बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘हुक्का’ पोखरेली प्रोडक्ट

‘हुक्का’ पोखरेली प्रोडक्ट

शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदै


  • राजाराम पौडेल
  • जेष्ठ १२ २०८०, शुक्रबार

पोखरा/फिल्म नगरी पोखराको प्रोडक्टको रुपमा रहेको नेपाली फिल्म ‘हुक्काःएन एब्जर्ड ड्रिम’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । यो फिल्म शम्भु थापाको निर्देशनमा तयार भएको हो । यस अगाडि फिल्म निर्माताको अनुभव बटुली सकेका थापाको यो डेब्यु निर्देशन हो । त्यसो त उनको कलाकारिता क्षेत्रको यात्रा नाटकबाट सुरु भएको थियो ।

स्पाइनी बाबलर क्रियसनले ह्यास ट्याग नेपालसँगको सहकार्यमा हुक्का फिल्म निमार्ण गरेको हो । सबै कुराको लागि संघीय राजधानीमा नै बस्नुपर्छ भन्ने छैन । मोफसलमा नै बसेरै स्थापित हुन सकिन्छ भन्ने उद्धेश्यले स्पाइनी बाबलर क्रियसन कम्पनी दर्ता भएको थियो । यो कम्पनी दर्ता गर्नुको कारण पोखराबाटनै केही गर्नुपर्छ भन्ने रहर थियो । जसको लागि एउटा राम्रो टिममार्फत् काम गर्ने योजना बन्यो । शम्भु थापा सहित सन्तोषकुमार आत्रेय, किरणकुमार आत्रेय, मिलेर कम्पनी स्थापना गरें ।

सोही कम्पनीमार्फत् नेपाली फिल्म ‘धौली’ निर्माण गरियो । धौलीमा अर्जुन गोदारले समेत उनीहरुलाई साथ दिएका थिए । घनश्याम लामिछानेले निर्देशन गरेको यो फिल्मले योे टिमलाई परिचित गरायो । फिल्म निमार्ण गर्न काठमाडौं नै बस्नु पर्दैन पोखराबाट समेत राम्रा फिल्म निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न टिम सफल बन्यो । फिल्म धौली पछाडि अब कसरी गर्ने भनेर टिममा छलफल भयो । सन्तोष कुमार आत्रेयले स्क्रिप्ट बनाए । गाउँले परिवेशको सामाजिक कथा सबैलाई राम्रो लाग्यो । र, टिम हुक्का निर्माणमा कस्सियो ।

मौलिक कथामा बनेको ‘हुक्का’ फिल्ममा पोखराका प्रकाश घिमिरेको अभिनय हेर्न पाइनेछ । स्थापित कलाकार घिमिरेको सक्रियता पछिल्ला दिनमा बढ्दै मात्रै छैन। चर्चा लोभलाग्दो गरी चुलिँदैछ । घिमिरेसहित प्रमिला खनाल, तेज गिरी, अंशु न्यौपाने, सन्तोष कुमार आत्रेय, कुमार गुरुङ, शम्भु थापा, तलिसा गुरुङ, निश्चल विमल, एलिसा भोगलगायतको अभिनय फिल्ममा हेर्न पाइन्छ ।

प्रमिला खनाल थिएटर कलाकार हुन् । फिल्ममार्फत् नयाँ तरिकाले अगाडि बढ्न खोज्दैछन् । म्युजिक भिडियामा अभिनय गरिसकेकी खनाल राम्रो डान्सरसमेत हुन् । फिल्ममा मुख्य भुमिकामा पहिलोपटक अभिनय गरेको कारण उत्साहित छन् ।
अंशु न्यौपाने फिल्म क्षेत्रमा अगाडि बढ्न खोज्ने कलाकार हुन् । तेज गिरीले केही फिल्ममा काम गरिसकेकी छन् । निश्चल विमल र एलिसा भोग थिएटर कलाकार हुन् । तलिसा गुरुङको नेपाली भाषाको फिल्ममा पहिलो अनुभव हो । कथा, टिम र आफ्नो मेहनतका कारण दर्शकको माया पाउनेमा गुरुङ आशावादी छन् ।
फिल्म ‘हुक्का’ले हुक्कासँग जोडिएको मनोविज्ञान बोकेको निर्देशक थापा बताउँछन् ।‘हुक्कासँग जोडिएको मनोविज्ञान, मनोरञ्जन, हाम्रै समाजका घटनाक्रम, लोभ, माया, प्रेम, त्याग, आडम्बरीपन, महिलाहरुप्रती हेरिने दृष्टि र कुदृष्टि, पर्यटन प्रवद्र्धन लगायतका विषयवस्तु समावेश छ,’ उनले भने ।

फिल्ममा पैसाको महत्व तथा पैसाको कारण जीवनमा आएका विभिन्न उतारचढावलाई आर्कषक ढंगले पस्किएको दाबी समेत गरिएको छ । फिल्म मार्फत गाउँघरमा हुने घटनालाई जस्ताको तस्तै पस्कन खोजेकोले दर्शकको अपार माया पाउनेमा निर्माण टिम विश्वस्त छ ।

फिल्मको कार्यकारी निर्मातामा कमलबहादुर भुजेल, किरणकुमार आत्रेय रहेका छन् । निर्माता पार्वती थापा, सुशिला गुरुङ, सागर गोदार थापा हुन् । फिल्मको कथा सन्तोष कुमार आत्रेयले लेखेका हुन् भने पटकथा लेखनमा आत्रेयलाई भगवान पौडेलले साथ दिएका छन् ।

दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा सिनेमेट्रोग्राफरको जिम्मा कृष्णबहादुर थापाले र रंग संयोजनको जिम्मा राजेन्द्र मोक्तानले पूरा गरेका हुन् । सहायक निर्देशकमा भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री, सुयोग आत्रेय र मुख्य सहायक निर्देशकमा भगवान पौडेल(मिठो कम्पन) रहेका छन् । १ करोड १० लाख भन्दा बढीको लगानीमा निर्माण भएको फिल्मको छायाकंन पोखरा आसपासका ग्रामिण भेगमा गरिएको हो । निर्देशक थापा सहितको टिमले लामाचौरमा हिमाज सिनेमाहल सञ्चालन समेत गरेको छ । पोखराबाटनै वर्षको एउटा फिल्म निर्माण गर्ने योे टिमको योजना रहेको छ । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

यसैबीच हुक्का टिमले अन्नपूर्ण केबल कार र उडी एडभेन्चरसँग सहकार्य गर्दै दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर ल्याएको छ । अफरअनुसार नेपाल भरका दर्शकले टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै फिल्म हेरेपछि ह्यास ट्याग नेपाली मुभी हुक्का १२ लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्विङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->