पोखरा/ नेपाली चलचित्र ‘नाईके’ निर्देशन गरेर चर्चामा आएका पोखराका नेत्र गुरुङले चलचित्र ‘कडी’ निर्देशन गर्ने भएका छन् । चलचित्रको कथासमेत उनले नै लेखेका हुन् । नेत्र इन्टरटेन्मेन्टले सुस्मिता फिल्मसँगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्रको शुभमुर्हत सोमबार पोखराको विन्ध्यवासिनी मन्दिरमा हुँदैछ ।
केहीदिन वर्कसप गरेर चलचित्र छायाकंनमा लैजाने चलचित्र युनिटको योजना छ । ‘शुभमुर्हत पश्चात ४, ५ दिन पोखरामा वर्कसप हुन्छ त्यसपछि छायाकंनमा जानेछ,’ निर्देशक गुरुङले भने । पोखरामा आसपासमा छायाकंन हुने चलचित्र सस्पेन्स थ्रिलर जनरामा निर्माण हुनेछ ।
यो चलचित्रको काम चुनौतिपूर्ण रहेको कारण नै काम गर्न कस्सिएको उनले खुलाए । ‘यो चलचित्रको काम चुनौतिपूर्ण छ, दर्शकलाई नौलो स्वाद दिने उद्धेश्यले निर्माण गर्न लागिएको हो,’ उनले भने ।
मल्टि क्यारेक्टरवाला स्टोरीमा बन्ने चलचित्रमा प्रकाश घिमिरे, बद्रीप्रसाद तिवारी, सोफी धरेल, कमल भण्डारी लगायतका कलाकारले अभिनय गर्नेछन् । चलचित्रमा टिकटकमार्फत् चर्चामा आएकासहित धेरैं नयाँ कलकारलाई स्थान दिइएको निर्देशक गुरुङले खुलाए ।





