बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

महेशको करियरमा इट्टा थप्न सफल ‘हल्कारा’

महेशको करियरमा इट्टा थप्न सफल ‘हल्कारा’

‘बिजनेसको पाटोबाट भन्दा पनि देशको प्रतिनिधित्व गरेको सिनेमा धेरै नेपालीलाई देखाउने रहर छ ।


  • राजाराम पौडेल
  • बैशाख २९ २०८०, शुक्रबार

शुक्रबारबाट देशभर प्रदर्शन हुँदै ।

अभिनेता महेश त्रिपाठीले अभिनय गरेको पहिलो फिल्म हो,‘हल्कारा’ । यही फिल्ममा अभिनय गरेर फिल्मी करियर सुरु गरे । त्यसपछि उनले चपलि हाइट–३ मा अभिनय गरे । तर प्रदर्शनको हिसाबले हल्कारा उनको तेस्रो फिल्म बनेको छ । जुन फिल्म शुक्रबारबाट देशभर रिलिज हुँदैछ । उनले अभिनय गरेको फिल्म चपली हाइट–३ र प्रसाद–२ समेत प्रदर्शन भैसकेको छ ।

छायाकंन भएको लामो समयपछि रिलिज हुन लागे पनि यो फिल्मले उनको करियरमा महत्वपूर्ण इट्टा थप्न सफल भएको छ । उनी भन्छन् ‘हल्कारा अभिनयको हिसाबले मेरो पहिलो फिल्म हो, एक हिसाबले यहीं फिल्म बाट फिल्मी करियर सुरु भएको हो र मेरो करियरमा महत्वपूर्ण इट्टा थप्न सफल भएको छ ।’

त्रिपाठीले यसै फिल्मबाट ५५ औं वल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट अभिनेताको अवार्ड हात पारिसकेका छन् । सोही कारण समेत उनी फिल्मलाई लिएर उत्साहित छन् । ‘यो फिल्मले मलाई धेरै कुरा दिइसकेको छ, करियर कता लैजाला भन्न त सकिँदैन’ ढोरपाटन दैनिकसँग उनले भने ।

फिल्मले कति व्यापार गर्छ भन्ने पाटोबाट भन्दा पनि देशको प्रतिनिधित्व गरेर विदेशबाट अवार्ड हात पार्न सफल भैसकेको फिल्म धेरैं नेपालीलाई देखाउने रहर भएको उनले खुलाए । ‘बिजनेसको पाटोलाई अहिले धेरै महत्व नदिऊँ, हाम्रो देशको प्रतिनिधित्व गरेर विदेश गएको कारण धेरै नेपालीलाई फिल्म देखाउने रहर छ’,उनले थपे । अभिनयको हिसाबले क्यारेक्टरलाई न्याय गर्ने प्रयास गरेको उनी बताउँछन् ।
फिल्म हल्काराले अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको थियो । यसरी सहभागिता जनाउँदा नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म बन्यो । फ्लिकर रोड आइल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भयो ।

त्यसो त अभिनेता त्रिपाठी सानो उमेरमानै रोर्वट बनाएर चर्चामा आएका व्यक्ति हुन् । पोखरा महानगरपालिका वडा नम्बर २४ मौलामा जन्मिएका त्रिपाठी बाल्यकालदेखिनै फिल्मी क्षेत्रप्रति उतिकै आर्कषित थिए । त्यतिबेला अहिले जस्तो हलमा पुगेर फिल्म हेर्ने कल्चर लगभग थिएन । फिल्म हेर्न कुरा गरियो भने छोराछोरी विग्रियको भन्ने बुझिन्थ्यो । उनले कक्षा नौ मा पढ्दा किताब किन्छु भनेर घरमा बुबालाई ढाँटेर त्यही पैसाले फिल्म हेर्ने गर्थे ।

