बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आगोको दुरुपयोग रोकौँ

आगोको दुरुपयोग रोकौँ


  • Dhorpatan News
  • बैशाख १७ २०८१, सोमबार

लामो समयसम्म खडेरी परेपछि देशैभरको वातावरण बिग्रेको छ । आगलागीले तहसनहस बनाएको छ । जनधनको क्षति भइरहेको छ र तत्काल पानी परेन भने यो अवस्था विद्यमान रहने वातावरणविदहरुले बताइरहेका छन् । लामो खडेरीले यो पटक तुलनात्मक रुपले स्वच्छ मानिने पोखरालाई पनि नराम्ररी प्रभावित बनाएको छ । पोखराबाट हुने उडानहरु प्रभावित भएका छन् । नाङ्गो आँखाले हिमाल देख्न सकिने यो सहरका मान्छेले हिमाल देख्न नपाएको महिनाभन्दा बढी भइसकेको छ । धुलो र धुँवाले गर्दा आँखा पोल्नेलगायतका संक्रमणहरु देखा परेका छन् । जसले गर्दा पर्यटकीय सहर उकुसमुकुसमा परेको छ । वातावरण बिग्रँदा सिङ्गो पर्यटन उद्योग प्रभावित बनेको छ ।

हालसम्म गण्डकी प्रदेशका ४ सय ६७ स्थानको ८ हजार २ सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ तथ्याङ्क प्राप्त भएको छ । अहिले वातावरण बिग्रनुमा डढेलोको ठूलो हात छ । वनमा जथाभावी लगाइएको डढेलोले पु¥याएको भौतिक र मानवीय क्षतिको मूल्याङ्कन भएको छैन । त्यसै पनि मान्छेको जीवनको मूलय नै कहाँ लगाउन सकिन्छ र ? भौतिक सम्पत्ति जसरी नासिएको छ, त्यसको मूल्य पनि करोडौं छ । डढेलोले वनस्पति र प्राकृतिक सम्पदाहरुमा पु¥याएको क्षतिको भरण तत्काल सम्भव हुँदैन । साना विरुवा,जडीबुटीहरु आगोमा परेपछि कतिपय अवस्थामा फेरि उम्रदैन भने उम्रिहाल्यो भने पनि वर्षौं लाग्छ । डढेलो सामान्यतयाः आफै लाग्दैन । प्राकृतिक रुपले लाग्ने आगलानी नगन्य हुन्छ । मानवीय लापरवाही र त्रुटिकै कारण अहिले देशभर डढेलो लागेको हो । राम्रो घाँस पलाउँछ, वनमा मल हुन्छ भन्नेहरु,आगोको हिफाजत नगर्नेहरुबाट नै यो हर्कत हुँदै आएको छ । यस्तो प्रवृत्तिलाई कानूनले अवैध मानेको छ । वन ऐनले आगलागीमा संलग्न हुनेलाई कैद र जरिवाना दुबै तोकेको छ । तर, आगो लगाउनेहरुले उन्मुक्ति पाउँदै आएका छन् । एक त, कसले आगो लगायो थाहा हुँदैन । अर्को, किन छुच्चो हुने भनेर छिमेकीले नै त्यो व्यक्तिविरुद्ध प्रशासनलाई जानकारी गराउँदैनन् । जसले गर्दा गलत गर्नेहरु डराउने वातावरण बनेको छैन । उता, हामीसँग आगो निभाउने प्रभावकारी सामग्रीहरु छैनन् । जंगलमा गएर आगो निभाउनु यत्तिकै पनि सजिलो हुँदैन । आगो निभाउँदा सुरक्षाकर्मीदेखि स्थानीयहरुले ज्यान गुमाउँदै आएका छन् । यो अवस्थाको अन्त्य हुनुपर्छ । डढेलो लाग्न नदिन सचेतनाका कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउनुपर्छ । जंगलमा अग्नीरेखा बनाउने, जलाशयहरुको निर्माण गर्ने कार्यमा पनि उत्तिकै ध्यान दिनुपर्छ । मुख्यकुरा, आगो लगाउनु दण्डनीय हो भन्ने सन्देश व्यापक पािरनुपर्छ । आगोको दुरुपयोगलाई निरुत्साहित गरिनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->