आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

पुष १० मा दोस्रो रात्रिकालीन सडक दौड, पुरस्कार राशि वृद्धि र नयाँ विधा थप

पुष १० मा दोस्रो रात्रिकालीन सडक दौड, पुरस्कार राशि वृद्धि र नयाँ विधा थप


  • ढाेरपाटन संवाददाता
  • मंसिर १३ २०८३, आइतबार

पोखरा / पर्यटनको राजधानी पोखरामा खेल पर्यटनको प्रवद्र्धन, रात्रिकालीन व्यवसायको विस्तार र सडक सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्यले आगामी पुष १० गते दोस्रो संस्करणको पोखरा रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ । यस वर्ष प्रतियोगितामा पुरस्कार राशि वृद्धि गर्नुका साथै भेट्रान्स विधा थप गरिएको आयोजक पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन आइतबार फेवातालको बीच भागमा डुङ्गामाथि आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले यस वर्ष पाँच विधामा प्रतियोगिता सञ्चालन गरिने जानकारी गराएको हो । तालबाराही मन्दिरको छेउमा माछापुच्छ्रे लगायतका हिमशृङ्खलालाई पृष्ठभूमिमा राखेर आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितालाई पोखराको नयाँ पहिचान र पर्यटकीय गतिविधिसँग जोडेर विकास गर्ने विषयमा जोड दिइएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए ।

पोखरा महानगरपालिका वडा नं. ९ सँगको सहकार्यमा गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई यस वर्ष पुरस्कार राशि वृद्धि र विधा थप गरेर अघि बढाइएको उहाँले जानकारी दिए । पोखराको नयाँ पहिचानसहितको इभेन्टका रूपमा स्थापित गर्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उनले बताए । यस वर्ष खुला, महिला, विदेशी, यू–१६ र भेट्रान्स गरी पाँच विधामा प्रतियोगिता सञ्चालन भएको थियो । गत वर्ष चार विधामा सीमित प्रतियोगितामा यस वर्ष भेट्रान्स विधा थप गरिएको हो । साथै, विभिन्न विधाका पुरस्कार राशि पनि वृद्धि गरिएको आयोजकले जनाएको छ ।

खुलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी महिला, विदेशी, यू–१६ र भेट्रान्स विधाका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, ७ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सबै विजेतालाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा नगद पुरस्कारमै मात्रै एक लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल १७ लाख ९० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पोखरा महानगरपालिका वडा नं. ९ को वार्षिक बजेटसहितको सहकार्य तथा महानगरपालिकाको प्रवद्र्धनात्मक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं. ६, फेवा डुङ्गा व्यवसायी संगठन, मन्त्र थकाली, परिचय एड्भर्टाइजिङलगायत संघसंस्थाको सहयोग रहनेछ । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर अस्पताल पार्टनर तथा नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->