बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

करेसाबारीको महत्व बुझाउन ‘करेसा कन्सर्ट’

करेसाबारीको महत्व बुझाउन ‘करेसा कन्सर्ट’

नाटक सिकाइको उपयुक्त माध्यम ।


  • राजाराम पौडेल
  • जेष्ठ ३२ २०८०, बिहिबार

करेसाबारीमा रमाउन नपाएका बालबालिका नाटक हेरेपछि रमाउने मात्र पाउने छैनन्,तरकारीको महत्वको बारेमा बुझ्दै आफ्नो खानपानमा सकारात्मक परिवर्तन ल्याउन उत्साहित हुनेछन् ।

पोखरा/करेसाबारी बालबालिकाको लागि नयाँ कुरा जान्ने एउटा खुला विद्यालय हो । यहाँ पुग्दा खेल्न, सिक्न मात्र नभएर फलेका तरकारी र फलफूलका बारेमा बुझ्ने मौका पाइन्छ । यो बुझाइले ज्ञानको दायरा मात्र बढाउदैन, व्यवहारिक रुपमा तरकारी र फलफूलको प्रयोग गर्न समेत हौस्याउँछ । तर, करेसाबारी नहुँदा यसरी सिक्न, बुझ्न सकेका छैनन् । भएकाले समेत करेसाबारीलाई राम्रो तरिकाले प्रयोग गर्न सकेका छैनन् । त्यसैले त आजकाल धेरैं बालबालिका घर भित्र मात्र बस्ने, अधिकांश समय मोबाइल, टिभीमा झुम्मिने गर्छन् ।

यसले अभिभावकलाई चिन्तित बनाएको छ । बालबालिकाको वृत्ति, विकासमा समेत असर पारेको छ । यसरी विभिन्न खालका बाध्यताले गर्दा खेल्दै, सिक्ने रमाउन उपयुक्त हुने करेसाबारीमा खेल्ने अवसर धेरैंलाई नमिलेका हुन सक्छ । अवसर भएकाले सुदुपयोग गर्न नजानेका समेत हुनसक्छन् । फलस्वरुप भान्सामा पाकेको परिकार भन्दा जंक फूड तर्फ बालबालिकाकोे रुचि बढी पाइन्छ । यो राम्रो होइन । बालबालिकालाई जंक फूडबाट ध्यान मोड्दै करेसाबारीमा फलेका तरकारीतर्फ आर्कषित गर्न चाहने अभिभावक र शिक्षकको लागि नाटक मार्फत यसलाई बुझाउने सुन्दर अवसर ‘करेसा कन्र्सट’ नाटक बन्न सक्छ । जुन नाटक यतिबेला पोखरामा मञ्चन भइरहेको छ ।

यो नाटक हेरेपछि करेसाबारीमा रमाउन नपाएका बालबालिका रमाउने मात्र पाउने छैनन्,तरकारीको महत्वको बारेमा बुझ्दै आफ्नो खानपानमा सकारात्मक परिवर्तन ल्याउन उत्साहित हुनेछन् । यहीं अभिप्रायका साथ पोखरा थिएटरको प्रस्तुतीमा नाटक मञ्चन भैरहेको हो । जसको लागि गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसावारी निर्माण गरिएको छ । स्टेज कलरफूल देखिदा थिएटर प्रवेश गर्ने वितिकै बालबालिकाको ध्यान त्यतै तानिन्छ ।

फरक कन्सेप्टमा साना नानीबाबुलाई लक्षित गरेर तयार गरिएको नाटक भएको कारण सधैं अध्याँरो ठाउँमा बसेर नाटक हेर्ने दर्शकले उज्यालोमा नै बसेर नाटक हेर्न पाउँछन् । कलाकारसँगै दोहोरो कुराकानी गरेर रमाउन समेत मिल्छ ।

नाटकमा हाम्रो करेसावारीमा हुने फर्सी, प्याज, गोलभेंडा, लसुन, साग, करेला,अदुवा, लौका, धनियाँ, काँक्रो, मुला, खुर्सानी, बेसारको स्वभाव र विशेषताको बारेमा रमाइलो शैलीमा बुझाउन खोजिएको छ । जसको लागि कलाकारले गरेको मिहिनेत तारिफयोग्य छ । उनीहरुबीच प्रतिष्पर्धा गराएर महत्वबारेमा जानकारी दिन खोजिएको छ । जुन बालबालिकाको सिकाइको लागि प्रभावकारी बनेको आभाष हुन्छ । सबै तरकारीको आ–आफ्नै विशेषता भएकोले उत्तिकै महत्व रहेको छ भन्ने बालबालिकाले थाहा पाउँछन् ।

