विश्राम पछाडि कमेडी क्लबको सिजन–२ सुरु हुनेछ । सिजन–२ थप परिमार्जित भएर आउने उनले बताए । यी कार्यक्रमहरुमा उनको व्यस्तता रहनेछ ।
स्ट्याण्ड अप कमेडीमार्फत् फरक पात्र बनेर कुनै पनि क्षेत्रको हाँस्य र व्यङ्ग दुईचिजलाई स्क्रिप्ट बनाएर प्रस्तुत गर्न सक्ने खुबी उनमा छ । त्यसो त अहिले दर्शक धेरंै चतुर छन् । सोही कारण कन्टेन र प्रस्तुति सुन्दर बनाउन धेरै मिहिनेत गर्नुपर्छ । ‘अहिलेका दर्शकले समसामयिक विषयमा हाँस्य र व्यङ्ग्य खोज्नुहुन्छ । हँसाउने मात्र हैन व्यङ्ग पनि हान्नुपर्छ,’ उनले भने ।

मेक्समलाई सानैदेखि एउटा कलाकार बन्छु भन्ने सपनाले हिट गर्ने गरेको थियो । ‘यसरी हिट गर्नुको कारण कलाकारिता क्षेत्रमा अगाडि बढ्दा हरेक खालको भुमिका निर्वाह गर्दै ति क्यारेक्टरको वास्तविक जीवनमा पुग्न पाउनु नै हो । कामको हिसाबले जीवनमा एउटा, दुईवटा चिज अगाल्न मिल्छ । तर, कलाकारिता क्षेत्रले हरेक भुमिका निर्वाह गर्ने अवसर पाउँछ । त्यसैले तान्यो,’ उनले भने ।

सानैदेखि एकपटक टेलिभिजनमा देखिने तथा स्टेजमा उभिएर आफ्ना दर्शकलाई हँसाउने जुन सपना थियो । त्यो सपना विस्तारै पहिलो, दोस्रो खुड्किोलो हुँदै माथि चढेको छ । शिखरमा पुग्न अझै लामो समय यहीं क्षेत्रमा बसेर काम गर्ने उनको योजना छ ।

गौडेलको जन्म २०५२ सालमा स्याङ्जा जिल्लाको वालिङ–३, ढाबखोलामा भएको हो । हाल वालिङ–८ विपीचोकमा बसोबास छ । खगुपति गौडेल र टीका गौडेलका चारजना छोराछोरी मध्येका तेस्रो सन्तान उनी हुन् । उनका दाइ, दिदी र बहिनी छन् । उनलाई अगाडि बढ्न पारिवारिक सर्पोट निरन्तर रहेको छ ।

उनले लेखाइ र अभिनयको हिसाबले चलचित्र क्षेत्रको यात्रा समेत सुरु गर्दैछन् । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा केही नयाँ मानक स्थापित भएका छन् । कमेडियन मिलेर चलचित्र बनाउन सक्ने मात्र नभएर त्यस्तो चलचित्र दर्शकको रोजाइमा पर्न सक्छ भन्ने कुरा स्थापित भैसकेको छ । जसको कारण मेक्सममा पनि जोश बढेको छ ।
‘सानैदेखि अभिनयको माध्यमबाट पर्दामा देखिन रहर भएको कारण चलचित्रमा काम गर्न मन छ । केही अवसर आएको छ । राइटिङको हिसाबले केही समयमानै सुरु हुँदैछ । अभिनयको हिसाबले केही पछि गर्छु,’ उनल खुलाए । उनले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

टेलिभिजन र चलचित्रमा मात्र नभएर नाटक तर्फ समेत उनी आर्कषित छन् । त्यहीं भएर अभिनयको क्लास लिए । काम गर्ने अवसर पाए । रंगकर्मी अनुप बराल क्लास लिएका उनले रंगमञ्चतर्फको यात्रालाई समेत मिलाएर लैजाने सोच बनाएको खुलाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->