पोखरा/ नेपाली सिनेजगतका प्रख्यात कलाकार सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’ को टोली यतिबेला देश दौडाहमा निस्किएको छ ।
असार २९ गतेदेखि देशभर प्रदर्शनीमा आउन लागेको चलचित्रको प्रचारप्रसार गर्दै टोली देश दौडाहमा निस्किएको हो । सोही क्रममा पोखरामा आएको चलचित्रको टोलीले नेपाली सिनेजगतमा पुरुषवादीको हैकम चलिरहँदा आफूहरुले महिलालाई प्राथमिकता दिएको बताएका छन् । कलाकार तथा निर्देशक सरोज खनालले आफुले चलचित्रमा पाइला राखेदेखि अहिलेसम्म हरेक चलचित्रको मुख्य भूमिकामा पुरुष हुने गरेको सुनाए ।
नेपाली चलचित्रको कथा, कहानी पुरानै शैलीको हुँदै आइँरहँदा आफुहरुले बगानमा नयाँपन लिएर आएको उनले बताए । चलचित्रको जीवनमा पहिलो पटक पुरुष नभई महिला पात्रलाई प्रमुख पात्रको रुपमा उभिएको देखेको उनले बताए । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले भने, ‘मैले फिल्म खेलेदेखि अहिलेसम्म पुरुष पात्र नै प्रमुख भूमिकामा हुने गरेको छ । यो चलचित्रमा नयाँपन भनेको महिला पात्रलाई मुख्य मूमिकामा ल्याएका छौं ।’ बगानमा नायिका करिश्मा मानान्धर एकल महिलाको भूमिकामा रहेकी छन् । उक्त फिल्म उनकै जीवनसँग मेल खाएको खनालले सुनाए ।
‘यो चलचित्र करिश्माको जिवनमा मेल खान्छ । उनले चलचित्रमा आउँदा ८ कक्षा पढ्दा पढ्दै पढाइ रोक्नुपरेको थियो ।’ खनालले चलचित्रमा नायिकालाई खालि सो पिसको रुपमा मात्रै राख्ने गर ेपनि बगानले उक्त प्रथाको अन्त्य गरेको धारणा राखे । ‘हामी अझै पनि पुरुषको दबदबा भएको समाजमा छौं, बिबाह भएको कुनै व्यक्तिको श्रीमतिको मृत्यु भयो भने, अर्को बिहे गर्न सोच्न तर्फ हतार गर्ने समाजमा छौं हामी’, खनालले थपे, ‘त्यही समाजमा श्रीमानको मृत्यु भयो भने ति विधवा श्रीमतीको बारेमा सोच्ने कोही हुँदैन त्यस्तो समाजमा हामी छौं । त्यतिमात्र होइन सिनेमा जगतमा त झन महिलाहरु सो पिसको रुपमा मात्रै रहेका छन् ।’
समाजमा एक विधवा महिलाले कसरी संघर्ष गरेकी छन् र समाजमा कस्तो शिक्षा हामीले सिकाउनुपर्छ भनेर चलचित्रमा जोड दिएको नायिका करिश्मा मानान्धरले बताइन् । नेपाली समाजमा सहर भन्दा बाहिर अझै पनि शिक्षाको कमी भएको र उक्त स्थानमा शिक्षा पु¥याउनका लागि चलचित्रले महत्वपूर्ण भूमिका खेलको उनको भनाइ छ ।
‘चलचित्रमा लगानी गरेर मात्र हुँदैन, सबै क्षेत्रलाई जोड्न सके मात्र हामी सफल हुने हो’, उनले भनिन, ‘चलचित्रमा हिरोइजम मात्र चल्छ भन्ने हुदैन कथालाई सबैसँग जोड्न सफल हुन सकिन्छ ।’ चलचित्र क्षेत्रमा नायिकाको भूमिकामा पाइला टेकेकी प्रमिला कार्कीले बगानको कथामा आफुलाई सुट हुने पात्र भएकाले काम गरेको सुनाइन् । चलचित्र आफ्नो श्रीमानले बनाएको कारण नायिका नभइकन कथाको पात्र अनुकूल भएकाले काम गरेको बताइन् ।
बगानमा सरोज खनाल, करिश्मा मानन्धर, प्रमिला कार्की अलवा आकाश श्रेष्ठ, निर शाह, बसुन्धरा भूसाल, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ । सुरेश वाग्ले बगानका निर्माता हुन् ।





