बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कारागार सुधारमा ध्यान जाओस्

कारागार सुधारमा ध्यान जाओस्


  • Dhorpatan News
  • असोज २० २०८१, आइतबार

चाडबाड नजिकिएका छन् । दशैं कारागारमा पनि आएको छ । विभिन्न अपराधमा कारागारमा रहेकाहरुलाई दाताहरुले दशैंको छेको पारेर केही सहयोग गरिएका समाचार पनि सुनिएका छन् । गण्डकीका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले कारागारको निरीक्षणको क्रममा त्यसलाई सुधारगृह बनाउने उद्घोष गरेको धेरै भएको छैन ।
कानूनबाटै सृजित संरचना हो,कारागार । अपराधीहरुलाई दण्ड दिने, प्रायश्चितको मार्गमा लगाउँदै समाजमै पुनस्र्थापित गराउने काम कारागारमै हुन्छ । खुंखार अपराधीलाई नेल र हत्कडीसहित बाहिरी संसारबाट अलग्याउने जेललाई पछिल्लो समय सुधारगृहको रुपमा हेर्न थालिएको छ । त्यहाँ पुगेपछि सद्वुद्धि पलाउँछ, अपराधीले अपराधवोध गर्छ भन्ने मान्यतासँगै कारागारलाई सुधारगृह मानिएको हो । भगवान कृष्ण पनि जेलमै जन्मेको मानिन्छ । जेलमै उत्कृष्ट साहित्य सृजनाहरु गरिएका छन् । जेलबाटै गरिएका आह्वानहरुले विभिन्न क्रान्ति सम्भव भएका छन् । जेलले विचारलाई थुन्न सक्दैन भन्नेजस्ता उक्ति पनि जेलसँग जोडिएर आउँछ । हो, एकटुक्रा आकाश र थोरै रोशनीबाट जीवन र जगत बुझ्नेहरुलाई पनि जेलमा कोचिन्छ । अपराधीलाई पनि त्यहीँ ठिमु¥याइन्छ । यो उपक्रम अहिले पनि जारी छ । जेललाई सुधारगृह भनिए पनि व्यवहारमा भने त्यसको हालत अहिले पनि कल्पना गरिएको नर्कजस्तै रहेको छ ।
वास्तविकता खोज्न टाढा जानु पर्दैन । नेपालकै कारागार हेरे पुग्छ । अपराधीदेखि राजनीतिक आस्थाका बन्दीहरु रहेको जेल साँच्चिकै साँघुरो छ । जेलमा सुत्न पनि पालो कुर्नुपर्ने अवस्था छ । यात्रुबसमा एकैछिन कोचाकोच हुँदा त सकस हुन्छ भने जेलमा यत्तिका धेरै मान्छेहरु कसरी बसे होलान् ? सहजै कल्पना गर्न सकिन्छ । भनेको बेला शौच गर्ने सुविधाबाट उनीहरु बञ्चित छन् । जेलभित्रै चल्ने गुण्डागर्दी, भाइनाइकेहरुको मनोमानीबाट निम्छराहरु कति चेपुवामा छन् भन्ने त परको कुरा भयो, सामान्य रुपले बाँच्न पाउने अधिकार पनि कैदीबन्दीबाट छिनिएको अवस्था छ ।
जेल कस्तो बनाउने भन्नेबारे विभिन्न समयमा चर्चा–परिचर्चा नहुने पनि हैन । अनुगमन पनि गरिन्छ । तर, त्यो फरक संसारको सुधारबारेका गफहरु पानीको फोकाजस्तै उठ्छन् र हराउँछन् । जेलको सुधार कि त कागज कि गफमा सीमित हुन्छ । जेलमा सुधारगृहको वातावरण हैन कि भेडाबाख्रा कोचेजस्तो मान्छे कोचिएको छ । जेलमै रहेकाहरुलाई उम्मेदवारी सिफारिस र मनोनयन दर्ता गर्दा जेलमा भएको अत्यधिक भीडको व्यवस्थापनबारे पनि सोच्नुपर्ने भएको छ । नेपालको संविधानले अपराध गरेकाहरुलाई सुध्रन र बाँच्न पाउने अधिकार ग्यारेण्टी गरेको छ । जेल जीवनलाई जति नारकीय बनायो, व्यक्ति सही बाटोमा आउने सम्भावना उति नै टाढिने गर्छ । यो सत्य लामो समय जेलजीवन बिताएका राजनीतिक नेताहरुले पनि बुझेका छन् । जेलको अव्यवस्थाबारे उनीहरुले सम्झने हो भने पनि त्यहाँ सुधारका कदम चाल्न सकिन्छ । जेललाई वास्तविक सुधारगृहमा रुपान्तरण गर्न सकिन्छ । त्यहाँ रहेका आश्रित बालबालिकाको भविष्य सुन्दर बनाउन सकिन्छ । अतः जेल सुधारको थालनी होस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->