बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सहकारी ठगी प्रकरण : छानबिनलाई सघाऊ, उदण्डता रोक

सहकारी ठगी प्रकरण : छानबिनलाई सघाऊ, उदण्डता रोक


  • Dhorpatan News
  • कार्तिक ५ २०८१, सोमबार

सहकारी ठगीको केन्द्र हो पोखरा । सूर्यदर्शनदेखि इमेजसम्मका सहकारी संचालकले यहाँका सर्वसाधारणको अरबौं रुपैयाँ डुवाइदिएका छन् । सहकारी पीडितहरु घर न घाटको बनेका छन् । कतिले त उपचारसमेत नपाएर मृत्युवरण गरेका समाचारहरु आइरहेका छन् । राज्यले अंगिकार गरेको तीनखम्बे आर्थिक नीतिको गलत फाइदा उठाउँदै च्याउजस्तै जन्मिएका सहकारी र तिनका संचालकहरुको बेइमानीका कारण सर्वसाधारणको बचत डुबेकोमा कुनै द्विविधा छैन । सर्वसाधारणले खाइ–नखाइ जोगाएको ठूलो रकम घोटाला हुँदा सिंगो अर्थतन्त्र डग्मगाएको छ । बजार सुस्त बन्नु, मान्छेको क्रयशक्तिमा ह्रास आउनुजस्ता साइड एफेक्ट सहकारीकै घोटालाले नै सिर्जना भएको हो । बचतकर्ताहरु आफ्नो डुबेको रकम फिर्ता चाहन्छन् । त्यसका निम्ति उनीहरुले राज्य गुहारेका छन्, राजनीतिक दलको ढोका चहारेका छन् । तर, उनीहरुको मागको खासै सुनुवाइ भएको छैन । बरु, सहकारी ठगी प्रकरणले पछिल्लो समय राजनीतिक रुप लिएको छ । खासगरी सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जोडिएपछि र उनलाई पक्राउ गरेपछि यसले राजनीतिक रुप धारण गरेको हो । सूर्यदर्शन बचत सहकारीबाट ग्यालेक्सी फोरके टेलिभिजनको माउ कम्पनी गोर्खा मिडियामा रकम जाँदा रविको पनि संलग्नता रहेको सहकारी ठगी छानबिनको लागि बनेको संसदीय उच्चस्तरीय समितिले किटान गरिसकेको छ । त्यही आधारमा पक्राउ परेका रविमाथि अन्याय गरिएको भन्दै देशैभर उनका समर्थकले प्रदर्शनहरु गरेका छन् । पोखरामा त निषेधाज्ञा तोडेर नै आइतबार रवि समर्थक सडकमा निस्के । सुरक्षा निकायलाई उत्तेजित बनाउने गरी भएको प्रदर्शनसँगै अर्कोतर्फ पीडितहरु झन असन्तुष्ट बनेका छन् । एकातिर अदालतमाथि विश्वास छ भन्ने र अर्कोतर्फ कानूनी राज्यको अवधारणा विपरीत कार्य गर्नुलाई कुनै पनि कोणबाट सही मान्न सकिँदैन । समर्थकहरुलाई सडकमा उतार्दैमा समस्याको समाधान पनि हुँदैन । त्यसको लागि संयम र कानूनी उपचारको बाटो नै रोज्नुपर्छ । भीडलाई उक्साएर उन्मुक्ति खोज्न मिल्दैन । जिम्मेवार राजनीतिज्ञले अराजकता र विधिको शासनविरुद्धको गतिविधि हुन दिनुहुँदैन ।
हो, रविमाथिको आरोपमा राजनीतिक प्रतिशोधको गन्ध पनि आउँछ । हिजो जसले उनी निर्दोष रहेको भन्दै आएको थियो, आज उसैले रविलाई दोषी देख्नुमा केही न केही छ भन्ने सोच्नु अन्यथा हैन । तर,त्यसको पनि जवाफ दिने तरिका छ । सडकमा उत्रने, कानून नमान्ने, सहकारी पीडितलाई थप पीडा दिने गरी आक्रोशपूर्ण व्यवहार प्रदर्शन गर्नु भनेको कानून हातमा लिने प्रयत्न नै हो । यो कार्यलाई नियन्त्रण गरिनुपर्छ । कारवाही हुनैपर्छ । देशैभरबाट समर्थक बोलाएर पोखरामा ताण्डव देखाउनुभन्दा विधिको शासन मान्छु भन्नुमै रविको भलो हुन्छ । छानबिन प्रभावित पार्ने गतिविधि रोक्नुपर्छ । यो कुरा रास्वपाका कार्यकर्ताले पनि बुझ्नुपर्छ । आरोप लागेपछि त्यसबाट सफाइ पाउने प्रक्रियालाई स्वीकार्नु, कार्यकर्तालाई संयम बनाउनेतर्फ नै रास्वपा नेतृत्व अग्रसर हुनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->