नाटकमा फर्सीबहादुर बनेका रमेशबाबु तिमल्सिना,प्याजीमाया बनेकी अञ्जु दाहाल, गोलभेंडा बनेकी रोशनी रामदाम, लसुन बनेकी दिपसना विश्वकर्मा, साग बनेकी अनुसा परियार, करेली बनेकी रञ्जु दाहाल, अदुवा बनेका समीर पुन, लौका बनेकी नम्रता ढकाल, धनियाँ बनेकी पूर्णिमा अर्याल, काँकरी बनेकी सोनिया कार्की खत्री, मुलाबाबु बनेका रायन गुरुङ, भाले बनेका रोहित पौडेल र चिल्ली बनेका धनकाजी श्रेष्ठले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निभाएर दर्शकको ध्यान आर्कषित गर्न खोजेका छन् ।

१ घण्टा १० मिनेट अवधिको नाटकको अर्को महत्वपूर्ण पाटो संगीत पनि बनेको छ । संगीत संयोजक कमल केसीले गरेको मिहिनेत, मञ्च सजावटमा अमृत परियारले गरेको प्रयोग र प्रकाश परिचालनमा मिलन श्रेष्ठले गरेको कामले नाटकलाई थप सुन्दर बनाउन सघाएको छ । नाटकलाई धेरैं विद्यार्थीमाझ पु¥याउन बजार व्यवस्थापक प्रकाश पराजुलीले त्यसको हिसाबकिताब राख्न बक्स अफिसमा रहेर शुभेक्षा शर्माले सघाएकी छन् । नाटकको प्रचारको लागि दयाराज ढुंगानाले राम्रो पोष्टर डिजाइन गरेका छन् ।

केदार श्रेष्ठले लेखेको नाटक अञ्जु दाहालको निर्देशनमा तयार भएको हो । नाटकका लेखक केदार श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार भएको बताए । ‘नाटक करेसाबारीमा उब्जाइएका तरकारीहरुको महत्व र विशेषताको वरिपरि घुम्छ । यो नाटक विशेषगरी बालबालिकाको लागि लेखिएको हो । तर सबै उमेर समुहकाले यो नाटक हेरर रम्न सक्छन्,’ उनले भने ।

नाटकका निर्देशक दाहालले यो नाटक विद्यार्थीलाई करेसाबारीको बारेमा जान्नको लागि महत्वपूर्ण बन्ने बताइन् । यस अगाडि गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव २०७९ मा मञ्चन भएको यो नाटक दर्शकले रुचाएको कारण पुनः नयाँ शैलीमा मञ्चन गरिएको उनको भनाइ छ ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरिएको भएपनि अभिभावक र शिक्षकको लागि समेत उत्तिकै महत्वपूर्ण रहेको बताए । हाल बुकिङ सो को रुपमा हरेक दिन बिहान साढे १० बजे, दिउँसो साढे २ बजे र दिउँसो साढे २ बजे गरेर दैनिक तीन सोमार्फत् देखाउन खोजिएको उनको भनाइ छ । नाटकलाई असार मसान्तसम्म निरन्तर मञ्चन गर्ने तालिका तय गरिएको उनले खुलाए ।

नाटक हेर्न पुगेका अभिभावक र शिक्षकले नाटक हेरपछि बालबालिकालाई तरकारीको महत्वको बारेमा बुझाउन उपयोगी रहेको प्रतिक्रिया दिए । थप सरल र बालबालिकाले स्पष्ट बझ्ने शब्दको प्रयोग गर्न सकेको खण्डमा नाटक थप प्रभाककारी बन्ने उनीहरुको भनाइ थियो । हरेक दिन आफ्नो भान्सामा पाक्ने तरकारीको बारेमा जान्न मात्र नभएर पर्याप्त मात्रामा तरकारी खानुपर्ने रहेछ भन्ने खालको सन्देश छर्न समेत नाटक सफल बनेको उनीहरुको बुझाइ थियो । त्यसो त पछिल्लो समयमा पोखराका विद्यालयमा अध्ययनरत बालबालिकामा नाटकप्रतिको आर्कषण बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->