पोखरा / दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च देशको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा पुगेको छ । राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णालीका प्राकृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको ट्रफी तथा टर्च टुर आइतबार रारा पुगेको हो ।
ट्रफी र टर्चसहित रारा पुगेको टोलीलाई प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी, छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेल, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।
रारामा पहिलोपटक ओलम्पिक टर्च र राष्ट्रिय खेलकुदको ट्रफी पुग्दा स्थानीयमा उत्साह देखिएको थियो । यसले कर्णालीको प्राकृतिक सुन्दरता र पर्यटन सम्भावनालाई विश्वमाझ चिनाउन सहयोग पुग्ने ओलम्पियन दीपक विष्टले बताए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा शुक्रबार दैलेखको श्रीस्थानस्थित अखण्ड ज्वालाबाट टर्च प्रज्वलन गरी टुर सुरु गरिएको थियो । म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा रहेको टोली कालीकोट र जुम्ला हुँदै मुगु पुगेको हो ।

टोलीमा ओलम्पियन दीपक विष्ट, देबु थापा, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत सहभागी छन् ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदै छ । यसबाट खेलकुदसँगै कर्णालीको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।





