पोखरा / नेपाली सांगीतिक आकासमा फेरी अर्को एउटा नयाँ सांगीतिक कोशेली ‘शीरको फूल’ लोकगीत रिलिज भएको छ । रिअल पिक्चरस प्रा.लि.को निर्माणमा असोज १२ गते उक्त गीत सार्वजनिक गरिएको हो ।
राम बास्तोलाको निर्देशन र गायिका सुस्मा बिसीको सुमधुर स्वर रहेको “शीरको फूल” नामक मौलिक गीतको शब्द भोजेन्द्र अधिकारीले लेखेका हुन भने गीतको संगीत पनि भोजेन्द्र अधिकारीले नै गरेका छन् ।
गीतमा प्रेम पछिको विछोड र प्रेम वियोगले बुढेसकालसम्म दिएको चोट र पिंडालाई मार्मिक ढंगले चित्रण गरिएको छ । निकै मार्मिक कथाबस्तु रहेको गीतको म्युजिक भिडियोमा काठेखोला गाउँपालिका–४ तंग्राम, बागलुङका नवउदयीमान कलाकार चन्द्रमा विश्वकर्मा र साहिल गायकले अभिनय गरेका छन ।
म्युजिक भिडियोमा मुख्य कलाकारको रुपमा रहेकी कलाकार चन्द्रमा विश्वकर्माकी आफ्नी स्वर्गीय आमा सस्ती विश्वकर्मालाई समर्पण गरिएको उक्त सांगीतिक कृति झट्ट हेर्दा जो कुनैलाई पनि कुनै सटमुभी जस्तै लाग्दछ ।
पोखराको घाचोकमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा रोहित गायक, पदम बहादुर बस्ताकोटी, दिप्ना रसाइली (काठेखोला-८ लेखानी बागलुङ), महादेव अधिकारी, कृष्ण सिर्पाली, सनम थापा मगर, यज्ञ बहादुर गायक र काठेखोला-३ धम्जा, बागलुङका गजल विश्वकर्माको समेत अभिनय रहेको छ ।





