१९ वर्ष मुनिको महिला क्रिकेट टिम (यु–१९)ले विश्वकपको यात्रा तय गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले हराउँदै नेपाली चेलीहरुले विश्वकपको यात्रा तय गरेका हुन् । युएईसहित नेपाल, थाइल्याण्ड र कुवेत सहभागी प्रतियोगितामा युएईजस्तो अनुभवी टिमलाई हराउन सजिलो थिएन । तर, नेपाली खेलाडीहरुले आफूलाई प्रमाणित गरे । छनोट चरणमा पाएको हारको बदला लिँदै प्राप्त सफलतासँगै यु–१९ टोलीको एसिया कप यात्रासमेत सुनिश्चित भएको छ ।
पछिल्लो समय नेपालमा क्रिकेट खेलको विकासमात्र भएको छैन, उत्तिकै लोकप्रियता पनि हासिल गरेको छ । यही लोकप्रियताको आडमा महिला क्रिकेटले पनि खेलाडी पाउन थाल्यो । खेलकुदमा लागेर केही पाइँदैन भन्ने भाष्यबीच पनि चेलीहरु मैदानमा उत्रिए । जसका कारण नेपालकोगर्व गर्नलायक विश्वकपको यात्रा तय भयो । अब नेपाली टिमले विश्वकप खेल्नेछ । यो टिममा गण्डकी प्रदेशका मात्र चारजना खेलाडीको सहभागिताले समग्र गण्डकी प्रदेशबासीमा नयाँ उत्साहको संचार गराएको छछ । गण्डकी प्रदेशका सिमाना केसी, रचना चौधरी, कुशुम गोदार र ज्योत्सनिका मरासिनी विश्वकप यात्राका भरपर्दा खेलाडी हुन् । रचनाले कास्कीको प्रतिनिधित्व गर्छिन् भने बाँकी खेलाडी स्याङ्जाले जन्माएको हो । खेलाडीको रुपमा हेर्ने हो भने राष्ट्रिय टिममा समावेश हुन पाउनु र देशको प्रतिनिधित्व गर्नु आफैमा गर्वको विषय हो । तर, यसो भनिरहँदा अनिश्चित भविष्य हुँदाहुँदै पनि खेलप्रति उनीहरुले देखाएको लगाव, पारिवारिक सहयोगलाई नजरअन्दाज गर्न मिल्दैन÷सकिँदैन । सीमित स्रोत र साधनका बाबजुद खेलाडी उत्पादनमा जिल्ला क्रिकेट संघहरुले देखाएको सक्रियता पनि यो सफलताको अर्को कारक हो भन्दा अत्युक्ति हुँदैन ।
प्रादेशिक क्रिकेट संघका गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलकै शब्द सापट लिने हो भने ‘राज्यको साथ र सहयोग’ प्राप्त गरे महिला क्रिकेटले ठूलो छलाङ मार्न सक्छ । यहाँ अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान छैन । न क्रिकेट संघसँग खेलाडीलाई आश्वस्त तुल्याउन सक्ने सुविधा नै छ । तर पनि, अहिले जे भइरहेको छ, त्यसले यो क्षेत्रमा थोरैमात्र लगानी हुँदा पनि ठूलो उपलब्धि हासिल हुने निश्चित देखिएको छ । अतः राज्यले महिला क्रिकेट विकासको लागि योजनासहितका कार्यक्रम ल्याउन सक्नुपर्छ । विश्वकपको तयारीमा जुट्ने टिमलाई हर तरहले सहयोग गर्नुपर्छ । विश्वकप छनोट भएको टिमलाई नगदसहित सम्मान गरिएएको छ । तर,त्यतिले मात्र पुग्दैन, उनीहरुलाई क्रिकेटमै जीवन समर्पित गर्दा पनि भविष्य सुन्दर छ भन्ने कुरामा आश्वस्त पार्नुपर्छ । देशको लागि खेल्ने खेलाडीलाई उचित सम्मान दिन नसक्दा र उनीहरुको भविष्य सुनिश्चित नहुँदासम्म ताली बजाएरमात्र उपलब्धि हासिल हुन सक्दैन भन्ने राज्यले मनन गर्नुपर्छ । प्रधानमन्त्री स्वयंले रंगशालाहरु निर्माण हुन नसकेको, खेलाडीको आवश्कता पूरा गर्न नसकेको स्वीकारेका छन् । यो स्वीकारोक्तिसँगै थोरैमात्र रकम खेल क्षेत्रलाई छुट्याउँदा पनि ठूलो उपलब्धि हासिल हुन्छ भन्ने प्रधानमन्त्रीले मनन गरिदिए चेलीहरुमा उत्साह थपिने छ ।




