काठमाडौं / नवीकरणीय उर्जालाई कृषी उत्पादनसंग जोडेर उत्पादन बढाउनुपर्नेमा यस क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । एक्काइसौं राष्ट्रिय धान दिवसको अवसर पारेर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल नविकरणीय उर्जा परिसंघले आयोजना गरेको नवीकरणीय ऊर्जा र कृषिका लागि ऊर्जा दक्षता विषयक कार्यक्रममा विज्ञहरुले सो कुरा बताएका हुन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सभाकक्षमा आयोजित कार्यक्रममा ऊर्जा विज्ञ, सरकारी अधिकारीहरु र वैकल्पिक उर्जा प्रवद्र्धनमा कार्यरत निजी क्षेत्रका उद्यमी लगायतका वक्ताहरुले कृषि क्षेत्रमा नवीकरणीय उर्जा र उर्जा दक्षता प्रविधिको एकीकरण गरी उत्पादकत्व र दिगोपना बढाउनुपर्नेमा जोड दिए ।
उनीहरुले आयातित खाद्य निर्भरता घटाउन र खाद्य सुरक्षा सुनिश्चित गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षता महत्वपूर्ण भएको बताए ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कृषि क्षेत्रमा नवीकरणीय उर्जाको प्रयोग बढाउने तथा ऊर्जा दक्षताका उपाय खोज्न निरन्तर छलफल र विचार विमर्श गर्नुपर्ने आवश्यकता रहेको वताउदै भने, ‘नवीकरणीय उर्जालाई सिँचाइ र बाली व्यवस्थापन बाहेक कृषि उत्पादन, ढुवानी र लामो समयसम्म भण्डारण गर्न प्रयोग गर्न सकिन्छ, ।’
उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता ऐन ल्याउन नेपाल सरकारबाट आवश्यक तयारी भइरहेको र यस सम्बन्धी समस्यालाई सम्बोधन गर्न संसदमा यससम्बन्धी विधेयकमाथि छलफल भइरहेको जानकारी दिए ।

नवीकरणीय ऊर्जा परिसंघ नेपालका अध्यक्ष गुणराज ढकालले नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउन नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगको महत्वबारे प्रकाश पारे । उनले कृषिका लागि नविकरणीय उर्जा प्रविधिका संवन्धमा केन्द्र र परिसंघको सहकार्य अपरिहार्य भएको बताए ।
केन्द्रका उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठले कृषिका लागि नविकरणीय ऊर्जा प्रविधि उपयोग गर्न तथा ऊर्जा दक्षताका उपायहरुका लागि केन्द्रले उल्लेखनीय योगदान गर्दै आएको र निजी क्षेत्रसंग सहकार्य गर्दै कृषि क्षेत्रमा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने वताईन् ।
कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले सम्वन्धित निकायहरुले प्रदेश तथा स्थानिय स्तरमा पनि कृषिका लागि नविकरणीय उर्जा प्रविधि तथा ऊर्जा दक्षता संवन्धि क्षमता अभिवृद्धि र सचेतनाका लागि कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।
सो कार्यक्रममा उर्जा व्यवसायी शेखर अर्याल, सुशील ज्ञवाली, केआर खनाल, डा.शान्तिकला सुवेदी, सुनिता न्हेमफुकी, सुहृद चापागाईंले उर्जा र उत्पादनको महत्वका वारेमा वोल्दै नवीकरणीय उर्जा प्रविधिलाई कृषी उत्पादनसंग जोड्नुपर्नेमा जोड दिए ।

सो अवसरमा इमीबाट शिशिर श्रेष्ठ, प्राक्टिकल एक्सनबाट मिन बिक्रम मल्ल तथा एग्रडाइरेक्टका सुबास श्रेष्ठले सिंचाइका लागि सौर्य ऊर्जाको प्रयोग, नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षताका विषयमा कार्यपत्र प्रस्तुती गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले कृषिलाई जलवायु मैत्री तुल्याउन वातावरणीय सन्तुलनका पक्षहरुमा गम्भीर भै कृषि उत्पादन गर्ने प्रविधिको अभ्यास गर्नु पर्नेमा जोड दिदै यसका लागि सिंचाइमा दक्षता बढाउने र पानीको खपत घटाउने, जैविक खेतीः रासायनिक मल र विषादीको सट्टा जैविक मल र जैविक कीटनाशकको प्रयोग गर्नुपर्ने वताए ।
उनीहरुले माटोको उर्वरा शक्ति संरक्षण गर्न र भूक्षयलाई रोक्ने, एकै ठाउँमा माटोमा पोषण तत्वहरूको सन्तुलन कायम राख्ने खालका विभिन्न प्रकारका बाली लगाउने, नवीकरणीय ऊर्जा प्रयोगः सौर्य ऊर्जा, वायु ऊर्जा, लघु जलविधुत, बायोग्यास जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको उपयोग गर्ने, ऊर्जा दक्षताका उपायहरु अपनाउने, स्थानीय वातावरणमा अनुकूलित भएका र राम्रो उत्पादन हुने स्थानीय जातका बीऊ प्रयोग गर्न लगायतका उपायहरुलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।





