बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तीन जिल्लाको ट्रान्जिट कुश्मामा सार्वजनिक शौचालयको समस्या

तीन जिल्लाको ट्रान्जिट कुश्मामा सार्वजनिक शौचालयको समस्या


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०८०, शुक्रबार

पर्वत / पर्यटकीय हिसाबले पनि चहलपहल बढी हुँदै गइरहेको पर्वत सदरमुकाम कुश्मा बजार पर्वत सहित चार जिल्लाका यात्रुहरूका लागि ‘ट्रान्जिट’ हो । पर्वतबाट विभिन्न जिल्लाका लागि बाहिरिने सवारी सहित बागलुङ, म्याग्दी र मुस्ताङबाट अन्य जिल्लाका लागि छुट्ने सवारीहरू पनि कुश्मा स्थित शिवालय चोक हुँदै आउजाउ गर्छन् ।

यात्रुहरूलाई पिसाब लाग्दा विगतमा सवारी चालकले आफूले इच्छाएको खुला ठाउँमा सवारी रोक्ने गरेका थिए । आजभोलि दिशा र पिसाबको लागि बाटोमा सवारी रोक्ने गरेको देखिँदैन । दिशा पिसाब गर्नुपर्ने भएमा खाजा वा खाना खाने होटेलका शौचालय वा त सार्वजनिक रूपमा निर्माण गरिएका शौचालयहरूमा जाने गरेको पाइन्छ ।

खाजा र खानाका लागि सवारीहरू प्रायः चितवनको मुग्लिङ, तनहुँ र कास्कीमा रोकिने गरेका छन् । विभिन्न जिल्लाका लागि छुटेका सवारीहरू यात्रु र सामान झराल्नको लागि मात्रै केही समय शिवालय चोकमा रोकिन्छन् । तर त्यही बेलामा दिशा पिसाब लागेमा यात्रुहरू होटेलमा छिरेर केही न केही खाएर त्यही बहानामा शौचालयको प्रयोग गर्न बाध्य हुँदै आएका छन् । बागलुङ, म्याग्दी र मुस्ताङबाटबाट आएका यात्रुहरू आधादेखि तीन घण्टासम्मको यात्रा तय गरेर कुश्मा आइपुग्छन् । पोखराबाट आएका सवारी शिवालय चोकमा आइपुग्न कम्तीमा पनि डेढ घण्टा लाग्छ ।

विभिन्न ठाउँबाट बागलुङ, म्याग्दी, पर्वतका लागि भित्रिने रात्रि बसहरू बिहान चार बजे नै शिवालय चोकमा आइपुगेका हुन्छन् । तर सार्वजनिक शौचालयको उचित व्यवस्थापन नहुँदा सावरी साधनमा यात्रा गरिरहेकाहरू समस्यामा छन् ।

चार जिल्लाका सवारी आउजाउ गर्ने केन्द्र तथा कुश्मा बजारमा नै रहेका बन्जी जम्प, जीपलाइन लगायतका साहसिक पर्यटनका गन्त्ब्यमा आउजाउ गर्ने सवारीहरू पनि शिवालय चोकमा नै रोकिन्छन् । कुश्माका होटेलमा बस्ने पर्यटकहरु पनि साँझ बिहानको बेलामा बजार घुम्नको लागि निस्किएका हुन्छन् । तर कुश्मा बजारमा ती पर्यटकका लागि सार्वजनिक शौचालय छ न त यात्रीहरूको लागि नै ।

दैनिक सयौँ यात्रुहरू कुश्माको शिवालय चोकमा आउने भए पनि सार्वजनिक शौचालयको अभावमा यात्रुहरू समस्यामा पर्दै आएका छन् । शिवालय चोकमा वर्षौँदेखि सामान्य खालको शौचालय सञ्चालनमा रहँदै आएको छ । एक पटकमा ७÷८ जना भन्दा बढीले शौच गर्न नमिल्ने शौचालयको व्यवस्थापनको काम सामुदायिक सेवा केन्द्रले गर्दै आइरहेको छ । ‘चोकको शौचालयमा लङ ट्वाइलेटको लागि दुई ओटा मात्रै शौचालय रहेछ ।

एउटा गाडी रोकिँदा कम्तीमा १०-१५ जना त शौचालय जान्छन् । त्यो भिडमा कति बेर पर्खिँदा पालो आउने हो ?’ यात्राकै क्रममा रहेका बागलुङका हरिबहादुर क्षेत्री भन्छन्, ‘पालोमा पखिँदा गाडी हिँडिहाल्छ। होटेलका ट्वाइलेटमा जान त्यहाँ केही न केही त खाजा खाइदिनुपर्छ । नत्र प्रयोग गर्न पाइँदैन। हामी जस्ता सयौँ यात्रु आउँछन् उहाँहरूले शौचालय प्रयोग गर्न दिएर मात्रै पनि त भएन फेरि ।’

आफ्नो पसलमा केही नखाई शौचालयको प्रयोग गर्न मात्र दिने हो भने निजी घरका शौचालय पनि सार्वजनिक शौचालयको भन्दा कमजोर अवस्थामा पुग्ने व्यवसायीको भनाई छ । सञ्चालनमा रहेको सामान्य खालको शौचालयलाई थप क्षमतामा वृद्धि गर्नुपर्ने अवस्था रहेको उनीहरूको बताउँछन् ।

करिब १० वर्षदेखि सञ्चालनमा रहेको दुई कोठे शौचालय अहिले जीर्ण बनेको छ । पानीको धारा समेत जडान नगरिएको शौचालय दुर्गन्धित छ । उक्त शौचालयको व्यवस्थापन गर्दै आएकी गोरी परियारले पोखरा–बागलुङ सडक खण्डको स्तरोन्नति भएपछि शौचालयमा लगेको पानीको पाइप पुरिँदा सानो शौचालयमा पानी समेत गाग्रीमा बोकेर ल्याउनुपरेको सुनाइन् ।

सामुदायिक सेवा केन्द्रले व्यवस्थापनको जिम्मा गोरीलाई दिएपछि शौचालय उपभोग गरेवापतको शुल्क उनले नै उठाउँदै आएकी छिन् । केही महिना पहिलेसम्म दिशा र पिसाबको एक जनाको पाँच रुपैयाँ शुल्क लिने गरेको भए पनि अहिले भने त्यो रकम बढाएर १० रुपैयाँ बनाइएको छ । त्यही उठेको रकमबाट सेफ्टी ट्याङ्की सफा गर्ने, पानीको व्यवस्था गर्ने, मर्मत गर्ने लगायतका कामहरू गर्नुपर्छ । यही काम गरेर नै गोरीको परिवार पनि चलिरहेको छ ।

शौचालयमा पानीको आपूर्ति बन्द भएपछि यात्रुहरू पनि खासै आएनन्, जसका कारण शौचालय बन्द हुने अवस्थामा पुग्यो त गोरीको छाक टार्ने बाटो पनि बन्द हुने अवस्थामा जान थाल्यो । तर सामुदायिक सेवा केन्द्रले पानी दिने भए पछि मध्य पहाडीले पुरिएको पाइप नबन्ने बेलासम्मको लागि हरेक दिन बाल्टीमा पानी बोकेर शौचालयमा लैजानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->