नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् लैजान बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । नेपालका ऊर्जामन्त्री, बंगलादेशका वातावरणमन्त्री र भारतीय राजदूतको उपस्थितिमा काठमाडौंमा विद्युत निर्यातको लागि त्रिपक्षीय सम्झौता भएको हो । यो सम्झौताले विद्युतको अत्यधिक माग रहेको बंगलादेशमा नेपालमा उत्पादित बिजुली पुग्ने सुनिश्चितामात्र गरेको छैन, त्रिदेशीय व्यापारमा नयाँ आयाम पनि थपिएको छ । भारतसँग नेपालले यसअघि नै विद्युत व्यापार सम्झौता गरी विद्युत आयात– निर्यात गर्दै आइरहेको छ । तर, भारत हुँदै जाने प्रशारण लाइनबाट बिजुली बंगलादेश पु¥याउने विषयमा बिलम्ब देखियो । भारत तयार भएपछि मात्र यो सम्झौताले मूर्तरुप पाएको हो । त्यसो त, बंगलादेशसँग सन् २०१८ मै उर्जा सम्झौता भएको थियो ।
सन् १९७२ मा कुटनीतिक सम्बन्ध स्थापना भएको बंगलादेशसँगको यो व्यापार सम्झौताले नेपाललाई ठूलो आर्थिक लाभ दिनेछ । जलस्रोतको समुचित उपयोगको माध्यमबाट व्यापार घाटा कम गर्न सघाउने छ, जलविद्युत क्षेत्रमा थप लगानी आकर्षित गर्नेछ र आन्तरिक अर्थतन्त्रलाई माथि उकास्ने छ । सधैँ व्यापार घाटा ब्यहोरेको नेपालको लागि योभन्दा ठूलो खुसी के हुनसक्छ ? अर्कोतर्फ, दक्षिण एसियाली सहयोग संगठन( सार्क) निस्प्रभावी बनाइएको बेला भएको त्रिपक्षी सम्झौताले सहयोग र सहकार्यको नयाँ सम्भावनाको ढोका पनि खोलेको छ । भारतले अहिले जुन उदारता देखाएको छ, यसलाई छिमेकीहरु समृद्ध हुँदा आफूलाई पनि फाइदा पुग्छ भन्ने निष्कर्षको परिणामको रुपमा बुझ्नुपर्ने हुन्छ । संसारकै ठूलोमध्येको एक अर्थतन्त्र भएको भारतले छिमेकीहरुप्रति देखाएको सद्भाव र सहकार्य स्तूत्य छ । मुख्य कुरा त, नेपालसँग सम्भावना छ,हामी परनिर्भर हैनौं, आत्मनिर्भर बन्न सक्छौँ भन्ने प्रमाणित गराउने यो सम्झौता आफैमा महत्वपूर्ण अनि दूरगामी महत्वको छ ।