एसएलसी उत्तीर्ण भएपछि इञ्जिनियरिङ अध्ययन गरें । उनको मनबाट फिल्म प्रति आर्कषण रत्तिभर घटेको भने थिएन । इन्जिनियरिङ अध्ययन पश्चात फिल्म क्षेत्रमा लाग्ने सोचले उनी काठमाण्डौ हानिए । कसैसँग चिनजान थिएन । नेटवर्किङ थिएन । काठमाडौं बसाइमा टिभी सिरियलमा काम गरेका निर्देशकसँग उनको भेट भयो । केही बुझ्ने मौका पाए । सिरियलभन्दा उनलाई फिल्म क्षेत्रमानै अगाडि बढ्ने हुटहुटी थियो । सोही कारण स्वयं अध्ययनले मात्र फिल्म क्षेत्रमा पुग्छ भन्ने उनलाई लागेन ।

सिरियल भन्दा फराकिलो क्यानभास फिचर फिल्ममा हुन्छ भन्ने बुझेर यो क्षेत्रमा स्थापित हुन पढ्नुपर्छ भन्ने निष्कर्षमा उनी पुगे । इञ्जिनियरिङमा व्याचलर गरिसकेको व्यक्तिले फेरि फिल्ममा व्याचलर गर्ने कि नगर्ने दोधार भयो । अन्त्यमा अध्ययन गरी छाड्ने निर्णयमा पुगे । तुरुन्तै फिल्म कलेजमा भर्ना भए । तहाँ फिल्म सम्बन्धी अध्ययन गरे । अभिनय गर्ने क्रम सुरु भयो । अध्ययनमा मात्र सीमित भएनन् । थिएटरमा पुगेर अभिनय कलामा थप निखारता थपे ।

उनले हालसम्म करिब पाँच सय जति छोटा फिल्ममा अभिनय गरें । ति फिल्म स्वदेशी तथा विदेशी फिल्मी महोत्सवमा समेत छनोट भएका छन् । केही विदेशी फिल्ममा समेत उनले अभिनय गरें । युरोपियन, अमेरिकन, जापानीज निर्देशकसँग संगत गर्ने अवसर उनलाई मिल्यो । त्यसले समेत उनलाई करियरमा सहजता बनायो ।

उनलाई ओस्कार इन्टरनेशनल कलेजमा फिल्म सम्बन्धी अध्ययन गर्ने विद्यार्थीमाझ प्राध्यापन पेशा मार्फत आफ्नो ज्ञान समेत बाड्ने अवसर मिलिरहेको छ । समाजमा रहेका कथाहरुलाई फिल्मका माध्यमबाट विश्वभर पु¥याउने त्रिपाठीको सपना छ । उनलाई समाजको चरित्र निर्वाह गर्न मन लाग्छ । त्रिपाठीले अभिनय गरेका दूईवटा फिल्म प्रदर्शनको क्रममा छन् । नयाँ दूई फिल्ममा काम समेत उनले गर्न लागेको जनाए ।

प्रविधिको कारण घर–घरमा पुगेर चिठ्ठी पु¥याउने चलन हराएपनि यसरी चिठ्ठी पु¥याउने हुलाकी अर्थात हल्काराको कथामा फिल्म बनेको फिल्मले प्राप्त गरेका सफलतासँगै यस फिल्मप्रति धेरैको चासो बढेको छ । हल्कारा पात्रको भुमिका त्रिपाठीले निभाएका छन् । हल्कारामा त्रिपाठीसँगै बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको कलाकारको अभिनय हेर्न पाइन्छ । विक्रम सापकोटाले फिल्मको लेखन सँगै निर्देशन गरेका छन् ।

कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको फिल्मको छायाँकन पोखरा आसपासका केही ठाउँ, तनहुँको बन्दिपुर र काठमाडौंमा गरिएको निर्माण पक्षले जनाएको छ । प्रिमियर सो मार्फत काठमाण्डौमा फिल्म हेरेका दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाका कारण समेत टिम उत्साहित देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->